माथिको यो एउटा तस्बिरले नेपाली समाजको यथार्थ वर्णन गर्छ । भीमसेन थापाको सालिक पूर्ण कदको देखिन्छ। त्यसलाई अड्याउन बनाइएकाे आधार (बेस) भने अपेक्षाकृत ठूलो छ, सालिकलाई नै ओझेलमा पार्ने गरी । अलिकति गौरसँग हेरे थाहा हुन्छ सालिकमुनिको शिलालेखमा लेखिएकाे लामाे विवरण अटाउन नै त्यति ठूलो आकार बनाइएको हाे ।
उद्घाटन गर्ने व्यक्तिलाई रिझाउन यसरी भद्दा संरचना बनाइएकाे स्पष्टै बुझिन्छ। ठूला अक्षरमा ‘श्री योगेश भट्टराई’ ‘शालिक समुद्घाटन’ लेखिएकाे छ तर जसको सालिक हो उनैकाे नाम भने सानो अक्षरमा ‘भीमेसन थापा’ लेखिएकाे छ र उनको नामका अगाडि ‘श्री’ लेख्न पनि जरुरी ठानिएन ।
हुनत, यति सामान्य कुराले के फरक पर्छ त भन्ने प्रश्न पनि गर्न सिकएला तर चुरो कुरो नै यसैमा छ। हाम्रो सामाजिक चरित्र कस्तो छ र हामी किन यस्ता छौँ ?
गुगलमा एकचोटि जर्मनीको प्रथम चान्सलर तथा जर्मनीको एकीकरणकर्ता ओटो वन विस्मार्कका वा वा अन्य देशका प्रमुख व्यक्तिहरूको सालिक खोजेर हेर्नुहोस् त । त्यहाँ माथिको जस्तो ऐतिहासिक व्यक्तिको भद्दा मजाक हुनेगरी कसैले उद्घाटनै गरेभनेर ठूला ठूला अक्षरमा पूरै शिला ढाकेर लेखेको पाइन्न । अधिकांशमा कि त उक्त ऐतिहासिक व्यक्तिको नाम सालिक तल उल्लेख गरिएको, उनको जन्म, मृत्यु मिति अनि एकाध वाक्य उनकै बारेमा लेखिएको पाइनेछ । उद्घाटन गर्नेकाे नामै लेखे पनि सानोमा कुनापट्टि वा सालिक नजिकैको अर्को सानो शिलालेखमा लेखिएको हुन्छ ।
केही समय पहिला म स्विट्जरल्यान्डको इन्टरलाकेनमा रहेको प्रसिद्ध भारतीय सिनेमा निर्देशक यश चोपडाको सालिक भएको ठाउँमा पुगेको थिएँ । उनी क्यामेरा समाएर उभिएका छन् भने तलपट्टि शिलालेखमा उनको सिनेमामार्फत् भारतीयमाझ उक्त सहरलाई चर्चित बनाएकोमा धन्यवाद दिइएको छ। कसको बाहुलीबाट उक्त शालिकको समुद्घाटन, कुन मितिमा हुन पुग्यो भनेर शालिकभन्दा ठूलो ठाउँ ओगटेर नलेख्दा हुने रैछ त !
हामी नै चाँही किन यस्तो दरिद्र मानसिकताका छौँ त ? किन शासकलाई रिझाउन जे सुकै गर्न पनि पछि नपर्ने मानसिकता बाट ग्रसित रहेका हाैँ ? सुरुमा सालिकको परिकल्पना गर्ने, डिजाइन बनाउने आर्किटेक्ट, मूर्तिकार, लगानीकर्ता व्यक्ति, सरकारी निकायदेखि आफ्नै ‘बाहुली’बाट ‘समुद्घाटन’ ‘सुसम्पन्न’ गर्ने योगेश भट्टराईसम्म सबै यस कार्यमा उत्तिकै जिम्मेवार छन्। सालिक निर्माणको थालनीदेखि उद्घाटन हुने बेलासम्म सहभागी सम्पूर्णले यस विषयलाई बेवास्ता गर्नु, यस्तो देख्दादेख्दै पनि कुनै लाज, हिचकिचाहटविना मन्त्रीले उद्घाटन गर्नु, सच्याउनुको निम्ति कुनै प्रयास नगर्नुले हामीले चाकरी प्रथालाई समाजको मुख्य चरित्र बनाइसकेको स्पष्ट हुन्छ । चाकरी प्रथामा चाकरी गर्नेले उसको नियमति काम झैँ चाकरी गरिरहेको हुन्छ भने प्रापकले त्यसलाई सहजरूपमा ग्रहण गर्दै पुरस्कृत गरिरहेको हुन्छ ।
नेपाली समाज चाकरीप्रधान समाज हो । यसको सामाजिक चरित्र नै यही रहेकोले हामीले व्यवहारमा जानेर वा अन्जानमा चाकरी गरिरहेका हुन्छौँ । कति त थाहा नै नपाई चाकर भइरहेका हुन्छन् ।
चाकडी गर्नु नै प्रमुख काम भएपछि त्यो समाजले अन्य काममा उति सारो ध्यान दिदैँन। हामी दुई अढाइसय वर्ष राजाकाे, १०० वर्ष बढीको राणा शासनबाट शासित थियौं। हुक्के, बैठके, ढोके, चिलिमे, सुसारे आदि नाममात्रै होइनन् । यथार्थमा यो त हाम्रो सामाजिक परम्परा भइसकेकाे छ । आफूभन्दा माथिको मालिकलाई रिझाएपछि काम, दामदेखि लिएर सम्पूर्ण आवश्यकता पूर्ति हुने १०० यौँ वर्षदेखिको चलन आजको भोलि निमिट्यान्न हुने परिकल्पना पनि नगरौं ।
पद साेपानको टुप्पोमा बसेकालाई त्यस मुनिकोले चाकरी गर्ने, त्यसभन्दा मुनिकालाई अझै तलकाले अन्तिम पिँध नपुगेसम्म चाकरी गर्दैजाने । यस सामाजिक बनोटमाथि, ०६२-०६३ को जनआन्दोलन पश्चात् राजनीतिक तथा त्यसको केही अघिदेखि वैदेशिक रोजगार मार्फत् सामाजिक रूपमा धावा बोल्ने प्रयत्न भएका छन् । मुनिको वर्ग, आफूभन्दा माथिको वर्गमा जीवनयापनको निम्ति निर्भर रहनुपर्ने वाध्यता रहुन्जेल चाकरीप्रथा रहिरहन्छ। जति जति तल्लो वर्ग आत्मनिर्भर हुँदै जान्छ त्यति नै यो प्रथा भत्किँदै जान्छ ।
हामी जहानियाँ शासनबाट मुक्त भएको धेरै भएको छैन । राजा फालिएपछि यस बनोटमा एक प्रकारको ‘भ्याकुम’ खडा हुन पुग्यो । त्यो रिक्ततालाई पूर्ति गर्न अहिलेका शासन व्यवस्थाका शासक वर्ग ३ बित्तामाथि उफ्रिएर तम्सिएको देखिन्छ । यी नयाँ शासक पुराना शासकमुनि दशकौं शासित रहेकाले उनीहरूमा चाकरीको अवशेष बाँकी छ । पहिला उनीहरू चाकरी गर्थे अहिले अरूले तिनको चाकरी गर्छन् । उनीहरूलाई यो अनाैठाे लाग्दैन । त्यसैले त उनीहरुलाई ‘पिर्के सलामी’ लिन, हिलोमाथि राति कार्पेट बिछ्याउन, ‘सवारी’भन्दै पूरै बाटो बन्द गर्न, ठूला अक्षरले आफ्नो नाम शिलामा लेखाउन योजनाकाे प्रक्रिया नै नपुगी वा पहिले नै भइसकेकाे शिलान्यास फेरि गर्न तथा निर्माण कार्य नै नसकी उद्घाटन गर्न मरिहत्ते गर्छन्। यो पुरानो चाकरीमा रमाएको पुस्ताको स्वतः प्राकृतिक अन्त्य पश्चातमात्रै अधिकांश परिवर्तन देखिनेगरी सामाजिक बनोटमा प्रकट हुनेछ ।
केपी ओलीले ‘यती होल्डिङ’लाई रिझाउनुपर्ने, योगेश भट्टराईले ताप्लेजुङबाट टिकट पाई मन्त्री हुन,केपी ओलीलाई खुसी राख्नुपर्ने, सालिक बनाउनेहरूले योगेश भट्टराईलाई रिझाउनुपर्ने । समाजको हरेक क्षेत्र यस्तै शृङ्खलाले बनेका छन् हाम्रो दैनिकी नै यसले निर्धारण गर्छ ।
चाकरी प्रथामा जवाफदेही एकद्वार प्रणालीअन्तर्गत आफूभन्दा माथिको ‘मालिक’प्रति मात्रै रहने गर्छ। आफूभन्दा मुनिको शक्तिहीन हुने भएकोले उनीहरूप्रति जवाफदेही हुनै पर्दैन । सामान्य व्यक्तिले आफ्नो काम भएन भनेर गुनासो गर्नु सधैँ व्यर्थ किन हुन्छ भने जसले काम गर्दिनुपर्ने हो उसको जवाफदेही आफूभन्दा माथिपट्टि मात्रै हुन्छ ।
विकसित समाजमा पनि चाकरी नै नहुने त होइन तर हाम्रोजस्तो सामाजिक संस्कार नै हुन पुगेको हुँदैन । त्यहाँ ‘सिस्टम’ले पनि उत्तिकै काम गर्छ भने हाम्रोमा चाकरीले व्यवस्थालाई खर्लप्पै खाएको छ ।
तत्काल गुलामलाई गुलामीबाट मुक्ति दिएपनि उसले कि त पुरानै मालिक खोज्छ गुलामी नै गर्नका निम्ति नभए आफू पनि पुरानो मालिकजस्तो बन्न खोज्छ । उसैको नक्कल गर्न खोज्छ । अहिले समाजमा देखिएको द्वन्द्व भनेको कतिलाई पुरानै मालिक चाहिएको छ चाकरी गर्न भने कतिलाई नयाँमार्फत् आफूले धेरै फाइदा लिन सकिने भन्ने परेको छ । पहिले एक्लो राजा थिए तिनैको वरपर घुमेको हुन्थ्यो सम्पूर्ण प्रथाको संरचना । अहिलेको नयाँ शासन व्यवस्थाले गर्दा नवशासक शक्तिशाली देखिएको, धेरै कुरा नयाँ नौलो रहेको, ठ्याक्कै कोही पनि टुप्पोमा बसिनसकेको अवस्था रहेकाले सम्पूर्ण देश नै रनभुल्लमा, दुविधाग्रस्त स्थितिमा छ ।
(संयोजनकारी समिति सदस्य, विवेकशील पार्टी )