इन्टरनेटको माध्यमबाट सूचना, विचार, फोटो, भिडियोलगायतका सामग्री आदानप्रदान लागि प्रयोग गरिने मञ्चहरुलाई सामाजिक सञ्जाल भन्ने गरिन्छ । वबसाइट एवं इन्टरनेटका माध्यमद्वारा प्रत्यक्ष संवाद, कुराकानी, आफ्ना रुचि, विचार र धारणा व्यक्त गर्न, जुनसुकै स्थान र समयमा पनि प्रयोग गर्नसक्नु सामाजिक सञ्जालको विशेषता हो ।
समुदायमा आधारित सामग्रीहरु आदानप्रदान गर्ने एक प्रकारको सञ्चार माध्यम पनि भएकाले यसलाई सामाजिक सञ्जाल भनिएको हो । युट्यब, फेसबुक, भाइबर, ट्विटर, इन्ट्राग्राम, टिकटक, थम्ब्लर, वीच्याट स्क्याइप आदि सामाजिक सञ्जालका उदाहरण हुन् ।
ग्रामिण भेगमा समेत इन्टरनेटको पहुँच विस्तार भएसँगै सामाजिक सञ्जाल प्रयोगको दायरा धेरै फराकिलो भएको छ । सूचना र प्रविधिको विकाससँगै सामाजिक सञ्जाल प्रयोगकर्ता पनि बढिरहेका छन् । युवा, बालबालिकादेखि ज्येष्ठ नागरिकहरुको समेत हातहातमा मोबाइलमात्र छैन सामाजिक सञ्जालमा पनि उनीहरु जोडिएका छन् । प्रयोग गर्न सजिलै सकिने भएकाले पनि सबै समूहको सामाजिक सञ्जालप्रति आकर्षण बढ्दै गएको हो ।
सामाजिक सञ्जाल मानिसहरुलाई जोड्ने माध्यम हो । अधिकांश व्यक्तिका लागि समय बिताउने साथी पनि हो । अहिले मानिसहरुले सामाजिक सञ्जालबाट नै धेरै सूचना लिने गरेका छन । धेरैले सञ्चार माध्यमभन्दा पनि फेसबुक, ट्विटरमा समाचार हेर्ने गर्छन् । पछिल्लो समय फेसबुक सूचनाको स्रोतजस्तै बनेको छ । सामाजिक सञ्जाल प्रयोगको गतिसँगै यसले सामाजिक चेतनाको स्तर बढाउन पनि सहयोग गरेको छ ।
महामारीको समयमा सामाजिक सञ्जाल र इन्टरनेटको प्रयोगले एकातर्फ हाम्रो दैनिकी केही सरल बनाइदिएको छ भने अर्कातर्फ संवेदनशील घडीमा मानसिक त्रास र जोखिमसमेत थपिदिएको छ ।
कतिपयले सामाजिक सञ्जालमा केही अभिव्यक्त गर्दैमा आफूलाई पत्रकारै सम्झिन्छन् । तर, पत्रकारले भने कुनै पनि घटना, परिवेश र वस्तुस्थिति मनन र विश्लेषण गरी स्रोतको उल्लेख गरी संयमपूर्वक सूचित गर्छ । कतिपय व्यक्तिले फेसबुक, टिकटक, ट्विटरहरुमा सचेतनामूलक, सन्देशमूलक, ज्ञानबर्धक भिडियो, पोस्टरहरु सम्प्रेषण गरेर सुसूचित गरिरहेका छन् । धेरैले भने अड्कलबाजी, सम्भावना र महामारीले निम्त्याएको केही घटनालाई बङ्ग्याएर हल्ला फैलाउने काम पनि गरेका छन् ।
महामारी कसैले चाहेर आएको संकट होइन । यो त एउटा विपत्ति हो । राष्ट्रिय विपद्मा पत्रकार तथा सञ्चारमाध्यमले प्राकृतिक विपद्, विशेष संवेदनशील अवस्था वा घटनाका सम्बन्धमा समाचार सामग्री संकलन र सम्प्रेषण गर्दा संयमित भई व्यक्तिको जीवनमाथिको खतरा, मानवीय संवेदना, सार्वजनिक सुरक्षा, जनस्वास्थ्य, सामाजिक सद्भावजस्ता विषयमा विशेष संवेदन र सावधान हुनुपर्छ ।
पत्रकार आचार संहितामा जनस्वास्थ्य वा व्यक्तिको स्वास्थ्यका सम्बन्धमा अतिरञ्जना गर्न निषेध गरिएको छ । त्यसमा पत्रकार र सञ्चारमाध्यमले व्यक्तिको स्वास्थ्य, महामारी लगायत जनस्वास्थ्यसँग सरोकार भएका विषयसम्बन्धी सामग्री पाठक, स्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुनेगरी अतिरञ्जित तवरमा सम्प्रेषण गर्नु हुँदैन भनिएको छ ।
महामारीको समयमा सत्य र तथ्य सूचना संप्रेषण गर्दागर्दै पनि स्वास्थ्य संवेदनशीलताको उपेक्षा गरियो भने जनमानसमा नकरात्मक असर पर्न सक्छ । सिङ्गो विश्व नै कोभिड–१९ को महामारीविरुद्ध युद्ध मैदानमा होमिइरहेको बेला हामी सामान्य नागरिक फेसबुकमा स्टाटसमा राख्न आतुर हुनु शोभनीय नहोला । फेसबुकको वालमा एउटा २५ वर्षीय युवकको कोरोनाकै कारण मृत्यु भएको खबर देख्दा आइसोलेसनमा कोभिडसँग लडिरहेका पाका मानिसको मनोबल उच्च नहुन सक्छ ।
अहिले कसैलाई पनि मृत्युको समाचार हेर्ने रुचि नहोला । सबैले मनोबल उच्च राख्ने सामग्री खोजिरहेका हुन्छन् । अचानोको पीडा खुकुरीलाई के थाहा भनेजस्तै भोग्नेहरुका लागि महामारी भयंकर छ ।
यो सबै सजग हुनुपर्ने बेला हो । आत्मविश्वास र धैर्यमा अडिग रहनुपर्ने बेला हो । पछिल्लो समयमा मानिसहरु कति त्रसित भएका छन् भने कसैको फोटो फेसबुकमा राखेर जन्मदिनको शुभकामना गर्यो वा बधाई दियो भने पनि त्यो तस्बिरमा आँखा पर्नासाथ झसंग होइन्छ ।
कोभिडका कारण मृत व्यक्तिको तस्बिर राखेर श्रद्धाञ्जलि प्रकट गर्दा मृतकका परिवार र आफन्तजनप्रति समवेदना हैन पीडा थपिएको छ । फेसबुक प्रयोगकर्ता हरुले गरेका यस्ता पोस्टले सूचना संप्रेषण गर्नुभन्दा समुदायमै मानसिक संत्रास फैलाएको छ ।
सामान्य अवस्थामा फेसबुकमा राखिएका यस्ता पोस्टबाट सूचना सम्प्रेषण होला तर यो विषम परिस्थितिमा यस्ता सामग्री पोस्ट नगर्दा नै बुद्धिमानी हुनेछ ।
हामी सबै कोरोना भाइरसको रोकथाम, नियन्त्रण र निराकरणकोे मार्गमा छौं । उच्च मनोबल, ढृढ संकल्प, धैर्य र सकारात्मक सोचबाट नै आफू, आफ्नो परिवार र समाजलाई जोगाउन सक्छौँ । अब डराएर हैन मनोबल बढाएर कोभिडसँग लड्न तयार होऊँ ।
(सहसम्पादक, काभ्रे सन्देश साप्ताहिक)