काठमाडौं । यतिबेला काठमाडौं उपत्यकाबासीको भान्सा महँगिएको छ । काठमाडौंको मुख्य तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै एक सातादेखि आयात कम भएको छ र त्यसको असर मूल्यमा परेको छ ।
बजारका व्यवस्थापक प्रमुख मनोज धितालले बाढीपहिरोका कारण तरकारीको मूल्य बढेको बताए । “निरन्तरको वर्षाका कारण बाटो भत्किएको छ । नेपालमा मात्र नभएर भारतमा समेत बाढीको असर छ । त्यसकारण आयात कम हुँदा मूल्यमा चाप परेको हो,” उनले भने । कालीमाटी तरकारी बजारमा दैनिक ७ सयदेखि ८ सय टन तरकारी आउने गरेकोमा वर्षाका कारण तरकारी आयातमा कमी आएको छ ।
तरकारी आयात नै कम भएपछि मूल्य बढेको धितालले बताए । धितालका अनुसार असार २६ गतेबाट कालीमाटी तरकारी बजारमा तरकारी आयात कम भएको हो र त्यसयता तरकारीको मूल्य वृद्धि भएको छ । बजारमा प्याज र आलुको आयात धेरै छ भने हरियो तरकारीको आयात कम भएको छ ।
असार २६ गते ६७७ टन, २७ गते ४६० टन, २८ गते ५४१ टन तरकारी आयात भएको छ भने २८ गते ८७६ टन, ३० गते ८७४ टन तरकारी कालीमाटीमा आएको छ । आज ३१ गते बिहानसम्ममा ३१५ टन तरकारी आयात भएको देखिन्छ ।
कुन तरकारीमा कति मूल्य बढेको छ ?
असार पहिलो साता भारतबाट आउने तरकारीको नाकामा विषादी परीक्षण गर्ने नाममा तरकारीको मूल्य बढेको थियो । अहिले वर्षाका कारण मूल्य बढेको छ । असार १ गते र आज (३१ गते) को तरकारीको मूल्य तुलना गर्ने हो भने मूल्यमा धैरै फरक छ । असार १ गते ठूलो नेपाली गोलभेडाको अधिकतम थोक मूल्य प्रतिकिलो ६५ रुपैयाँ थियो भने आज १ सय रुपैयाँ रहेको छ ।
त्यसैगरी, क्रमशः सानो गोलभेडा प्रतिकिलो ४० बाट बढेर प्रतिकिलो ७५, आलु रातो प्रतिकिलो ३४ बाट बढेर ३८, गाजर नेपाली प्रतिकिलो ८० बाट बढेर १ सय, बन्दा प्रतिकिलो २६ रुपैयाँबाट बढेर ४५, घिउ सिमी प्रतिकिलो ८० बाट बढेर १४०, घिरौंला प्रतिकिलो ५० बाट बढेर ७०, पाकेको फर्सी प्रतिकिलो ३५ बाट बढेर ४०, डल्ले च्याउ प्रतिकिलो ४१० बाट बढेर ४६० रुपैयाँ पुगेको देखिन्छ ।
कालीमाटी तरकारी बजारले दिएको जानकारीअनुसार असार १ गते र पछिल्ला दिनको मूल्य तुलना गर्दा सबै तरकारीको मूल्य बढेको देखिन्छ । झरी कम हुँदै गएपछि तरकारी आयात वृद्धि हुने र मूल्य घट्दै जाने कालीमाटी तरकारी बजार व्यवस्थापनले बताएको छ ।