site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
केपी ओली संविधान–गणतन्त्र मास्ने दिशामा छन्, पार्टी एकता सम्भव छैन

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का असन्तुष्ट समूह (झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष)ले पार्टी एकताको सम्भावना टरेको निष्कर्ष निकालेका छन् । खनाल–नेपाल समूहले बिहीबार र शुक्रबार केन्द्रीय सदस्यहरूसँग ‘भर्चुअल’ छलफल गरेका थिए । 

छलफलको निचोड पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गरेर एकता बचाउने होइन, नयाँ आन्दोलन निर्माण गर्नुपर्छ नै भन्ने कुरा मूलभूत रूपमा उठेको थियो ।

शनिबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय सदस्यहरूको निचोडअनुरूप नै अदालतको फैसलापश्चात् एउटा निष्कर्षमा पुग्नुपर्ने निर्णय गरेको थियो ।

Dabur Nepal
NIC Asia

त्यसो त पार्टी एकता बचाउनुपर्छ भन्दै खनाल–नेपाल समूहका दोस्रो तहका नेता ओली पक्षसँग निरन्तरजसो संवादमा छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपाल दुवै पार्टी एकता बचाउन भन्दा पनि आ–आफ्नो बाटो लाग्न उद्यत रहेको उनीहरूको आरोप छ ।

तर, हस्तक्षेपकारी ढंगले संवादमा जुटिरहेकाले केही दिनभित्रै परिणाम निस्कने दोस्रो पुस्ताका नेताहरू बताउँछन् । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ र प्रदीप ज्ञवाली तथा खनाल–नेपाल समूहका तर्फबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टबीच केही दिनअघि बाक्लै संवाद भयो ।

एमालेभित्रको अन्तरसङ्घर्ष र नयाँ पार्टी गठनमा भइरहेको ढिलाइबारे खनाल–नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यसँग बाह्रखरीले गरेको कुराकानीको सम्पादित अंश :–

तपाईंहरूले दुई दिन केन्द्रीय सदस्यसँग छलफल गर्नुभयो । जिल्लाका अध्यक्ष, सचिवहरूबाट पनि राय–सुझाव माग्नुभयो । तर, नयाँ पार्टी खोल्ने निष्कर्षमा अझै पुग्न सक्नुभएन । एकताको सम्भावना अझै जीवित देखिएको हो ?

एउटा कुरामा तपाईंहरू के  प्रष्ट हुनुपर्छ भने यो पार्टी कुनै अमुक नेताको होइन । यहाँ हामी सबैको सामूहिक–समान योगदान छ । सबैको त्याग–बलिदानपूर्ण संघर्षको साझा उपलब्धी पनि हो, एमाले । अतः हामी पहिलो कुरा पार्टी एकता कै पक्षमा छौँ । एकतालाई बचाउन सकियो भने कम्युनिस्ट आन्दोलनको रक्षा र प्रबर्द्धन गर्न सकिन्छ नै भन्ने हाम्रो विश्वास छ । 

अर्को एकताबद्ध एमालेको भविष्यसँग मुलुकको लोकतान्त्रिक आन्दोलनको भविष्य पनि गाँसिएको छ । पार्टी आन्दोलन कमजोर हुँदा लोकतन्त्र बलियो हुन सक्दैन । यसो भनिरहँदा एमालेको हालत जे छ, जुन पथमा एमाले हिँडिरहेको छ, यो कसैले कल्पना गरेको थिएन । एमालेको अध्यक्षको आसनमा केपी ओली हुनुहुन्छ । उहाँको सोचाइ एमाले बलियो बनाउने, कम्युनिस्ट आन्दोलन बलियो बनाउने, समाजवादको दिशातिर जाने छैन । उहाँ एक्लै अघि बढिराख्नुभएको छ । एक्लै अघि बढ्दामात्रै आफ्नो भविष्य सुरक्षित देख्नुभएको छ । त्यसो हुँदा एकतामा पनि उहाँलाई रुचि छैन । आफूलाई बलियो बनाउन प्रतिगमनको सहारा लिइराख्नुभएको छ ।

अस्ति कुन्नि के भए र हो, उहाँले संवादको पहल अघि बढाउनुभयो । माधवकुमार नेपालसँग संवाद पनि गर्नुभयो । कार्यदल बनाएर जति पनि समस्या छन्, तिनलाई साँघुर्‍याउने र सहमतिको वातावरण बनाउने बताउनुभयो । जेठ २ मा फर्कने सैद्धान्तिक समझदारी नै थियो त्यतिबेला ।

उहाँहरूले सुवास नेम्वाङको नेतृत्वमा कार्यदल बनाउनुभयो । हाम्रो तर्फबाट भीम रावल तय हुनुभयो । 

तर, उहाँको ‘रवैया’ देखिइहाल्यो । 

कार्यदलका संयोजकसहित वरिष्ठ नेता, जसको यो पार्टी आन्दोलन निर्माणमा असाधारण योगदान छ, उहाँहरूलाई साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गर्नुभयो । वार्ता टोलीका प्रमुखलाई नै कारबाही गरेपछि संवादको प्रक्रिया कसरी अघि बढ्छ ? यो त भाँड्ने कुरा थियो ।

कार्यदलका संयोजकलाई कारबाही गर्ने, अनि व्यक्तिगत नेताहरूलाई छलफलमा बोलाउने काम गरिराख्नुभएको छ । यो हामीले नबुझेका छैनौँ ।

अहिले केपी ओलीकै कारण एकता कमजोर, धराशायी हुने अवस्थामा पुगेको छ । वस्तुतः आन्दोलन अहिले विभाजनको दिशामा छ ।

यसमा तपाईंहरूको पनि कमजोरी छ नि, तपाईंहरू एकताका निम्ति भनेर कार्यदल पनि बनाउने, फेरि वाग्मती प्रदेशको राष्ट्रियसभा उपननिर्वाचनमा पार्टीको निर्देशनको अवज्ञा गर्नुभयो । आफ्नै पार्टीको सरकार ढाल्न २६ सांसद बोकेर शीतल निवास जानुभयो, एकता प्रयास बिथोल्ने काम यसलेचाहिँ गरेन ?

यो केपी ओलीले नै सिर्जना गरेको बाध्यता हो । फागुन २३ गते अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमालेको अध्यक्षको रूपमा फर्काएको हो । तर, फागुन २८ गते बैठक राखेर उहाँ गुटमा झर्नुभयो । पुरानै गुटलाई निरन्तरता दिनुभयो । यो त अदालतको फैसलाको अपमान हो नि ।

अदालतले एमाले ब्युँताइदियो । तर, प्रधानमन्त्रीले हामीलाई स्वीकार गर्न नै तयार हुनुभएन । ढोका बन्द गर्ने काम भयो । एक प्रकारले भन्ने हो भने हामी भित्रको न बाहिरको भयौँ ।

यसपछि हामी जाने ठाउँ कहाँ हुन्थ्यो ? पार्टी कमिटीमा बसेर छलफल गर्ने वातावरण छैन । सबैतिर ढोका बन्द भएपछि हामी कार्यकर्तामाझ गयौँ । भेला गर्‍यौँ । त्यसलाई आधारभूत तहसम्म विस्तार गर्ने निर्णयमा पुग्यौँ ।

सबैलाई थाहा छ, बहुमत शक्ति (पदाधिकारी, स्थायी कमिटी, पोलिट्ब्युरोमा) हामीसँग छ । त्यो शक्ति, सामर्थ्यलाई निश्क्रिय राख्न सकिँदैनथ्यो । पुनःगठनको दबाब थियो हामीलाई । तर, त्यसले एकताको सम्भावनालाई लत्याएको थिएन । राष्ट्रिय कार्यकर्ता भेलाको निष्कर्ष पनि एकतालाई बचाउने त्यसका लागि अधिकतम कोसिस गर्ने भन्ने नै हो ।

नवौँ महाधिवेशनले उहाँलाई पार्टी अध्यक्ष जितायो । तर, उहाँ गुटको अध्यक्षभन्दा माथि उठ्न सक्नुभएन । उहाँको पार्टी चलाउने ज्ञान, सीप, क्षमताकै अभाव देखियो । गुटको व्यवस्थापक उहाँ हुनुभयो । पार्टीको नेता बन्न सक्नुभएन । सकेको भए त उहाँले सबैलाई मिलाएर लान, हार्दिकता देखाउन सक्नुपर्थ्यो नि ।

एकलौटीले त विद्रोहलाई निम्तो दिइहाल्छ नि !
आज केपी ओली कता जाँदै हुनुहुन्छ ? आन्दोलनले परिकल्पना गरेको बाटो यही हो ? नेतालाई लगाम लगाउने, सम्झाउने, बुझाउने विधानले हो । प्रधानमन्त्रीलाई संविधानले हो । त्यही नमानेपछि कहाँ पुग्ने ? दुर्घटना, पतन सिवाय उहाँको गन्तव्य देखिँदैन ।

अहिले सिंगै देशले एकै स्वरमा गलत भयो । भएन । विधि मान्नुप¥यो भनिरहेको छ । पार्टीको मात्र कुरा छैन नि यहाँ, सिंगो देशले । तर, उहाँ सुन्नेवाला नै हुनुहुन्न ! 

एउटा प्रतिगमन अदालत सच्याइदियो । फेरि अर्को प्रतिगमन । आफूले भनेजस्तो भएन प्रतिगमन । आफूलाई बचाउन प्रतिगमन । प्रतिगमनलाई पछ्याएर कहाँ पुग्ने ? त्यो त उहाँले जान्ने कुरा हो ।

मिल्न त मिल्ने, तर प्रतिगमनसँग मिल्ने कुरा आएन ।

यहाँले वाग्मती प्रदेशको उमेदवारको कुरा गर्नुभयो । यो लुकाइरहनु पर्ने तथ्य होइन, हामीले नै त्यहाँ उमेदवार खडा गरेका छौँ । उमेदवार तय गर्दा प्रधानमन्त्रीले एकवचन सोध्नु भएन । मिटिङ राखेर के गरौँ भन्नुभएन ।

हाम्री त विद्रोहमा छौँ । हाम्रो माग भनेकै जेठ २ मा पार्टी कमिटी फर्काउने हो । जेठ २ को कमिटीले रामबहादुर थापा त चिन्दैन । हामी जेठ २ मा फर्कने भन्ने तर ओली रामबहादुर थापा उमेदवार बनाएर आउने, यो हामी कसरी मान्न सक्छौँ ? रामबहादुर थापालाई उमेदवार स्वीकार्दा हामी जेठ २ को बटमलाइनबाट पछि हटेको ठहर्ने भएकाले त्यहाँ अवज्ञा भयो होला ।

यति धेरै तिक्तता, असमझदारी हुर्किइसकेपछि अझै एकताप्रतिको मोह चाहिँ किन ? नयाँ पार्टी गठन गरेर जान किन खुट्टा कमाइरहनु भएको छ ?

पार्टी भनेको दल, चुनाव चिह्न, कार्यालय मात्रै होइन । चेतना हो । आन्दोलन हो । त्यो त बनिरहेकै छ नि । विद्रोह पनि त एक प्रकारको पार्टी नै त हो । 

दल घोषणा गरिहाल्नु पनि हुन्थ्यो । तर, त्यसका लागि सबैकुरा मिल्नु पनि पर्‍यो । परिस्थिति हेर्नु पनि पर्‍यो ।

हामीले धेरै नै अपमानित महसुस गर्नुपर्‍यो । पीडा झेल्नुपर्‍यो । तर पनि एकता बचाउनुपर्छ भन्ने त लागेकै छ । यसको कारण जनताको अपूर्व विश्वास हो । जनताको माया, विश्वास त केपी ओलीले सिध्याइ नै दिनुभयो । तर, हामी उहाँकै पथमा जान सक्दैनौँ ।

तपाईंलाई छिचोलेर भनौँ– हामी तुरुन्तातुरुन्तै पार्टी गठन गर्न नसक्ने होइनौँ । गर्नै पनि पर्छ । पर्खिंऊँ न । न ओली यसबीचमा भएका गल्ती, कमीकमजोरीप्रति आत्मालोचित हुनुहुन्छ कि, सच्चिएर अघि बढ्न तयार हुन्छन् भने एमालेलाई नै रुपान्तरण गर्न सकिन्छ नि । रूपान्तरणसहितको एकता सम्भव पनि त छ भनेर पर्खिइरहेका हौँ ।

ठ्याक्कै दोस्रो तहका नेताहरूको भावनासँग तपाईंको तर्क मिल्यो । पछिल्लो समय एमालेमै रहेर संघर्ष गर्नुपर्छ भन्ने मत बलियो बन्दै गएको हो ?

आफूले सिर्जना गरेको पार्टी टुटोस्, फुटोस्, छिन्नभिन्न होस् त कसलाई लाग्छ र ? दोस्रो तहका नेताहरूको चाहना पनि त्यही हो । उहाँहरूले पनि आत्मसमर्पण गर्नुपर्छ त भन्नुभएको छैन नि ।

उहाँहरूमा ‘एमाले नै हो हाम्रो घर । हामी ओत लाग्ने ठाउँ यही हो । हिजो यही पार्टी देखाएर जनतालाई समृद्धि दिन्छौँ भनेर आएका हौँ’ भन्ने पवित्र भाव देखिन्छ ।

ओली तयार छन् त ? अहँ त्यो सम्भावना छैन ।

अहिले नै देखिराख्नु भएको छ नि, कुन ध्येयले मन्त्रिपरिषद् पुनःगठन गर्नुभयो । राज्य प्रणालीलाई आफ्नो मुट्ठीमा राखेर चलाइरहनुभएको छ ।

त्यसो हुँदा एकताको सम्भावना टर्दै जान्छ । नयाँ पार्टी गठनको आवश्यकता प्रखर बन्दै जान्छ ।

फरि केपी ओलीसँग एकताको सम्भावना किन पनि टाढिँदै छ भने उहाँ निकै घातक कामतिर अग्रसर भइराख्नुभएको छ । जननिर्वाचित संसदलाई पटक–पटक विघटित तुल्याउँदा संविधान बच्दैन । संविधान समाप्त हुँदा गणतन्त्र, संघीयता पनि रहँदैन । उहाँ आफूलाई बचाउन सबै समाप्त पार्ने दिशामै हुनुहुन्छ ।

अब अदालतको फैसलापछि नै एउटा निष्कर्षमा पुग्ने हो ?

मुख्यरूपमा त्यही हो । अदालतको फैसला कस्तो आउँछ, त्यसपछि नै हामी निष्कर्षमा पुग्छौँ । यसबीचमा हामीले गर्नुपर्ने तयारी छँदै छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १५:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro