बाह्रखरी
sticky  ncell
ब्लग प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
फाफुरा–२७ बाइमिस्टेक र वैरागाटाइटिस
ब्रजेश खनाल
बाह्रखरी - ब्रजेश खनाल मंगलबार, भदौ १९, २०७५
Laxmi Bank
Laxmi Bank

केही हप्तादेखि फाफुरी चुनाव जितेपछिको मेयरजसरी गायब भएकी हुँदा कतिपय पाठकहरुले उसको खोजीनीति गर्न थाल्नुभएछ । एक–दुईजनाले त फाफुरी नहुने हो भने फाइँफुट्टी नै नपढ्ने भनेर घुर्की पनि लगाउनुभयो । उहाँहरुलाई बिना फाफुरीको फाइँफुट्टी भनेको ‘पानी नहालेको सिंगल माल्ट ह्स्किी’जस्तै खल्लो भयो रे । अब कानमा तेल हालेर विज्ञ पाठकहरुको गुनासो नसुनेर यो देशको सरकारजस्तो थेत्तर भएर बस्न फाफुराको नैतिकताले कहाँ दिन्छ र? त्यसैले यसपटक फाफुरीको शानदार ‘रि–इन्ट्री’ भएको छ । तर त्यो भन्दा पहिले फाफुरी किन हराएकी थिई भन्ने कुरा पनि फाफुरा यहाँहरुलाई बताउन चाहन्छ । डलरखेतको जागिरका कारण तालुमा आलु फलेर ऊ विदेश भ्रमणमा गएकी थिई । 

यता देशमा उसको अनुपस्थितिमा एउटा अद्भूत र ऐतिहासिक कुरा भयो । 

बाइमिस्टेक ।

Rohto Landing

Agani Group

त्यो सकिएको भोलिपल्टै उसको स्वदेश फिर्ती सवारी थियो । भनिरहनु नपर्ला, उसको स्वागत गर्ने एक सदस्यीय समितिको अध्यक्षमा फाफुरा निर्विवाद मनोनीत भयो । विमानस्थलतिर जाने बेला ऊ सोच्दै थियो, बाइमिस्टेक सकिइसकेको हुनाले अब त ट्राफिक पनि सहज होला । तर उसको सपना सपनै रह्यो । किनभने अलि व्यस्त र काम धेरै भएका पाहुनाहरु मात्र बाइमिस्टेक सकिनासाथ फर्केका रहेछन् । फाफुराजत्तिकै फुर्सदिला केही पाहुनाहरु त बल्लबल्ल आएको बेला मज्जाले घुमघाम गरेरै जाऊँ भनेर यतै अलमलिइरहेका रहेछन् । हुन पनि हो, दामोदर काकाजस्तो पटकपटक आइरहने कहाँ हुन् र उनीहरु ? झन् यसपटक त भिजिट नेपाल वर्ष पनि हो । त्यही अवसरमा पर्यटन मन्त्रीज्यूले उहाँहरुलाई एकदिन रत्नपार्कमा लगेर दिनभर टोपीले मुख छोपेर सुताउने योजना बनाएका रहेछन् ।

त्यो टोपी पनि रत्नपार्कको ब्राण्ड एम्बेसडर भएको नाताले फाफुराको हातबाटै प्रदान गरिने भएको थियो । साथमा नगरको चिनोको रुपमा एक–एक झोला नकुहिने फोहोर उपहार स्वरुप मेयरको हातबाट प्रदान गर्ने पनि योजना बनेको थियो । त्यसका साथै एकएक माना झुर्‍या बदाम र चार–चारवटा सुन्तलाले भव्य सम्मान गर्ने योजना पनि बनेको थियो । तर पाहुनाहरुलाई रत्नपार्कमा सुताउने गौरवशाली कार्यक्रम पनि यसपटकको लम्बेतान झरीले चौर सुक्न नदिएको कारण जोरपाटीको खाल्डो पुर्न नभ्याएर गोकर्णको रिटिट्र खारेज भएजसरी नै रद्द भयो । के गर्नु, फाफुरालाई बाइमिस्टेक समारोह समितिको सल्लाहकार पनि बनाएको भए उसले त्यस्ता नाथे समस्याको चुट्की बजाएर हल निकालिदिन्थ्यो । संसारले महत्व बुझ्न बाँकी त्यत्रो जादूमयी फ्लेक्स भन्ने आविष्कारको उपयोग नेपालले चिनिसकेको थियो । त्यही फ्लेक्समा हरियो, राम्रो र लहलहाउँदो घाँसको फोटो छापेर रत्नपार्कमा ओच्छ्याइदिएको भए ती पाहुनाहरुलाई सजिलैसँग ‘घाँसमा सुताउन’ सकिन्थ्यो । 

sarbottam cement

जे होस्, ट्राफिकासुरसँग लड्दै भिड्दै फाफुरा विमानस्थल पुग्यो । विदेशबाट नेपाल आइपुग्न जति समय लागेको थियो, त्यसको दोब्बरमात्र समयमा फाफुरी आफ्नो लगेज बटुलेर बाहिर निस्की । त्यतिबेलासम्म उसको जूनजस्तो चहकिलो मुहारमा घर पुग्दानपुग्दै खग्रास लागिसकेको थियो । भोलिपल्ट बिहानदेखि त फाफुरी पूरै चाउरिएको मरिचजस्तो भई । ज्वरो आएको छैन, टाउको दुखेको छैन, तैपनि फाफुरी कमिसन नखाएको मन्त्री जसरी झोक्राउन थाली । उसलाई डाउडर नजँचाइ भएन भन्ने फाफुरालाई लाग्यो । तर त्यहीबेला डाउडरहरुको हड्ताल रहेछ । अब परेन फसाद ? आफूले जँचाइरहेका अस्पताल र चिनेका डाउडरहरु त सबै आन्दोलनमा रहेछन् । बल्लबल्ल कसैले उपकार गरेर एकजना घरैमा आएर जाँचिदिने डाउडरको नम्बर दियो । फाफुरा दंग पर्‍यो । किनभने यो सहरका ट्याक्सीहरु आफूलाई मनपरेको बाहेक अरु ठाउँमा मरे जाँदैनन् । जानैपरे ढाड सेक्ने रकम माग्छन् । झन् विमानस्थल जाने, बिरामी लैजाने वा त्यस्तै आपत परेको थाहा पाएपछि त उनीहरुको लालचको हार्मोन अझ बढी सकृय भइहाल्छ र रेट चौब्बर बनिहाल्छ । त्यसैले हड्तालको बेला, त्यो पनि घरमै आइदिने डाउडरप्रति फाफुरा कृत्यकृत्य भयो ।

‘माइक्रोस्ट्याण्डको अगाडि वीरेन्द्र स्टोर छ । त्यसको छेउकै हरियो टिनको ढोका भएको घर हो डाउडर साबको । त्यसको भुइँ तल्ला । यति भनेपछि मंगलग्रहबाट पहिलोपटक पृथ्वीमा आएको एलियन पनि नझुक्किइकन आइपुग्छ ।’
फाफुराले आफ्नो डेराबारे बतायो र कुर्न थाल्यो । 

पचपन्न छप्पन्न मिनेटजति बितेको थियो, उसको डेराको कोठा अगाडि केही खसेकोजस्तो ठूलो आवाज आयो । फाफुरा हत्तारिँदै बाहिर हेर्न गयो । एकजना अधवैंशे मानिस ढोकै अगाडि बूढानीलकण्ठ भएको रहेछ । उसले माछा मारेको छेउमा एउटा कालो व्याग थियो ।

उसको घाँटीमा स्टेथेस्कोप पनि झुण्डिएको थियो । त्यति भएपछि त ऊ नै डाउडर रहेछ भन्ने चिन्न फाफुराजस्तो जासूसी मगज भएको मानिसलाई धेरै बेर लागेन । तर डाउडर त बेहोश थियो । फाफुराले सकीनसकी डाउडरलाई बोकेर भित्र लग्यो । निकै बेर हल्लाउने, पानी छम्किने गर्दा पनि डाउडर व्यूँतेन । अन्तमा केही नलागेर फाफुराले आफ्नो पच्चीसौं जन्मदिनमा किनेको, एकमात्र, तर अहिलेसम्म प्वाल नपरेको मोजा निकाल्यो । अघिल्लो महिनामात्र पानी आएको बेला धोएको हुनाले मोजा सफा नै थियो । त्यो सुँघाएपछि डाउडरले चिमचिम गर्दै आँखा खोल्यो । चारैतिर हेर्दै उसले झिनो स्वरमा सोध्यो,

‘म कहाँ छु ?’

‘तपाईं बिरामी जाँच्न आउनुभएको छ डाउडर साब ।’

केही सम्झेझैं उसले भन्यो,

‘ए हो हो । अब सबै याद आयो । म बिरामी जाँच्न आएको हो ।’

फाफुराले उसलाई सोध्यो,

‘तपाईं कसरी बेहोश हुनुभयो ?’

डाउडरले भन्यो,

‘खै, कसरी भन्नू अब । मैले पनि केही बुझेको छैन । आजकल एकदम कमजोरी अनुभव हुन्छ । कान जतिबेला पनि टुँ.. गरिरहन्छ । चौबीसै घण्टा भन्भनी रिगटा लागिरहन्छ । बेलाबेला यसैगरी ठामको ठाम भुक्लुक–भुक्लुक ढल्छु । कति औषधि खाइसकें, केही फाइदा हुन्न । के भएको भनेर थाहा पाउन सके त मार्दिनू । तर मेरो कुरा छोडिदिनुस्, बिरामी देखाउनुस् । बल्लबल्ल पाएको ग्राहक ।’

फाफुराले उसको कुरा नबुझेर सोध्यो,

‘किन बल्लबल्ल पाएको ?’

उसले भन्यो,

‘खासमा म क्वाक हो । धानमा पाइने किर्कौंला हुन्छ नि । सुन्नुभएको छ ? हेर्दा ठ्याक्कै धानजस्तो हुन्छ तर धानैचाहिँ होइन । म पनि त्यस्तै किर्कौंला डाउडर हो । अरु डाउडरहरुले बेलाबेला हड्ताल गरिदिन्छन् र हामीजस्ता क्वाकहरुको मुखमा माड लाग्छ । तिनको जय होस् ।’

फाफुरालाई थाहा थियो, अंग्रेजीमा भनेपछि भाषणदेखि गालीसम्म सब राम्रो मानिन्छ । नेपालीमा गर्‍यो भने अश्लील भनिने गालीहरु अंग्रेजीमा गर्दा स्वतः स्तरीय र पाच्य मान्ने हाम्रो संस्कार छ । त्यसैले क्वाक भन्या पनि राम्रै कुरा हुनुपर्छ । उसले डाउडर क्वाकलाई फाफुरी टोलाएर बसिरहेकी कोठामा लग्यो । डाउडर क्वाकले फाफुरीको नाडी छाम्यो, स्टेथेस्कोप कानमा नलगी घाँटीमै राखेर उसको ढाड र छातिको चाल जाँच्यो । झोलाबाट रक्तचाप नाप्ने यन्त्र निकाल्यो, जुत्ताको तुना फुस्काएर त्यसले टनक्क पारेर यन्त्रलाई फाफुरीको पाखुरामा बेर्‍यो, र मुस्काउँदै भन्यो,

‘राम्ररी कस्सिएन भने बिपी जाँच्दा गणेशमान देखिन बेर लाग्दैन । हुन त यसको हावा भर्ने पम्पु पनि फेर्ने बेला भइसक्या छ । तर अहिलेलाई मैले यसमा पुरानो साइकलको भोंपू हर्न लगाएर काम चलाइरहेको छु । अलिअलि तलमाथि परे पनि ब्लडप्रेसर राम्रै देखाउँछ ।’
त्यो भोंपू पाँचपटक थिचेपछि उसले मुखैले ‘फुस्स्स्स्स्स्स्स्स्स्स्स्स’ गरेर लामो आवाज निकाल्यो । फाफुराले त्यसको कारण सोध्नु अघि नै उसले भन्यो,

‘फुस्स्स्स्स्स्स्स्सको आवाज नआई बिपी देखाउँदैन । त्यसैले मुखैले भए पनि कराउनुपर्छ । हुन त अपान वायुले अझ ठ्याक्कै देखाउँछ तर अहिले मलाई त्यो आएको छैन ।’ 
अनि उसले अन्त्यमा मोबाइलको बत्ती बालेर फाफुरीको घाँटी र जिब्रो पनि नियाल्यो ।

‘प्रकृया त सबै पुर्‍याउनै पर्‍यो नि,’ उसले गर्वका साथ भन्यो । फाफुरी केही नबोली यथास्थितिवादको नमूना बनिरहेकी थिई । डाउडरले सोध्यो,
‘कहिलेदेखि उहाँ यस्तो हुनुभएको ?’

‘तीन दिनअघि विदेश यात्राबाट फर्केपछि डाउडर साप् ।’
डाउडरले सामान थन्क्याउँदै भन्यो,

‘ए, पहिले नै भन्नुपर्दैन त । उहाँको रोग पत्ता लाग्यो । यसलाई वैरागाटाइटिस भन्छन् । विदेश गएर आएका नेपालीहरुलाई यो रोग लाग्छ ।’

भारतबाट आउनेलाई डेंग्यू र मलेरिया लाग्नसक्छ भन्ने त फाफुराले सुनेको हो । अफ्रिकाबाट आउनेलाई इबोला लाग्नसक्छ भन्ने पनि कतै पढेको हो । चरी रुघा र सुँगुरे रुघाको पनि बेलाबेला नाम सुनेको हो । तर यो वैरागाटाइटिस भनेको त उसले कहिले पनि सुनेको थिएन । उसले सोध्यो,

‘वैरागाटाइटिस रे ?’

डाउडर क्वाकले सम्झाउने भावमा भन्यो,

‘विदेश गएर आउनेहरुलाई हामी कति हजार वर्ष पछाडि रहेछौं भन्ने थाहा हुन्छ । त्यसैले हरेक कुरामा त्यो तुलना गर्दा वैराग लाग्ने भएकोले यसलाई वैरागाटाइटिस भन्छन् । तपाईं कुन र कति विकसित मुलुक गएर आउनुभएको छ, त्यसको आधारमा यो रोगको लक्षण कति समय रहन्छ भन्ने फरक पर्छ ।’

फाफुराले सोध्यो,

‘यसको उपचार के हो त डाउडर ?’

क्वाकले भन्यो,

‘माइग्रेनजस्तै वैरागाटाइटिसको कुनै खाने औषधि र लगाउने भ्याक्सिन त अहिलेसम्म बनेको छैन । हुन त यसका लक्षणहरु विस्तारै यहाँको वातावरणमा भिज्दै गएपछि आफैं हराएर जान्छ । तर, चाँडै निको हुने हो भने सकेसम्म धेरै धूलो र धूँवामा हिँडाउने, नेपाली

समाचारहरु धेरैभन्दा धेरै पढाउने–देखाउने इत्यादि गरे बिरामी चाँडै यहाँको वास्तविकता स्वीकार्न सक्षम हुन्छ । अनि यहाँका राम्राराम्रा कुराहरु सुनाएर मनोवैज्ञानिक परामर्श पनि गर्न सकिन्छ ।’

यति सल्लाह दिएर डाउडर क्वाक एउटा धुर्वे बजाएर गयो । फाफुरा सोच्न थाल्यो, भोलिपल्ट देखि उसलाई गौशालादेखि जोरपाटी, कलंकीदेखि नागढुंगा लगायतका अन्य बाटोहरुमा यात्रा गराउनुपर्ला । रानीचौर घुमाउन लैजानुपर्ला । फाफुरी ट्रान्जिटमा दिल्ली विमानस्थलमा पाएको अनावश्यक दुःख, नेपाली पासपोर्ट देखेर अरु ठाउँमा गरिएको अनावश्यक प्रश्नहरुले दुःखी भएकी रहिछ । डाउडरको सल्लाह सम्झेर उसले फाफुरीलाई भन्यो,
‘हेर फाफुरी, नेपाली हुनुमा गर्व गर्न सिक ।  हामी त बाइमिस्टेक पनि राम्रो काम गर्नेहरु हौं ।’ 

‘के नाप्यो र बाइमिस्टेकले ? फाइदा के भो त हामीलाई ?’

फाफुराले उसलाई सम्झाउने भावमा भन्यो,

‘हेर फाफुरी, पहिलो कुरा त दुईचार दिनै टिक्ने गरी किन नहोस्, मूलबाटाका खाडलखुडल पुरिए । ३६५ दिनको सट्टा ३६० दिनमात्र जनताले मूलसडकमा ढिकिच्याउँ खेल्नुपर्‍यो, यो उपलव्धि होइन ? अनि जोरबिजोर सवारीसाधन चलाउनका कारण प्रदूषणमा कमी आयो । महँगो डलर खर्चेर किनेको इन्धनको बचत भयो । हिँडडुलमा प्रतिवन्ध लाग्नाका कारण मानिसहरुले स्वतन्त्रताको महत्व कस्तो हुन्छ भन्ने बुझ्न पाए । देशभरका पर्यटकीय स्थलको दर्शन तीनकुनेको भ्रमणले नै पुग्यो । काठमाडौ बसीबसी देशभरका हेर्न र देख्नपर्ने सबै ठाउँको दर्शन एकै ठाउँको फ्लेक्समा भयो । भलै दुई दिनमै ती बम्बैका लड्डू जसरी बिलाए । त्यसले ती आम जनताको कति समय र पैसाको बचत भयो ? त्यहाँ लगायत सहरभरि प्रधानमन्त्रीका विशाल अनुहार अंकित फ्लेक्स प्रिण्ट, खम्बामा झुण्डाउने देशविदेशका झण्डा र अन्य कुराहरुका लागि तिमी हामीमध्येकै कुनै नेपालीले कति कमायो होला ? एउटा नेपालीको आयमा अर्को नेपाली हुनुको नाताले हामी खुसी हुनु पर्‍यो कि परेन ?’

फाफुरी सोचमग्न भई । फाफुराले त्यही मौकामा ‘सकर पन्च’ प्रहार गर्‍यो,

‘अबदेखि विदेश जाँदा तिमीलाई कसैले हियाउन सक्नेछैन किनभने तिमी बाइमिस्टेक सम्मेलन गर्न सक्षम देशकी वीराङ्गना नागरिक हौ । अब सगरमाथा वा बुद्धमात्र भजाएर खानु पर्दैन । बाइमिस्टेकको ढोल बजाउन पाइन्छ । हाम्रा परराष्ट्र मन्त्रीज्यूले उद्गारै प्रकट गरिसके, बाइमिस्टेक सफलतापूर्वक आयोजना गर्नाले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको कूटनीतिक रुपमा उच्च मूल्याङ्कन भएको छ रे । यति उच्च कूटनीतिक मूल्याङ्कन भएको देशका नागरिकहरुलाई अब कसले छुने भन त ?’ 
फाफुरी केही बोल्न सकिन । 

पहिलोपल्ट उसलाई निरुत्तर बनाउन पाएकोमा दंग परेको फाफुराले मनमनै नारा लगायो,

‘बाइमिस्टेकको जय होस् ।’
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, भदौ १९, २०७५ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्