site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘छक्का पञ्जा’ पछ्याउँदै ‘जात्रा’
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । नेपाली कथानक चलचित्र ‘जात्रा’ले पहिलो सातामै एक करोड कलेक्सन गरेको छ । शुक्रबार रिलिज भएको ‘जात्रा’ ले बुधबारको अन्तिम शोसम्म एक करोड कलेक्सन गरेको हो ।
“हिजोसम्म जात्राले एक करोड ५ सय ग्रस कलेक्सन गरेको छ,” वितरक माधव वाग्लेले भने, “आज र भोली यो हप्ता बाँकी नै छ ।”
‘माउथ पब्लिसिटी’ ले दर्शकको चाप हलमा बढ्दै गएको वाग्लेले बताए । “जात्रा ‘माउथ पब्लिसिटी’ ले चल्ने चलचित्र हो, अस्तिभन्दा हिजो र हिजोभन्दा आज दर्शकको चाप बढ्दै गएको छ । आउँदो हप्तासम्म पनि राम्रो व्यापार गर्नेमा हामी ढुक्क छौं ।” उनले ‘पुरानो डुङ्गा’ नलागेसम्म ‘जात्रा’ ले राम्रो व्यापार गर्ने विश्वास समेत व्यक्त गरे । रामबाबु गुरुङ निर्देशित ‘पुरानो डुङ्गा’ मंसिर १० गते रिलिज हुँदैछ । 
“पहिला दुई हप्ता राम्रो कलेक्सन गरे निर्मातालाई फाइदा हुन्छ, त्यसपछि भने हलमालिकलाई फाइदा हुन्छ,” वाग्लेले भने । 
चलचित्रले मल्टिप्लेक्समा पहिलो सातामा ५० प्रतिशत सेयर पाउँछ भने दोस्रो सातामा ४२ प्रतिशत र तेस्रो सातामा ३७ प्रतिशत मात्रै सेयर पाउँछ । चौथो सातापछि भने निर्माताले कलेक्शनको ३० प्रतिशत मात्रै पाउँछन् । यसमा पनि राजस्व तिर्नुपर्दछ । 
काठमाडौं उपत्यकासहित बाहिरका गरि ४० वटाहलमा लागेको ‘जात्रा’ अहिले करिव ५० हलमा प्रदर्शन भइरहेको कार्यकारी निर्मातासमेत रहेका कलाकार रविन्द्र सिंह बानियाँले जानकारी दिए । 
उनले काठमाडौंका मल्टिप्लेक्समा बिस्तारै शो थपिदै गएको बताए । “मल्टिप्लेक्स र सिंगल थिएटरमा शो थपिए पनि थर्ड स्टेशनसम्म भने हामी पुग्न सकेका छैनौं,” बानियाले भने, “यसका लागि हामी शनिबारबाट काठमाडौंबाहिर जाँदैछौं ।” पोखराबाट सुरु गरेर ‘जात्रा’ युनिट चितवन हेटौंडा, सुनसरी हुँदै झापासम्म पुग्ने छौं ।” कलाकारसहित  जात्राको निर्माण युनिटले शनिबार पोखराका दर्शकसँगै बसेर चलचित्र हेर्नेछ । 
यसैबीच, हास्य कलाकार हरीवंश आचार्य बिहीबार एयरपोर्टबाट ‘जात्रा’ हेर्न सिधै जयनेपाल हल पुगे । अमेरिकाबाट आएका उनी ‘जात्रा’ हेर्न भन्दै सिधै हल पुगेका थिए । “हरी दाइ सिधै हल पुग्नु भएको थियो । तर, आज थकित छु भोली सँगै बसेर हेर्नुपर्छ भन्दै हलबाट निष्किनुभयो,” कार्यकारी निर्माता बानियाँले भने, “भोली लविम मलमा ‘जात्रा’ युनिटसँगै बसेर हेर्ने भन्नुभएको छ ।”
यसअघि ‘जात्रा’ निर्माण हुनुभन्दा अगाडि नै स्क्रिप्ट हेरेपछि निर्देशक प्रदीप भट्टराईले चलचित्रलाई फ्लोरमा लगेका थिए । ‘जात्रा’का लागि ‘नोट...नोट...नोट...’ बोलको गीत गाएका हरिवंशले आफ्नो आशीर्वाद रहेको बताएका थिए । 
‘जात्रा’ निर्देशक प्रदिप भट्टराई मह सञ्चारले बनाउने टेलिफिल्मका मुख्य सहायक निर्देशक हुन् । उनले महजोडीसँग १२ वर्षदेखि सँगै काम गर्दै आएका छन् । 
‘जात्रा’ चलचित्रमा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, प्रेक्षा बज्राचार्य मुख्य भूमिकामा छन् ।
पैसा नहुँदाको टोकसो र अनपेक्षित रुपमा पैसा पाउँदा त्यसको व्यवस्थानका लागि न्युरोडका तीन व्यापारीले झेल्नु परको कथा नै ‘जात्रा’ को मुख्य कथा हो । 
यो वर्ष प्रदर्शनमा आएका करिब आधा दर्जन चलचित्रले उत्साहजनक व्यापार गरेका छन् । भदौ २४ गते रिलिज भएको ‘छक्का पञ्जा’ ले सबै रेकर्ड तोड्दै अहिलेसम्मकै धेरै कलेक्शन गर्ने चलचित्रमा आफ्नो नाम दर्ज गरेको छ । ‘छक्पा पञ्जा’ ले ‘कोहीनुर’को कलेक्शनलाई निकै पछि पार्दै २० करोड ग्रस कलेक्सन गरेको हो । यो चलचित्र अझै लागिरहेको छ । त्यसअघि रिलिज भएको ‘वीर विक्रम’, ‘चपली हाइट–२’ लगायतका चलचित्रले पनि राम्रो व्यापार गरेका थिए । 
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७३  १८:०७
प्रतिक्रिया दिनुहोस्