site stats
बाह्रखरी :: Baahrakhari
विचार
दलकै कारण बन्दी राजनीति

राजनीतिक दलकै कारण राजनीति बन्दी भयो भन्नुपर्दा अनौठो लाग्छ । राजनीति मात्रै किन देश नै बन्दी भयो, लोकतन्त्र र संविधान नै बन्दी भए । राजनीतिक दलहरु राजनीतिक समस्या समाधान गर्ने सबैभन्दा उत्तम र प्रभावकारी माध्यम हुन् भन्ने बुझ्दै अनि सुन्दै आएको सामान्य चेत भएको हामी जस्तालाई पनि नेपालको अहिलेको राजनीति कुन दिशामा गइरहेको छ अनुमानको विषयमात्र भएको छ । किन यस्तो अन्योल र अनिश्चय भयो राजनीतिमा ? केही बेर सोच्नुपर्ने भएको छ । 

स्वयं राजनीति यति धेरै अन्योलग्रस्त भएपछि परिणाम पनि अनिश्चित हुने नै भयो । के नेपाली राजनीति आफ्नै आन्तरिक निर्णय गर्ने हैसियत राख्दैन ? सबैभन्दा दुःखद प्रश्न यतिबेला यही हो । नेपाली राजनीतिको लगाम यहीँ छ कि अन्यत्र ? यही अनपेक्षित प्रश्नले पीडादायी अनिर्णयको बन्दी राजनीतिक अवस्थाबाट नेपाली सबैलाई भित्रैदेखि बिथोलेको छ, अधीर बनाएको छ । 

हाम्रा राजनीतिक दल र तिनका नेता कुनै निर्णय दिन समर्थ छैनन् कि के ? समर्थ हुन्थे भने नेपाली राजनीति लोकतन्त्र र त्यसको प्रत्याभूति गर्ने संविधान यतिधेरै ‘प्राणेश्वर’को पर्खाइमा हुने थिएनन् । यस्ता विषयमा स्पष्ट केही नभन्ने तर भाषण गर्दा भने निर्णायक आफू नै भए सरह गर्ने नेता निर्णायक घडी आउँदा खुट्टा कमाउँछन् । यी नेता कथितको क्षमता निर्वांग भएको अनुभूति सबैले गरेका छन् । यस्तोमा के दल, के नेता ? तिनको विश्वास गर्ने कसोरी ? 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालका राजनीतिक दलको यस्तो निरीह पृष्ठभूमिबीच सबैले भनेको अलोकतान्त्रिक, अराजक र स्वेच्छाचारी नेपाल कम्युनिस्ट पार्टी (एमाले) यसअघिको नेकपाका पनि अध्यक्ष केपी ओली नेतृत्वको सरकार टिक्ने र सबैलाई धम्काएर सरकारमा बसिरहने हैसियत के ? त्यो आर्जन भयो कताबाट ? विरोधको राजनीतिक परिवेश हेर्दा त्यो हैसियत एमाले अध्यक्ष ओलीले पाए कहाँबाट कसोरी ? आश्चर्य लाग्छ ?

कम्युनिस्ट भनेपछि कोट्याउनै धेरै किन पर्यो र ? विश्वभर असफल कम्युनिस्ट सरकारमात्रै किन, चिन्तन नै अव्यावहारिक प्रमाणित भएको इतिहासबीच नेपालमा कम्युनिस्टको रजगज हामी नेपाली नै बुद्धु हुनुको परिणाम हो भन्ने लाग्छ । बुद्धु भन्दा झाँेक चल्ला तर सोझो हुनु र चाडै विश्वास गर्नु वा पारखविना नारालाई सहजै पत्याउनु नेपालीको कमजोरी हो । यस्तो हुन्थेन भने विश्व इतिहास हाम्रो पहुँच बाहिरको विषय त थिएन नि ? विश्व परिवेशमा कम्युनिस्टको असफल हबिगत सामान्य जानकारीमा पनि बुझ्ने विषय थियो । 

उल्लिखित पृष्ठभूमिपछि एकैछिन सोचौँ, प्रतिनिधि सभा निर्वाचनका बेला नेकपाका दुवै घटक : अलग अलग थिए । एकातिर नेकपा (एमाले) थियो सूर्य चिन्ह र अर्कोतिर हसियाँ हथौडाको नेकपा (माओवादी केन्द्र) । यी दुईले गठबन्धन गरेर चुनाव जिते  । अनि बन्यो नेकपा (नेकपा) । त्यो पनि अर्कैको दलको नामलाई ह्याकुलाले मिचेर हत्याएपछि । विधि मिचाहा कम्युनिस्ट प्रवृत्ति यहाँ पनि देखिएकै थियो । अदालतले हक मिचिएकालाई न्याय दियो । त्यसपछि कि अर्को दल बनाउने वा पुरानै पहिचानमा अस्तित्व रक्षा हुने अवसर रोज्ने फैसला अदालतले दियो र पो बाँचे त एमाले र माओवादी केन्द्र । 

अदालतले आआफ्नो अस्तित्व रक्षा गरिदिएकोमा कृतज्ञ हुनुपर्नेमा यिनले के गरे ? भन्नै परेन । अदालतले नै पार्टी एकता गरिदिनुपर्ने जस्तो गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अदालत नै गुहार्न पुगे किन ? राजनीतिमा यस्तो हास्यास्पद परिघटना धेरै देख्न पाइँदैन । तर, दाहालको बाध्यता अस्तित्व रक्षाको थियो सायद र पनि उनको मनोकांक्षा पूरा भएन । 

माओवादी केन्द्रका अध्यक्ष दाहाल एमाले अध्यक्ष ओलीसँग फुट्न पनि सक्दैनन् र जुट्न पनि ठाउँ भेट्टाउँदैनन् । अभिमानका कारण अध्यक्ष ओली समक्ष एकताका लागि बिन्ती बिसाउन नसकेपछि उनी  विकल्पमा अदालतको शरणमा पुगे । अदालतले पनि जे हो त्यही भनिदियो । के गर्ने ? प्रधानमन्त्री ओलीलाई दिएको विश्वासको समर्थन फिर्ता लिए चुनावमा जानुपर्ने हुनसक्छ । विभाजनको अवस्था अहिले नै चुनावमा गए तन्नम हुने दाहालको चिन्ता हो । कस्तो अनिर्णयको बन्दी ? ओली सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन नसक्ने र अविश्वासको प्रस्ताव ल्याउने गणितीय हैसियत पनि नहुने । राजनीतिक निरीहताको हबिगत यी हिंसाचार र अवसरवादका उद्भट नेता दाहालले यतिबेला साच्चै अनुभव गरेको हुनुपर्छ । अवश्यंभावी राजनीतिक परिणामको सामना गर्न पनि बिचरा डराइरहेका छन् ।  

माओवादी केन्द्रका अध्यक्ष दाहालको यो निरीहता अकारण भने होइन । बुझ्दा हुन्छ, उनको अवसरवादी चरित्रको कारण अविश्वसनीय छवि बनेको परिणाम यतिबेला देखिएको हो । राजनीतिमा विश्वास गुमाएपछि बाँकी रहन्छ नै के ? नेपालको राजनीति बन्दी हुनुको एउटा कारण दाहालको अवसरवादी चरित्र हो भने अर्को अहिलेसम्म मधेस केन्द्रित दलका रुपमा चिनिने जनता समाजवादी पार्टी (जसपा) को एउटा खेमाको पद लोलुपता र नेतृत्वहीन अराजकता हो । 

राजनीति अहिले खासगरी जसपाकै कारण बन्दी बनेको हो । केही अंशमा अरु पनि होलान् तर राजनीतिलाई बन्दी बनाउने जसपाको एक घटकको नियतमा प्रश्न नगरे पनि आत्मनिर्भर निर्णय गर्न त्यो घटक सक्षम छैन भन्ने ‘सत्य’ खुला गोप्य (ओपन सेक्रेट) हो । त्यस्तै बेला न कुबेला वैध, अवैध माग राख्नु र सरकारी सत्तारोहणको लागि संविधान संशोधनको मौसमी, बेमौसमी राग अलाप्नुलाई मधेसी नेताहरुले सदाबहार ‘इस्यु’ बनाएका छन् ।   

जसपाको न यता न उता हबिगतको त्यस घटकले नेपाली राजनीतिलाई बन्दी बनाएको छ । अनिर्णयको बन्दी । उनीहरु स्वतन्त्र छन्, प्रधानमन्त्री ओलीलाई समर्थन गर्न र उनकै नेतृत्वमा पाउने सरकारी सत्ताको सुखभोग गर्न । त्यो पनि गर्न सक्दैनन् र आफैँले अलोकतान्त्रिक कृत्यका नेता भन्ने निर्णय गरेको नेकपा अध्यक्ष ओलीलाई त्याग्न पनि समर्थ छैनन्, किन ? सिंगो जसपाको समर्थन नहोउन्जल सरकार बदल्न सम्भव छैन । एमालेको नेपाल खनाल गुट ओली सरकारविरुद्ध झट्टै आउन सक्दैन । आउनेबित्तिकै तिनले खाइपाइ आएको सांसद् पद धरापमा जो पर्नेछ । 

समग्रमा नेपाली राजनीति बन्दी राजनीतिक दलकै कारण हो तर जसपा अनिर्णय बनाइ राख्नेमा सबैभन्दा जिम्मेबार छ । किनभने उसले कम्युनिस्ट अध्यक्ष ओलीलाई समर्थन दिए उनको सरकार टिक्छ, नदिए ढल्छ । समग्रमा माओवादी केन्द्रका अध्यक्ष दाहालको असुरक्षा र भयग्रस्त निरीहता तथा जसपाको ‘पेन्डुलम’ अवस्था अहिलेको राजनीतिक कठिनाइ र यो कम्युनिस्ट सरकारको निरन्तरताको आधार हो । 

यस्तो सत्यबीच प्रमुख विपक्ष नेपाली कांग्रेसलाई दोष थोपर्न माओवादी दाहाल र जसपाको त्यही घटक बढी उद्यत देखिन्छन् । यी दुवैले कांग्रेसलाई विश्वास दिए परिणाम फेरिने सन्देश कांग्रेस केन्द्रीय समिति बैठकको निर्णयले दिइसकेको छ । राजनीतिलाई जानाजान बन्दी बनाउने र दोष अन्तै थोपर्न अलिकति पनि  लाज नमान्ने तगाराहरु नै अहिलेका घातक तत्त्व हुन् । नेपाली हामी धेरै झुक्कियौँ । अझै कति भुच्चुक हुने ? अब त बुझौँ 
 

प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  ०८:०७
प्रतिक्रिया दिनुहोस्