काठमाडौं । झापा चन्द्रगढीमा जन्मिएका दिवस श्रेष्ठ एक सफल हस्तकला व्यवसायी हुन् । धेरै साथीहरु वैदेशिक रोजगारीमा गए । अझ भनौँ वैदेशिक रोजगारीमा जानेहरुको लर्को नै लागेको समयमा पनि दिवसलाई पैसा कमाउनकै लागि विदेशै जानुपर्छ भन्ने सोंच कहिल्यै आएन ।
मिहनतका साथ काम गरे सफलता हात पार्न सकिन्छ र आफ्नै देशमा सुन फलाउन सकिन्छ भन्ने महान सोंचका साथ अगाडि बढ्न चाहनेले जीवनमा अवश्य सफलता हात पार्न सक्छ । हो, यस्तै सोचका साथ मिहनत गर्दै आएका र आफ्नो पेशामा सफल भएका व्यक्ति हुन दिवस श्रेष्ठ । उनलाई कहिल्यै लागेन पैसा कमाउनको लागि विदेशमै जानुपर्छ भनेर ।
दिवस सानो हुँदा आमा र मामाले सञ्चालन गर्दै आएको बाँस तथा निगालोको पसलमा कहिलेकाहीँ बस्थे । बाँस र निगालोबाट निर्माण भएका वस्तु देख्दा उनलाई उत्साह जाग्थ्यो । तर सानो छँदा आफू भोलिका दिनमा के गर्ने भन्ने उनलाई थिएन । तर जब उनले एसएलसी पास गरे त्यसपछि केही काम गर्ने विचार आयो तर यो नै गर्ने भन्ने थिएन ।
जब उनले १२ कक्षा पास गरे यो सँगै आफू विदेश नगई आफ्नै देशमा नै केही गर्ने सोचसहित आफूले केही जानेको र बुझेको काम बाँस तथा निगालो नै उनको रोजाइमा पर्यो । विगत चार वर्षदेखि व्यवसायिक हस्तकलामा रमाएका दिवसले फिलिपिन्सबाट हस्तकलाको तालिम लिए । यसले उनलाई हस्तकलाको काम गर्न थप उर्जा मिल्यो ।
उनले निर्माण गरेका सामग्रीहरु काठमाडौंको लागि नै पर्याप्त नभएको बताए । उनले निर्माण गरेका सामग्रीहरु तिब्बत, फ्रान्स र बेलायत लगायतका मानिसले उपाहारस्वरुप लगेको बताए । उनले बाँस तथा निगालोबाट बनेका फर्निचरका धेरै सामग्रीहरु उनले निर्माण गर्दै आएका छन् । तर काम गर्न चाहनेलाई सम्मानको वातावरण नभएको उनको गुनासो छ । त्यस्तै, छिटै पैसा कमाउन चाहनाले नेपालीहरु पछाडि परेको उनले बताए । उनी भन्छन, “नेपालीहरुमा काम गर्न र सिक्नभन्दा पनि कसरी छिटै पैसा कमाउन सकिन्छ भन्ने चाहनाले पछाडि परेका छन ।”
चार वर्ष अघि २५ हजार रुपैयाँ लगानी गरेर सुरु गरेको उनको व्यवसायमा अहिले २५ लाख बराबरको लगानी पुगिसकेको छ । २५ लाख लगानीले दिएको प्रतिफलबाट सन्तुष्टि मिलेको उनले बताए । “जति मेहनत गर्यो उति कमाउन सकिन्छ । म आफ्नो मिहनत र लगानीको साथै आम्दानीप्रति सन्तुष्ट छु,” उनले भने । आफूले काठमाडौंको मागलाई पूरा गर्न नसकेको बताउने श्रेष्ठ राम्रोसँग काम गर्ने हो भने बेत तथा बाँसको वर्तमान र भविष्य समेत राम्रो हुने बताउँछन् ।
३५ वर्षीय दिवसले बेत तथा बाँसका राम्रा–राम्रा सामग्री निर्माण गर्दै आएका छन् । आफूले देशको लागि केही गर्नुपर्छ र गर्छु भन्ने अठोटका साथ अघि बढिरहेका छन् । विदेशमा गएर जस्तोसुकै काम गर्ने हामी नेपालीहरु आफ्नो देशमा सानो र ठूलो भनेर काम गर्नै हिच्किचाउने भन्दै उनले आफ्नो देशमा काम गर्न चाहनेलाई काम जति पनि भएको बताउँछन् । उनी भन्छन, “काम जति पनि छ । तर कामको सम्मान गर्ने बानी छैन हाम्रो ।” अझ पढे-लेखेकाले सानोतिनो काम नै नगर्ने अनि कहाँबाट देश विकास रटान लागउँदैमा पूरा नहुने दिवसले बताए ।
गर्न चाहनेको लागि कामको अभाव नहुने उल्लेख गर्दै उनले बच्चा सुताउने कोक्रोसमेत बाहिरबाट ल्याउनुपर्ने बाध्यात्मक अवस्था भएको बताए । उनी कोक्रो, ह्याङ्गर, कुर्सी, टेबल , सोफासेट, र्याक, नांग्लो, बास्केट , डस्बिन, सजावटका सामग्री, भकारी, मान्द्रोलगायतका अत्यावश्यकीय चीज आफ्नै पौरखले बनाउँछन् ।
बाँस, निगोलो नेपालकै
हस्तकला व्यवसायी दिवस आफूले निर्माण गर्ने विभिन्न सामग्रीहरु नेपालमै उत्पादन भएको बाँस तथा निगालोले निर्माण गरेको बताउँछन् । उनले निर्माण गरेका सामग्रीहरु ५० हजारदेखी एक लाख २५ हजार मूल्यसम्मका छन् ।
सामान्यतया एउटा व्यवसायीले सोंचे भनेको आफ्नो व्यवसायलाई सफल रुपमा अगाडि बढाउनु नै हुन्छ । उनको पनि लक्ष्य यही नै हो । तर उनको लक्ष्य आफ्नो मात्र नभएर समग्र बेत तथा बाँस व्यवसायलाई टिकाउ बनाउने लक्ष्य राखेका छन् । जसको लागि उनले नेपाल सरकारसँग कुरा गरिरहेको बताए । बेत र बाँसबाट निर्माण भएका पूर्ण नेपाली सामग्रीहरु प्रदशर्नीमा मात्र राखेर होइन, हरेक सरकारी कार्यालयमा राख्नैपर्ने उनको भनाई छ । “जसले १० प्रतिशत रोजगारी सिर्जना गर्छ,” उनले भने ।
आफू र आफ्नो भविष्य नै बेत र बाँस ठान्ने दिवस बेत, बाँस र निगालोको सामग्री निर्माण गर्न चाहनेको लागि निशुल्क सिकाउने र उत्पादित सामग्रीसमेत आफूले लिने बताउँछन् । त्यस्तै, रोजगारी सिर्जना गर्ने र एकल महिला, अशक्त व्यक्तिलाई विशेष प्राथमिकता दिने उनले बताए ।
त्यस्तै, युवा उद्यमीको नाममा एक लाख नगदसहित नेपाल सरकारबाट गतवर्ष सम्मानित भएका थिए । बेत, बाँसले प्रदान गरेको सम्मानले खसी तुल्याएको उनले बताए । युवा उद्यमी दिवस युवाहरुलाई बैदेशिक रोजगारीमा नजान आग्रह गर्छन् । सबै युवा वैदेशिक रोजगारीमा गएपछि देशमा विकास हुन सक्दैन् । केहि गरौँ, नेपालमै गरौँ , अनि मात्र समृद्धि नेपाल निर्माण गर्न सकिन्छ, उनले भने ।
बेत, बाँसमा इच्छुक हुनेलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । दिवसले ललितपुरको कुपण्डोलमा आर्यमन हस्तकलाको पसल छ भने नैकापमा सामग्री निर्माण गर्दै आएका छन् ।