नेकपा (एमाले)भित्र विवाद उत्कर्षमा छ । फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एकता बदर गरिदिएपछि एमाले पूर्ववत् अवस्थामा फर्किने कार्यकर्ताले अपेक्षा गरेका थिए ।
तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते ‘एकलौटी’ निर्णय गरेपछि एमाले विभाजनको मोडमा आइपुगेको छ ।
पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरे आफ्नो शक्ति, सामर्थ्यको लेखाजोखा गरिसकेको छ ।
यिनै सन्दर्भमा आधारित भएर एमाले नेता रघुजी पन्तसँग गरिएको संक्षिप्त कुराकानी :–
तपार्ईंहरूले भर्खरै दुईदिने राष्ट्रिय कार्यकर्ता भेला सक्नु भएको छ, यसको सन्देश के हो ?
यो भेलाको सन्देश सुस्पष्ट छ । पार्टी–आन्दोलनलाई बलियो बनाऔँ । गुटबन्दीलाई परास्त गरौँ । पार्टीलाई सुदृढ र एकताबद्ध तुल्याऔँ । नेकपा (एमाले)लाई बलियो बनाएर लैजाऔँ । यो कुरा कार्यकर्ताहरूका बीचमा अनौपचारिक कुराकानीमा मात्र होइन, हामीले कार्यकर्ताहरूलाई विभिन्न दस समूहमा बाँडेका थियौँ । ती समूहका प्रतिवेदनहरूमा पनि प्रष्टरूपमा प्रतिविम्बित भएको छ । यति मात्र नभई उहाँहरूले गुटबन्दीलाई निरन्तरता दिएर पार्टी अध्यक्षबाट पार्टीलाई विभाजित गर्ने काम भएको छ भने त्यसविरूद्ध हामी डटेर लड्छौँ भन्ने सन्देश प्रवाह भएको छ ।
भेलामा सहभागीहरूले नेकपा (एमाले) हाम्रो हो । एमालेको परम्परा, पार्टीको गौरवशाली इतिहास, एमालेको क्रियाशीलता, गतिशीलता र यसले बोेकेको विचार, सिद्धान्त, दृष्टिकोण र संगठनात्मक पद्धतिलाई मार्न र त्यसमा खलल पुर्याउने काम भइरहेको छ, यो काम तुरुन्त रोकिनुपर्छ । पार्टीलाई एकताबद्ध बनाएर लैजानुको कुनै विकल्प छैन भन्ने नै यो भेलाको मुख्य निष्कर्ष हो ।
तर, अर्को पक्षले त प्रतिवाद गरेको छ नि । तपाईंहरू पार्टी विभाजनतर्फ उद्यत हुँदै हुनुहुन्छ भन्ने उहाँहरूको आरोप छ ?
हामीहरूले उहाँहरूलाई प्रष्ट भनेका थियौँ, भेला हामी गर्दैछौँ । धुम्बाराहीमा वार्ता हुँदा पनि हामीले भेलाका कुरा गरेका थियौँ ।
वार्तामा उहाँहरूले भेला रोक्न भन्नुभएको थियो । हामीले त्यतिबेला भनेका थियौँ, भेला रोक्न हामीलाई कुनै अप्ठ्यारो छैन ।
रोक्छौँ पनि । तर, तपाईंहरूले २८ गते गरेको भनिएको गुटको बैठकको निर्णय रद्द गर्नुहोस् । पार्टी कमिटीलाई जेठ २ मा फर्काऔँ । यो सहमति हुन्छ भने हामी भेला रोक्छौँ ।
यहाँ के बुझ्नुपर्छ भने, हामी केन्द्रीय कमिटीका सदस्यहरू कसैलाई पनि बैठकको जानकारी दिइएको छैन । आफूलाई मन नपर्ने ९०–९२ भन्दा बढी केन्द्रीय सदस्यहरूलाई बाहिर राखेर कुनै बैठक बस्छ ? त्यो पनि कुनै केन्द्रीय कमिटीको बैठक हुन्छ ? त्यसो गर्नु विभाजन निम्त्याउन खोज्नु, विभाजन गर्न खोज्नु हो कि होइन ?
हामीले त्यो बैठकको निर्णय खारेज गर्नुस् । केन्द्रीय कमिटीको सामूहिक बैठक राखौं । त्यो अवस्था भयो भने हामी ४ र ५ गतेको भेला रोक्छौँ भनेकै थियौँ नि ।
पार्टी बचाउन, आन्दोलन बचाउनका लागि हामी लचिलो भएका थियौँ । तर, अध्यक्ष कमरेड स्वयम् त्यसमा लचिलो हुनुभएन ।
अहिले उहाँहरूले भेलामा जाने सबैलाई कारबाही गर्छु भनिरहनुभएको छ ? यस्तो हुँदा तपाईंहरू कमजोर हुनुहोला नि ?
गुटको बैठक राखेर विभाजनतर्फ बढ्ने उहाँहरू नै हो । अहिले हामीलाई भेला राख्नुभयो भने कारबाही गर्छौं, भेलामा जानेलाई कारबाही गर्छौैं भनेर प्रधानमन्त्री र उहाँसँग नजिक रहेका मानिसहरूले भन्नु बेकारको कुरा हो । हामी अझै पार्टीलाई एकताबद्ध बनाउन चाहन्छौँ । हामी अझै पार्टीलाई सुदृढ बनाउन चाहन्छौँ । पार्टीको एकतालाई कसरी दिगो, दीर्घजीवी बनाउने त्यसबारेमा बसेर छलफल गरेर निकास निकाल्न तयार छौँ । तर, फागुन २८ गते उहाँहरूले गुटगत भेलाबाट गरेको अवैधानिक निर्णय, विधानविपरीतका निर्णयहरू फिर्ता लिनुपर्छ ।
पुस ५ गतेपछि र त्योभन्दा अगाडि यहाँहरू बहुमतको निर्णय मान्नुपर्छ भन्दै आउनुभएको थियो । बहुमतकै आडमा यहाँहरूले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट नै निकाल्नुभयो । महासचिवलाई पनि हटाउनुभएको थियो । अहिले बहुमतले निर्णय गर्दाचाहिँ के आपत्ति ?
कारबाही त उहाँहरूले पनि गरेको हो नि । माधवकुमार नेपाललाई हटाएको होइन ? प्रचण्डजीलाई पनि हटाएको होइन ?
एकले अर्कालाई कारबाही गर्ने सिलसिला चलेकै हो । दुवै पक्षले कारबाही गरेकै हो । नेकपा भएको अवस्थामा आरोप–प्रत्यारोप पनि चलेकै हो । अब त्यो इतिहास भइसक्यो । अब त हामी नेकपा (एमाले) भइसक्यौँ । एमाले बनिसक्यौँ भनेपछि एकता हुनुपूर्व जुन संरचनामा थियौँ, जुन अवस्थामा थियौँ, त्यो अवस्थामा पुग्यौँ । त्यहाँबाट सुरु गरौँ भनेका छौँ हामीले ।
बहुमतको आडमा पार्टीका विधि, पद्धति मिच्ने काम भइरहेको छ । नेकपा हुँदा पनि यस्तै थियो, अहिले एमाले पनि त्यही नियति बेहोर्दै छ । यस्तो भन्न सकिँदैन ?
प्रधानमन्त्री केपी शर्मा ओलीले हामीसँग बहुमत । त्यसैले निर्णय गरेर जान्छौँ भन्नु नै बेकार छ । उहाँले बहुमतको निर्णय कहिल्यै मान्नुभयो ? के नैतिक आधारमा उहाँलेचाहिँ मसँग बहुमत छ । बहुमतले तिमीहरूलाई निकाल्छु, कारबाही गर्छु भन्ने आधार के छ ? उहाँले बहुमतको निर्णय मानेको अवस्था त थिएन ?
उहाँले त यतिसम्म गर्नुभयो, भन्नुभयो, पहिला मसँग बसेर सहमति गर्नुहोस्, अनिमात्र बैठकमा जाऔँ भन्नुभयो । त्यसैले उहाँले पार्टी नीति, सिद्धान्त, विधि, विधान कहिल्यै पनि स्वीकार गर्नुभएन ।
र त, उहाँले अहिले बहुमत छ भन्नुको कुनै अर्थ छैन । बसौँ । छलफल गरौँ । एउटा निष्कर्षमा पुगौँ । हामी अहिले पनि विभाजन होइन, पार्टी एकताबद्ध नै बनाउन चाहेका छौँ । बारम्बार जोड दिएर हामीले यो भनिरहेका छौँ । यो भेलाको उद्देश्य पनि पार्टीलाई विभाजन गर्ने होइन, पार्टीको एकतालाई कसरी बलियो बनाउन सकिन्छ भनेर कार्यकर्ताको भावना बुझौँ भन्ने थियो ।
के भयो भनेचाहिँ एमाले आन्दोलन एकताबद्ध नै रहन्छ । छिन्नभिन्न हुँदैन ?
फागुन २८ गतेको निर्णय फिर्ता नै त्यसको पहिलो सर्त हो । जेठ दुईको अवस्थामा फर्कनुपर्यो । तलदेखि माथिसम्म, वडा, गाउँ कमिटीदेखि केन्द्रीय कमिटीसम्म त्यो ठाउँमा फर्कनुपर्यो ।
त्यहाँ बसेर छलफल गरौँ । मन माझामाझ गरौँ । कसरी पार्टीलाई एकताबद्ध बनाउने, कसरी पार्टीलाई विधि, विधानअनुरूप सञ्चालन गर्ने, आगामी निर्वाचनमा कसरी नेकपा (एमाले)को नेतृत्वमा सरकार बनाउन सकिन्छ ? वृहत कम्युनिस्ट सरकार त हामीले असफल बनाइहाल्यौँ ।
हाम्रै बुद्धि, विवेक र कार्यशैलीले बिग्रिएको हो । झण्डै दुईतिहाइको सरकार कसको कारणले गिरेको ? हाम्रो कारणले गिरेको हो र ? हामीले ‘लाइसेन्स’ दिएजस्तो गरेर प्रतिनिधिसभाको यो कार्यकाल तपार्ईंले नै सरकार चलाउनुस् भनेर दिएकै थियौँ नि । किन त्यसलाई बिगार्नुभयो ? यी यावत् प्रश्नहरूको उत्तर नागरिक, आन्दोलनको सामु उहाँले दिनै पर्छ ।
अब जेजे बिग्रियो, बिग्रियो विगतलाई बिर्सिदिऊँ । बाँकी कुराहरू बिग्रन नदिऔँ । वृहत्तर पार्टी बनेको थियो । त्यो त विभाजित भयो, भयो । हामी एमाले एमाले भएर रह्यौँ ।
तर, अब एमालेलाई त बलियो बनाऔँ । एमालेलाई त सुदृढ बनाऔँ । जे जति नोक्सान भएको छ, त्यसलाई पुर्ताल गरेर अझ उपलब्धी हासिल गरेर त्योतिर पो ध्यान जानुपर्थ्यो । यहीँभित्र पनि अध्यक्ष आफैँले रडाको मच्चाएर कुनै समाधान निस्कन्छ ? अध्यक्षको काम त कसरी हुन्छ समेट्ने हो ।
कसरी हुन्छ सबै कार्यकर्तालाई सन्तुष्ट बनाएर लैजाने हो । घरको मूलीले गति छाड्यो भने घर विखण्डन भएजस्तै पार्टीको मूलीले गति छाड्दा पार्टी बिग्रन्छ । त्यसैले उहाँ त मूली हो नि अहिले ।
कसरी पाटीको सिंगो पंक्तिलाई समेट्ने, कसरी पार्टी एकताबद्ध बनाउने ? कसरी पार्टीका सबै सदस्यलाई लाखापाखा लाग्न नदिने ? कसरी पार्टीका सबै सदस्यलाई कोही आफ्नो कोही पराइ अनुभूत गर्न नदिने ? काखापाखा नगर्ने ? यो त उहाँको जिम्मेवारी हो । उहाँले यो जिम्मेवारीलाई बोध गरेर अगाडि बढ्नुहुन्छ भने हामी उहाँहरूलाई सहयोग गर्न तयार छौँ ।
तर, उहाँहरूले तपाईंहरूलाई ‘प्रचण्डको गृहकार्य’ गर्न धुम्बाराही फर्किएको आरोप लगाइरहनुभएको छ नि ?
तपाईंहरू विश्वास गर्नुस्, यो पार्टीमा फर्किएको को हो ? म नेकपा एमाले थिएँ । कैयन् वर्षदेखि । स्थापनाकालदेखि नै ।
रातारात हामीलाई सोध्दैनसोधी, थाहै नदिई नेकपा एमालेबाट नेकपा बनाइदिएको कसले ? कमरेड केपी ओलीले ।
नवौँ महाधिवेशनले अध्यक्ष निर्वाचित गरेको केपी ओलीलाई होइन ? तर उहाँले प्रचण्डलाई पनि अध्यक्ष मान्न बाध्य बनाउनुभयो । केपी ओलीले सही गरेर आएको हुनाले मानेको हो ।
मैले प्रचण्डलाई अध्यक्ष चुन्न गएको हो ? मैले अध्यक्षमा प्रचण्डलाई भोट हालेको हो । तेरो अध्यक्ष प्रचण्ड कमरेड पनि हो भनेर कसले बनाएको ? केपी ओलीको हस्ताक्षरले होइन ?
एउटा पार्टीमा एकजना अध्यक्ष हो । तर, उहाँले प्रचण्डलाई पनि बनाएर आउनुभयो । वृहत्तर कम्युनिस्ट एकताका लागि भनेर हामीले स्वीकार गर्यौँ । यसको उत्तरदायित्व हामीले लिने कि, केपी ओलीले ?
सर्वोच्च अदालतको फैसलाले नेकपाबाट एकैपटक एमाले र माओवादी बनाइदियो । अनि म एमाले भइनँ । केपी ओली पनि परिणत हुनुभयो । त्यसैले को फर्कियो र को गयो भन्ने सवालै छैन । नेकपा एकैपटक उहाँले सकिदिनुभयो । एमाले अदालतले ब्युँताइदियो ।
केपी ओलीले त अब पनि अल्पमतमा पर्ने गल्ती गर्दिन भनिसक्नुभएको छ । तपाईंहरूलाई ठाउँ होला र ?
यस्तो प्रवृत्तिविरुद्ध त लडिन्छ । जुधिन्छ । उहाँसँग बहुमत छ । जेठ २ मा जाँदा पनि उहाँसँग बहुमत कायमै रहन्छ ।
उहाँसँग बहुमत भए तपाईंहरूलाई बाहिरै राखेर निर्णय गर्नुपर्ने बाध्यताचाहिँ किन आयो त, केपी ओलीलाई ?त्यो त केपी ओलीलाई नै सोध्नुपर्छ । माओवादीबाट २३ जना साथीहरू रहनुभएको छ । उहाँहरूको व्यवस्थापन हाम्रो पनि जिम्मेवारी हो । अर्को पार्टी छाडेर आएका नेताहरू हुनुुहुन्छ भने पनि उहाँहरूको व्यवस्थापन हुनुपर्छ । त्यो सिंगो नेकपा (एमाले)को दायित्व हो । व्यक्ति विशेष कसैको दायित्व होइन ।
एमाले पनि लामो इतिहास भएका, तर केन्द्रीय कमिटीमा पर्न नसकेकाहरू पनि हुनुहुन्छ । तिनीहरूको पनि व्यवस्थापन हुनुपर्छ । हामी सबैको दायित्व हो । सबैले मिलेर गर्नुपर्छ । २३ जनालाई नगरौँ भनेको छ र ? विधिपद्धति त होला नि । जे गर्नुपर्ने हो, विधि, पद्धतिमा अडिएर गरौँ ।
गुटगत कार्यक्रम, आन्दोलनको प्रतिस्पर्धाले पार्टी एकताबद्ध रहला त ?
अब अध्यक्षले विवेक पुर्याउनुभएन, उहाँले विभाजनतिर लैजानुभयो भने पार्टी फुट्छ । तर, हाम्रोतर्फबाट पार्टी विभाजित हुँदैन । हामी पार्टी विभाजन हुने कुनै पनि काम गर्दैनौँ । गर्न दिँदैनौँ ।
तर, उहाँले कारबाहीको डण्डा चलाउनुभयो भने तपाईंहरू विभाजनकै बाटोमा हिँड्न पर्ला नि !
यसको जिम्मा त केपी ओलीले नै लिनुपर्यो ।