काठमाडौं । धेरै मानिसले भन्ने गरेको साझा वाक्य हो– महिलाहरु आर्थिक रुपमा सक्षम नभएकै कारण पछाडि परेका हुन् । भन्नेले त भने र भनिरहेकै पनि छन् । तर यस्तो काम गरे आर्थिक रुपमा सक्षम बन्न सकिन्छ भन्ने बाटो देखाउनेको कमी छ समाजमा । अर्कोतर्फ महिलाले महिलालाई सपोर्ट नगर्नाले पनि स्वयम् महिला नै पछाडि परेको अड्कल गर्नेहरु पनि उत्तिकै छन् ।
भनिन्छ, पढेरभन्दा परेर जानेको मान्छेले हरेक काम सहज रुपमा गर्न सक्छ । त्यसमा पनि रुचि त झन् आवश्यक छँदैछ । हरेक सफल मान्छेको विगतको पाना पल्टाउँदा सङ्घर्षका कथा भेट्न सकिन्छ । त्यस्तै सङ्घर्षशील महिलामध्येकी एक हुन्, मीना चन्द ठकुरी ।
गुल्मीमा जन्मिएकी मीनाले जसोतसो ७ कक्षासम्म अध्ययन गरिन् । उनी आफू र आफ्नो परिवारलाई मात्र नभएर हरेक नेपाली महिला, अझ भनौं केही गर्न खोज्ने र गर्ने अवसर नपाएका महिलाका लागि समेत प्रेरणापुञ्ज साबित भएकी छन् । कारण, आफूमात्र नभएर उनी धेरै महिला दिदीबहिनीलाई स्वरोजगार बनाउन लागिपरेकी छन्, निःशुल्क । जसको कारण उनी दिनदिनै समाजमा उदाहरणीय पात्र पनि बन्दै आएकी छन् ।
काठमाडौं बस्नु थोरैको रहर भए पनि धेरैको बाध्यता हो । अध्ययन होस् वा रोजगारीको लागि मान्छे आफ्नो थातथलो छोड्न बाध्य भएको छ । त्यस्तै बाध्यतामा परेर काठमाडौं बस्नेमध्येमै पर्छन् मीना र उनको परिवार । दशक लामो माओवादी द्वन्द्वकालमा स्कुलबाटै बालबच्चा अपहरण गरिने अवस्थाका कारण आफ्ना दुई बच्चाको सुरक्षाका लागि उनको परिवार गुल्मी छोड्न बाध्य भयो । त्यसपछि त उनको जीवनमा सङ्घर्षको पहाड चुलिन थाल्यो ।
मीनाका श्रीमान् गाडी चलाउँथे, काठमाडौंजस्तो ठाउँमा बचत कम हुन्थ्यो । आखिर यातायात क्षेत्रमा कमाइ कम हुने वा श्रीमान्ले बचत गरेन भन्ने महसुस भयो उनलाई । आफूले पनि काम गर्न पाए परिवार पाल्न सहज हुन्थ्यो भन्ने सोच उनिीभित्र हुर्कन थाल्यो । र, उनले ट्याम्पो चलाउने प्रस्ताव श्रीमान्सामु राखिन् । श्रीमानले उक्त प्रस्ताव स्वीकार गर्ने कुरै थिएन । अन्ततः उनले श्रीमान्को सहमतिबिनै ट्याम्पो सिकिन् र चलाउन थालिन् । आफ्नो परिवारको जीवन धान्नकै लागि उनले टयाम्पो चलाइन् । बिहान सखारैदेखि साँझ अबेरसम्म उनी ट्याम्पोको सिटमा हुन्छिन् ।
अहिले त समाजमा विस्तारै महिलालाई हेर्ने दृष्टिकोण फरक हुन थालेको छ । तर पनि महिला चालकलाई राम्रो दृष्टिले हेर्ने निकै कम छन् । समाजका हरेक दृष्टिकोणलाई पछार्र्दै मीना अगाडि बढ्दै गइन् । उनले स्टेयरिङ घुमाएको १५ वर्षभन्दा बढी भइसकेको छ । मेहनत गरे यातायात क्षेत्रमा मासिक ३० देखि ५० हजारसम्म कमाउन सकिने उनको भनाइ छ । भन्छिन्, “मेहनतका साथ काम गरे यातायात क्षेत्रमा मासिक ३० देखि ५० हजारसम्म कमाउन कुनै गाह्रो छैन । अलि बढी समय खटिनु त पर्छ । काम गर्न सहज त कहाँ हुन्छ र ?”
फेरिएको परिचय
आर्थिक रुपमा सक्षम नभएर समाजमा पछि परिन्छ भन्ने सोच भएकी मिना आफू ड्राइभिङ गर्न जान्ने भएपछि अरुलाई सिकाउन थालिन् । आर्थिक रुपमा कमजोर भई केही गर्न चाहने दिदीबहिनीलाई बिहानबेलुका समय मिलाएर निःशुल्क सिकाउन सुरु गरिन् । उनको यस्तो सोचकै कारण दुःख पाएका महिलाको लागि मीन एक प्रकारले प्रेरणापुञ्ज नै साबित भइन् । आफू सिक्दै र अरुलाई सिकाउँदै अघि बढ्न थालिन् । ट्याम्पोबाट सुरु भएको उनको जीवनले फड्को मा¥यो । उनी चार पाङग्रेमा प्रवेश गरिन् ।
इच्छाशक्ति भए कसैले रोक्न सक्दैन भन्ने कुराको बलियो प्रमाण उनी आफंै बनिन् । समय मिलाएर बाटोघाटोमै दिदीबहिनीलाई ड्राइभिङ सिकाउने उनले २०६९ सालबाट कसैले संस्था दर्ता गरेर सिकाउन आग्रह गरेपछि ‘नेपाल यातायात महिला चालक समूह’ दर्ता गराइन् । त्यसपश्चात् उनलाई काम गर्न सहज भयो ।
काम गरेर बचेको समयमा अन्य महिलालाई सहयोग गर्दै गर्दा आज संस्था दर्ता भएकै ६ वर्ष पूरा भइसकेको छ । यस अवधिमा पाँच सयभन्दा बढी महिलालाई ३ र ४ पाङ्ग्रे गाडी चलाउन सिकाउन उनी सफल भइसकेकी छन् । आर्थिक अवस्था कमजोर भएका र केही काम गर्नुपर्छ भन्ने भावना भएका महिलाका लागि मीनाको यो कदम साँच्चै नै उदाहरणीय छ ।
उनी भन्छिन्, ‘‘ममात्र सुखी भएर हाँस्न सक्दिनँ, सबै दिदीबहिनी खुसी भएको हेर्ने मेरो चाहना हो ।’’ १५ वर्षदेखि यातायात क्षेत्रमा सक्रिय रहँदै आएकी मीना आर्थिक रुपमा बलियो भए कसैले हेप्न नसक्ने बताउँछिन् ।
आफ्नो र परिवारको जीवन धान्नकै लागि उनले ट्याम्पो चलाइन् र आज नेपाल यातायात महिला चालकसमूहको अध्यक्ष भएकी छन् । कतिपयलाई लाग्न सक्छ, एउटा ट्याम्पो चालक अहिले नेपाल यातायात महिला चालक समूहको अध्यक्ष भएको छ । सबै राम्रो छ, तर मान्छेका आ–आफ्ना समस्या हुन्छन् । प्रस्ट भन्नुपर्दा उनको संस्थालाई आर्थिक समस्या परेको छ । कारण, मिनाले आफ्नो लागि मात्र कहिल्यै सोचिनन् । हरेक दिन आफू र आफ्नो परिवारमात्र नभएर सबै दिदीबहिनीको लागि सोच्ने भएकाले चालक सङ्घमा आवद्ध दिदीबहिनीलाई ड्राइभिङ सिकाउँदा लाग्ने पेट्रोलको जोहो गर्न नै गाह्रो परेको छ ।
संस्थामा आबद्ध भएका दिदीबहिनीसँग मासिक दुई सय लिँदा जति हुन्छ त्यसकै आधारमा उनले अहिले महिलालाई गाडी चलाउन सिकाइरहेकी छन् । दिदीबहिनीलाई सिकाउनकै लागि उनले गाडी ऋणमा लिएकी छन् । तीन र चार पाङ्ग्रे गाडीमा दिदीबहिनीले पाएको सफलतामा उनलाई निकै खुसी लाग्छ । भन्छिन्, “नेपालमा मात्र नभएर आफूले सिकाएका दिदीबहिनीले विदेशमा समेत गाडी चलाउनुभएको छ, यो देख्दा खुसी लाग्छ ।’’
आगामी योजना
महिलाले बाहिर काम गरेर कमाएरमात्र पुग्दैन, तिनले घरको समेत सम्पूर्ण काम गर्नुपर्ने अवस्था छ । यसकारण पनि महिलालालाई निकै गाह्रो हुने उनको भनाइ छ ।
यातायात क्षेत्रमा महिला दिदीबहिनीको सारथि बन्दै आएकी मीनाको आगामी योजना भनेकै महिलालाई यसै क्षेत्रमा लाग्न सहयोग र हौसला प्रदान गर्नु हो । उनी भन्छिन, “सकुञ्जेल दिदीबहिनीकै लागि काम गर्छु, लोनमा निकालेको एउटा गाडीमा सिकाउँदा पनि धेरै दिदीबहिनीले रोजगारी प्राप्त गर्नुभयो, यसलाई अझ व्यवस्थित बनाउने लक्ष्य छ ।”
सरकारले २० वर्षे पुराना तीन पाङ्ग्रे सवारीसाधन हटाउने योजना ल्याएको छ । यसबाट आफैले केही गरेर खान्छु भन्नेहरुको सपना तुहिन्छ भन्ने पिरलो उनलाई छ । भन्छिन्, “सरकारको योजना ठीकै होला, तर यसले केही गरेर खान्छु भन्नेहरुको सपना तुहिन्छ । काम गरौँ भने खोजेजस्तो पाइँदैन । सिकेको र जानेको तीन पाङ्ग्रे नै बन्द भएपछि कसरी खानु ? सरकारको यो योजना सफल भयो भने धेरै दिदीबहिनी बेरोजगार बन्छन् ।”
ट्याम्पोदेखि पर्यटन र ठूला सार्वजनिक गाडीसम्म दिदीबहिनीले चलाएको देख्दा उनी हर्षविभोर हुन्छिन् । झन् महिलाले चलाएको सवारीमा सहजता तथा सुरक्षित महसुस गर्ने कुरो यात्रुबाट आएपछि त मीना फुरुङ्गै हुन्छिन् । यातायातमा पनि अन्य क्षेत्रमा जस्तै महिला–पुरुष बराबरीमा आउनुपर्छ भन्ने उनको धारणा छ ।
स्वदेशमै काम
इच्छाशक्ति भए हरेक काम गर्न सकिन्छ । पुरुषको तुलनामा महिलाहरू कमजोर बन्नुहँुदैन भन्ने सोच भएकी मीना महिलालाई विदेश नजान आग्रह गर्छिन् । ‘‘रोजगारीको समस्या भए आउनुहोस्, म गाडी चलाउन सिकाउँछु,” उनी आह्वान गर्छिन्, ‘‘आफूले २/४ पैसा कमाउन सके कसैले दबाउन, होच्याउन सक्दैन । घरभित्र खुम्चेर होइन खुला हृदयले घरबाट बाहिर निस्केर संसार चिन्नुपर्छ ।’’
महिलालाई स्वदेश नै सुरक्षित हुने हुनाले विदेश नजान उनी सल्लाह दिन्छिन् । काम कुनै पनि गर्दा हुने र काम कहिल्यै सानो नहुने उनको धारणा छ ।
यातायातका समस्या
लामो समयदेखि यातायात क्षेत्रमा सक्रिय मीना यस क्षेत्रमा लाग्ने मानिसलाई आराम गर्ने ठाउँको अभाव, भाडाको गाडी जति कुदायो उति कमाइन्छ भन्ने सोच, ट्राफिकले गर्ने व्यवहार, खाल्डाखुल्डीयुक्त सडक आदि समस्या रहेको बताउँछिन् । कुनै दिन ट्राफिकले ‘तँ’ भनेर सम्बोधन गर्दा नराम्रो महसुस भएको सम्झिन्छिन् । उनी आवश्यकताभन्दा बढी सवारीसाधन भित्रिन दिन नहुने बताउँछिन् । ट्राफिक बत्ती व्यवस्थापन नहुँदा समस्या परेको र यसले गर्दा जाम बढ्दै गएको उनको अनुभव छ ।
लाइसेन्सले दिलाएको खुसी
एउटा छुट्टै इच्छा र आकाङ्क्षा बोकेर हिँडेको मान्छे अवश्य सफल हुन्छ । मीना आफूलाई एउटा सफल यातायात व्यवसायी मान्छिन् । आफूले तीन महिनाको दुधे बालकलाई छोडेर लाइसेन्सको परीक्षा दिन गएको र सफल भएको सम्झिँदै भन्छिन्, ‘निकै गर्व लागेको थियो । त्यो खुसीको क्षेण म जीवनमा कहिल्यै बिर्सन सक्दिनँ ।”
चालक समूह के हो ?
नेपाल यातायात महिला चालक समूह यातायात सिक्न चाहने र आफ्नो खुट्टामा उभिन चाहने दिदीबहिनीका लागि एउटा थलो हो । महिला हिंसा र उत्पीडनमा परेका दिदीबहिनीका लागि चालक समूह एउटा अभिभावक पनि हो ।
यातायात क्षेत्रमा काम गर्ने चाहना राख्नेहरूका लागि उनले विभिन्न तालिम प्रदान गर्दै आएकी छन् । समूहका सदस्यहरूबाट मासिक लिइने दुई सय रुपैयाँ र अन्य सहयोगी हातले दिएको पैसा जम्मा गर्दै उनी महिलालाई स्वरोजगार बनाउने अभियानमा लागेकी छन् ।
सम्बन्धित निकायसँग आग्रह
महिला दिदीबहिनीहरूसँग नजिक रहेर खोलिएको संस्था भएकाले पर्याप्त सम्भावना हुँदा पनि लगानीको अभावमा चाहेजति काम गर्न नसकेको मीना बताउँछिन् । एउटा गाडीमा धेरैजनालाई सिकाउन सम्भव छैन, बनाउने मिस्त्री र ज्याला दिन रकम नहुँदा उनी आफैं जसोतसो मिस्त्रीको समेत काम गर्दै आएकी छन् । ड्राइभिङ सिकाउन कुनै निश्चित ठाउँ नभएका कारण जहाँ खाली जग्गा छ त्यहीँ सिक्ने र सिकाउने काम गर्दै आएको उनले बताइन् ।
सरकार वा कहीँकतैबाट निश्चित सहयोग (पेट्रोल, डिजेल वा अर्थोक) पाए महिलाप्रतिकै ठूलो सम्मान हुने उनको धारणा छ । उनले सोचेजस्तै सहयोग प्राप्त गरे यातायात क्षेत्रमा ५० प्रतिशत महिला सहभागी हुने उनको दाबी छ । कतैबाट सहयोग पाउन सके धेरै दिदीबहिनीलाई स्वदेशमै रोजगारी दिन सकिने उनको बुझाइ छ ।
महिलाहरुलाई आत्मबल नघटाउन उनी आग्रह गर्छिन् । कोही पनि कर्मठ महिला दिदीबहिनीलाई समस्या परे नेपाल यातायात महिला चालक समूहमा सम्पर्क गर्न उनको सुझाव छ । उनी भन्छिन्, ‘‘आउनुस् सहकार्य गरेर अगाडि बढौं ।”