प्रधानमन्त्री केपी शर्मा ओली ज्यू !
हालै नेपालमा पनि विश्व मिर्गौला दिवस मनाइयो । विश्वका कतिपय देशमा त महीनाभर नै पनि मनाउँछन् । दुई पटक प्रत्यारोपण गरिसकेको व्यक्ति तपाईँलाई ढिलै भए पनि विश्व मिर्गौला दिवसको शुभकामनाका साथै यहाँकाे दीर्घायुको कामना छ ।
सहयोगका लागि भौँतारिइहेका गरिब मिर्गौला रोगी दाज़ुभाइ दिदीबहिनीकाे कथा सञ्चार माध्यममा बारम्बार सुनिन्छ, पढिन्छ ।
नेपालमा ३५ देखि ४० लाख मिर्गौलासम्बन्धी रोगबाट पीडित व्यक्ति भएकाे मानिन्छ । मिर्गौलाको रोगको सामान्य अवस्थामा पनि खानपानदेखि नियमित औषधोपचारको महत्त्वपूर्ण भूमिका र त्यससँग जोडिएको खर्चिलो वास्तविकता तपाईँलाई त थाहै छ । प्रत्यारोपण नै गर्न परेका बिरामीका कठिनाइ त अझै बढ़ी हुन्छ।
प्रधानमन्त्रीज्यु, अधिकांश बिरामीले आफना निजी चिकित्सकलाई देश विदेशमा बुझेरमात्र नेपालमै प्रत्यारोपण गर्ने सल्लाह पाउने तपाईँको जस्तो हैसियत राखदैनन् । तिनले त एकभन्दा बढ़ी स्वास्थ्य केंद्र वा चिकित्सकसँग नेपालभित्रै पनि परामर्श लिन सक्दैनन् ।
तपाईँले नेपालमै आफ़्नो मिर्गौला प्रत्यारोपण गराएर एउटा महत्त्वपूर्ण सन्देश दिनु भएकाे छ । देशवासीका साथै स्वास्थ्यकर्मीलाई पनि त्यसले प्रोत्साहन दिएको हुनुपर्छ । प्रत्यारोपण आधुनिक चिकित्सामा नियमित अभ्यास भए पनि जटिल स्वास्थ्य सेवा हो । तसर्थ, दोस्राे पटकको प्रत्यारोपण त झनै जटिल हुनु त स्वाभाविकै हो।
तपाईँको र तपाईँलाई परामर्श दिने चिकित्सकहरूको निर्णयले नेपाली स्वास्थ्य सेवामा गएको दुई तीन दशकमा भएको प्रगतिलाई इंगित गर्छ। स्वास्थ्य विज्ञानमा बिरामीको उच्च मनोबलको प्रबल भूमिका रहेको तथ्य विश्वको धेरै राष्ट्रमा भएको अनुसंधानले बताएका छन् र तपाईँले यस तथ्यलाई साबित गरीदिनु भएको छ ।
आधुनिक स्वास्थ्य क्षेत्रको विकास र बिरामीको उच्च मनोबलका साथै कुनै पनि व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यमा केही हदसम्म वंशानुगत असर हुन्छ। केही वैयक्तिक परिस्थिति र आचरणले असर पार्छ भने धेरै सामाजिक निर्धारकहरूले असर गरिरहेको हुन्छ । सामाजिक निर्धारकले कतिपय आनुवंशिक र व्यक्तिगत आचरणबाट उत्पन्न परिणामलाई झनै जटिल बनाई दिन्छ ।
आधुनिक स्वास्थ्य विज्ञानले हाम्रो स्वास्थ्य साक्षरतालाई क्लिनिकल उपचार पद्धतिको सीमाबाट नै बढ़ी व्याख्या गरेको छ र हाम्रो विश्वास कुनै पनि रोगको निदान आधुनिक चिकित्सा विज्ञानबाट नै हुन्छ भन्नेमा अडेको छ । तर, वास्तवमा हाम्रोजस्तो देशमा त अधिकांश समस्याको जड़ नै सामाजिक संरचना र सामाजिक पुँजीको पहुँच भएकाे छ ।
धेरैजसाेको सामाजिक परिवेश विशेषतः आर्थिक हैसियत र शैक्षिक अवस्थामै निर्भर हुन्छ । विडम्बना, कुनै पनि व्यक्तिको स्वास्थ्य ठीक अवस्थामा राख्न चहिने पैसा र शिक्षामध्ये कसैसँग पैसाको कमी छ भने कसैसँग शिक्षाको, अनि धेरैमा दुवैकाे ।
यसले देशको स्वास्थ्य सुधार गर्न खटिएकाहरूको काम झन् जटिल बनाइदिन्छ । त्यसैले हाम्रो स्वास्थ्यमा भएका पहलहरूको सकारात्मक नतिजा पाउन र जनमानसमा चेतना बढ़ाउन समाजका अगुवाको ठूलो भूमिका रहन्छ। आख़िर हामी सबैजना देखासिखीमा नै बढ़ी विश्वास गर्छौं । हाम्रो संस्कारमा त ‘बा’ हरूले आफ्नो आवश्यकता, चाहनालाई त्यागेर पनि आफ्ना संरक्षकत्वमा हुनेहरूकाे जरुरत पूरा गर्छन् नि त !
तपाईँले पछिल्लोपल्ट मिर्गौला प्रत्यारोपण नेपालमै गरेर नेपाली स्वास्थ्य जगतमा विश्वास देखाउनु भएको थियो । यो साता समाचारमा जे पढ़ेँ त्यस्ले भने मलगायत समाजका धेरैलाई खिन्न गराएकाे छ । समाचारअनुसार विपन्न वर्गले प्रत्यारोपणका लागि पाउने चार लाख रुपियाँ हैन तपाईँलाई त सरकारले आठ लाख पाे दियो रे ! आखिर सरकारी सहायता पनि आवश्यकता भन्दा पहुँचले नै निर्धारण गर्दो रहेछ भन्ने तीतो यथार्थकाे पुष्टि भयो।
‘ए! सबै पहुँचवालाहरू पनि एकैथरी हुन्नन् है ! “ भन्ने उदारहण भने सरकारले उपलब्ध गराएको दस लाख सहयोग आफूले नलिएर विपन्न वर्गको स्वास्थ्य उपचारमा खर्च हाेस् भन्ने भरखरै दिवंगत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको परिवार बनेको छ । नेपाली कांग्रेसदेखि अन्य पार्टीमा पनि यस्ता उपचार सहायता सर्वसाधारणले भन्दा सजिलै र धेरै लिनेको कमी छैन । मलाई तपाईँ पनि राम्रो उदारहण बनाउनेमध्ये पर्नु हुन्छ कि जस्तो लागेको थियो । होइन रहेछ ।
यस्तै कहिलेकहीँ तपाईँ भावावेशमा आएर स्वास्थ्यसम्बन्धी कस्ताे अभिव्यक्ति दिनुहुन्छ भने डाक्टर त के दुई अक्षर पढ़ेका सबैको टाउको फनफनी घुम्छ । तपाइले भरखरै जामुन र कलेजाको रक्षाको बारेमा जसरी बोल्नुभयो स्वास्थ्य साक्षरताको कमी भएको हाम्रोजस्तो समाजका मानिसलाई साँच्चै हो कि जस्ताे लाग्छ । केही महिना अगाड़ि कोरोनाको महामारी चर्केकाे बेलाको अभिव्यक्तिले त तपाईँलाई उपहासको पात्र नै बनायो।
तपाईँमा एउटा अचम्मको आत्मबल र बोल्ने कला छ । यो तपाईँको शैलीमा स्वास्थ्य विज्ञानले ठहर गरेको स्वास्थ्य जानकारी जनमानसमा सम्प्रेषण गर्न पाए सबै लाभान्वित हुनेथिए जस्ताे लाग्छ । झन् अहिले त बल्ल बल्ल तपाईँको आफ़नो सरकारको पहलमा आएको खोपप्रति मानिसको विश्वासको आवश्यकता छ ।
नेपालमा नागरिकको स्वास्थ्य, आवश्यक उपचार र उपचारको पहुँचमा सामाजिक निर्धारकहरूको ठूलो भूमिका छ र ती निर्धारकमध्ये स्वास्थ्य चेतना र बिरामीलाई पर्नआउने आर्थिक भार पनि हो । सरकारले केही महीनाअगाड़ि तीन सयभन्दा धेरै अस्पतालको शिलान्यास गरेको होइन ? यस्तै सबै नागरिकलाई सुलभ र सहज स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य बीमाको विस्तार गरिएको होइन ?
प्रधानमन्त्रीको मुखबाट असंगत भनाइ आउँदा वा तपाईँले सर्वसाधारणले पाउनेभन्दा राज्यबाट अतिरिक्त सहयोग लिँदा समाजमा राम्रो सन्देश जाँदैन । चिकित्सा समाजशास्त्रको विद्यार्थीको हैसियतले अनुरोध गर्छु स्वास्थ्यजस्तो संवेदनशील विषयमा चुनावी भाषणको शैलीमा हल्का कुरा नबोलिदिनुस् । आफूले पाउने र जनताले पाउने सेवा सहयोगमा धेरै अन्तर नगरिदिनुस् । तपाईँलाई यसै पनि अरू नागरिकलाई भन्दा बढ़ी सुविधा प्रधानमन्त्रीको हैसियतले उपलब्ध छ । तपाईँको राजनीतिक जितहार वा गठजाेडभन्दा जनस्वास्थ्य धेरै महत्त्वपूर्ण हुन्छ ।
मैले सुनेको छु तपाईँ धेरै पढ़्नु हुन्छ भनेर । जर्ज अर्वेलको ‘एनिमल फ़ार्म’ त पक्कै पढ़्नु भएको हाेला । “ हामी सबै समान छाैँ तर हामीमध्ये केही भने अरूभन्दा बढ़ी समान छाैँ” भन्ने त पढिहाल्नु भयाे हाेला । यस किसिमको सोच समाजवादी र कम्युनिस्ट भई टोपल्ने नेपाली नेताहरूको व्यवहारमा बढी देखिँदै आएकाले पनि चिन्ता र चासाे लागेकाे हाे कि ?
अहिले विश्व सारै नै कठिन समयमा छ । सारा विश्वका मानिस आफ़्नो र आफ्नाको स्वास्थ्यकाे चिन्ताले ग्रस्त छन् । यस्तो बेलामा त प्रधानमन्त्री उदारहण बनिदिए हुने नि ! स्वास्थ्यको ममिलामा गैरजिम्मेवार अभिव्यक्ति नदिनोस् न !
तपाईँको शुभेच्छुक
आमोद