
विराटनगर । नेवार समुदायका किशोरीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ विराटनगरमा मिस नेवाः कोशीको तयारी सुरू भएको छ । विगत ३ वर्षदेखि हरेक वर्ष आयोजना हुँदै आएको मिस नेवाःको तयारीलाई तीव्रता दिइएको आयोजक मञ्जिना मुभिज क्रिएसनका प्रबन्ध निर्देशक जतिन ताम्राकारले बताए ।
यस वर्षको विजेताले स्कुटी प्राप्त गर्नेछन् । यसबाहेक विजेतालाई अन्य आकर्षक उपहारसमेत प्रदान गरिने प्रबन्ध निर्देशक ताम्राकारले जनाए । ५ लाख रुपैयाँ बराबरको बिमा, म्यूजिक भिडियोमा अभिनयलगायतका पुरस्कारसमेत प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागी हुन चाहने किशोरीहरूका लागि फारम खुल्ला गरिसकिएको छ । यही शनिबार विराटनगरबाट अडिसन सुरु हुनेछ । विराटनगरबाहेक धरानमा १४ र दमकमा २१ गते अडिसन हुने ताम्राकारले बताए ।
विभिन्न चरणमा छनोटमा राष्ट्रिय कलाकार, पत्रकार, साहित्यकारलगायतका समाजका प्रतिष्ठित व्यक्तिले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । यसअघि पहिलो संस्करणमा रैशा श्रेष्ठ र दोस्रो संस्करणमा सुधा श्रेष्ठ विजेता भएका थिए ।