काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले नेपाल–भारत सीमामा विषादीको मात्रा परीक्षणले तरकारी आपूर्तिमा समस्या नभएको स्पष्ट पारेको छ । दैनिक उपभोग्य वस्तु, फलफूल तथा तरकारीमा विषादीको मात्रा धेरै भएको भन्दै भारतबाट नेपालमा आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षण सुरु भएपछि बजारमा अभाव देखिएको थियो ।
विषादी परीक्षणको रिपोर्ट आउन समय लाग्ने भएकाले बजारमा तरकारीको अभाव र मूल्य पनि बढेको बताइएको छ । तर, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भने यसको खण्डन गरेको छ । समितिका प्रवक्ता विनय श्रेष्ठले भने, “फलफूल तथा तरकारीको विषादी परीक्षण रिपोर्ट आउन समय लाग्ने भएकाले सुरुका दिनमा आयात केही कम भएको हो । तर, अहिले त्यस्तो अवस्था छैन । बजारमा आएको हल्ला अनुसार अभाव छैन । अहिले ब्यालेन्समा आइसकेको छ ।”
तर, खुद्रा व्यापारी तथा उपभोक्ताले भने ताजा तरकारी पर्याप्त मात्रामा नपाइएको र मूल्य पनि बढेको गुनासो गरेका छन् ।
करेला, गोलभेँडा, भिन्डी, भन्टालगायत फ्रेस तरकारी छिटै बिग्रिने र विषादी परीक्षणको रिपोर्ट आउन कम्तीमा एक दिन लाग्ने भएकाले यस्ता तरकारीको आयात रोकिएको र स्थानीय उत्पादनले बजारको माग धानेको समितिले बताएको छ । विशेषगरी हाल भारतबाट आलु, प्याज, कागती, माछालगायत आपूर्ति भइरहेको छ । भारतबाट दैनिक करिब दुई सय टन तरकारी कालीमाटीमा भित्रिने गरेको छ ।
काठमाडौंमा छिमेकी मुलुक भारत र चीनबाट दैनिक तरकारी आयात हुन्छ भने चितवन, भक्तपुर, ललितपुर, नुवाकोट, सर्लाही, सिन्धुपाल्चोक, पर्सा, तनहुँ, झापा, गोरखा तथा दोलखालगायत जिल्लाहरुबाट पनि तरकारी भित्रिने गरेको छ ।
कालिमाटी तरकारी बजारमा भित्रिएका विभिन्न तरकारीमध्ये केही तरकारीको मूल्य गत वर्षको भन्दा बढेको छ भने कतिपय तरकारीको मूल्य घटेको छ । गतवर्ष असार १८ गते नेपाली ठूलो गोलभेँडाको अधिकतम थोक मूल्य प्रतिकिलो ५० रुपैयाँ थियो भने यसवर्ष गोलभेँडाको मूल्य बढेर प्रतिकिलो ७० रुपैयाँ पुगेको छ ।
त्यसैगरी, सानो गोलभेडा २० रुपैयाँबाट प्रतिकिलो ३४ रुपैयाँ पुगेको छ । यससँगै रातो आलु गत वर्ष प्रतिकिलो ३७ रुपैयाँ थियो भने हाल प्रतिकिलो २ रुपैयाँ घटेर ३५ मा झरेको छ । त्यसैगरी, सेतो आलु ३५ बाट २५, गाँजर एक सय १० बाट एक सय रुपैयाँमा झरेको छ ।