site stats
बाह्रखरी :: Baahrakhari
विचार
कता लाग्ला कांग्रेस ?

संसदीय लाेकतन्त्र सङ्कटमा परेका बेला लाेकतन्त्रको पहरेदार पार्टी कहाँ छ ? कुन विन्दुमा चुक्यो ? जस्ता प्रश्न व्यापक भएपछि नेपाली कांग्रेस बफ्ल्ल जुर्मुराउन खाेजेको देखिएकाे छ ।

संविधान मिच्ने प्रधानमन्त्री केपी ओलीलाई सत्ताच्युत गर्न  विपक्षी दलहरूलाई सकस परिरहेकै बेला परेकाे चौतर्फी दबाब थेग्न मुस्किल परेपछी कांग्रेस  सभापति र  ओलीबीचको  ‘लगनगाँठो’ अब फुक्ने संकेत कांग्रेसको केन्द्रीय समितिले गरेको छ । 

हुनत, अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णयसम्म गर्न नसकेको ओलीकाे पुरानाे साझेदार माओवादी केन्द्र नेपाली कांग्रेसको नेतृत्वमा अविश्वासको प्रस्ताव पेस गर्न तयार हुने भन्ने लिखित निर्णय पनि कतै भएको छैन । समाजवादी जनता पार्टीको दुई समूह एकढिक्का बन्छन् कि  एउटा समूह ओलीका पक्षमा जान्छ भन्ने पनि स्पष्ट भइसकेको छैन । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आगामी सरकारको नेतृत्वका विषयमा स्पष्ट सहमती नभएकाले ओलिविरुद्ध अविश्वासकाे प्रस्ताव राख्ने विषयमा विपक्षी दलहरूकाे नेतृत्वकाे खिचातानीमै दलहरु अल्झिने सम्भावना टरेको छैन । ओलीलाई सत्ताच्युत गर्ने विषयमा कांग्रेसको निर्णय कतै ‘साप चाहिँ नमर्ने लठ्ठी भने भाँचिने " जस्तो हुने हो कि ? ओली र कांग्रेस सभापतिबीच कसिएको ‘गाँठो’ कांग्रेसले फुकाउन सक्छ कि चुडाल्नै पर्ने हो ?  

कम्युनिस्ट विग्रहबाट हौसिएका कांग्रेस सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसलाई ‘पुरानो अवस्थामा फर्काउने’ प्रतिबद्धता प्रकट गरेर आफ्नो कुर्सी जोगाइराख्ने रणनीतिमा लागेका देखिन्छ्न । सकेसम्म अधिवेशनको मिति तन्काएर भए पनि आफ्नै नेतृत्वमा चुनावमा जाने देउवाको चाहना देखिन्छ । तर, रबर पनि धेरै तन्काउन खोज्यो भने चुँडिन्छ भन्ने हेक्का सभापति देउवालाई समेत हुनुपर्ने हो । 

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको  कथन छ - "अधिवेशनप्रति आशंका गर्नेहरूलाई दिने एउटै जवाफ छ तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्नु । सोही रफ्तारमा क्रियाशील सदस्यता ‘अपडेट’ गर्ने काम भइरहेको छ । अधिवेशन समयमै सम्पन्न हुन्छ ढुक्क हुनुस् ।" 

कांग्रेसमाथि हुनसक्ने सुनियोजित प्रहार रोक्न तोकिएको समयमा अधिवेशन सम्पन्न गर्नु अपरिहार्य छ । नेपालको आन्तरिक राजनितिमा पर्दै आएको बाहय प्रभावको सिकार  बन्नबाट कांग्रेसलाई जोगाउन पार्टीभित्र निःसर्त एकताको पनि जरुरत छ । यतिबेला कांग्रेसले बिर्सँदै गएको बीपीको आदर्श पुनःस्थापित भए एकताकाे आधार बन्ने देखिन्छ । 

अहिले कांग्रेसभित्र गम्भीर र स्पष्ट सिद्धान्तमा केन्द्रित  बहसको जरुरी छ । लाेकतन्त्रको रटानलेमात्र कांग्रेस जोगिन्छ भन्ने भ्रममा रहेर स्पष्ट कार्यसूचीविना चुनावमा होमिदा हात लायो शून्य हुनसक्नेतर्फ कांग्रेस नेतृत्वको ध्यान जानुपर्छ । 

नेतैपिच्छेका फरक अभिव्यक्तिले अलमलमा परेका कार्यकर्तालाई स्पष्ट पार्न कांग्रेसको दृष्टिकोण एकै स्वरमा सम्प्रेषित हुने परिस्थिति निर्माण गर्नुपर्छ। नेपाली राजनीतिको पुरानो बाटोलाई मर्मत सम्भार गर्दै  फराकिलो बनाएर अगाडि बढ्दा नै कांग्रेसका लागि  कल्याण हुने देखिन्छ । बदलिँदो परिस्थितिमा आफ्नो स्पष्ट नीति तय गर्न आगामी महाधिवेशन केन्द्रित गर्ने लक्ष्यलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु आवश्यक छ । 

सरकार बनाउने र गिराउने खेलमा कांग्रेस आफ्नाे अडानबाट कमजाेर बन्नु हुँदैन । ओलीलाई हटाएर नयाँ सरकार गठनको प्रक्रियामा अगाडि बढ्दा कांग्रेसले दीर्घकालीन फाइदा हेरेर रणनीति तय गर्न जरुरी हुन्छ । विभिन्न चरणमा विश्वसनीयता गुमाइसकेका दलहरुको साथ लिएर  सरकारको नेतृत्व गर्नु कांग्रेसको लागि निकै चुनौतीपूर्ण हुने  देखिन्छ । 

आगामी निर्वाचनमा तराईका जिल्लामा कांग्रेसको मुख्य प्रतिस्पर्धी समाजवादी जनता पार्टी हुने हुँदा कांग्रेस कमजाेर हुनेगरी सम्झौता गराउन दबाब दिने रणनीति  सजपाको हुन सक्छ । माओवादीले कांग्रेसलाई झुक्याएको इतिहास त पुरानो भएकै छैन ।

त्यसैले संवैधानिक सर्वोच्चता कायम गर्न ओलीलाई हटाएर सरकारमा कांग्रेसकाे नेतृत्व निःसर्त स्वीकार हुने अवस्था नभएर सही गलत सम्झाैता गर्न पर्ने हाे भने आगामी चुनावमा कांग्रेसले फेरि नोक्सानी बेहोर्नु पर्नेछ ।

 


 

प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  ०७:१६
प्रतिक्रिया दिनुहोस्