site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अप्ठेरोमा देश, पीडामा जनता

‘कथित’ राजनीतिले कुन कोल्टो फेर्ने हो निश्चित छैन । निश्चित हुन थप केही दिन कुर्नुपर्ने जस्तो छ । यी पंक्ति प्रकाशित हुँदासम्म फरक परिणाम आए बेग्लै तर अहिले राजनीतिकर्मीदेखि विश्लेषकसम्मले प्रणाली र संविधान नै अप्ठेरोमा फसेको बताइरहेका छन् । संविधान अप्ठेरोमा छ भने त यो देशकै अप्ठेरो हो । यस  स्थितिको सर्जक त्यही राजनीति भनिएको उहापोह हो भने भोक्ता वा पीडित नेपाली नागरिक नै हुने हो ।

किन आयो यो परिस्थिति ? यसको मुख्य जिम्मेवार को ? समग्रमा जिम्मेवार सरकारधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हो । ती अहिले अदालतको फैसलापछि आआफ्नो घर फर्किएर एउटा एमाले र अर्को माओवादी केन्द्र बनेका छन् । आगामी दिनमा अर्कै नामको न्वारन कुनैले गरे अनौठो हुनेछैन । नेकपा न ऋषि कट्टेलको वैधानिक अधिकारमा गएको हो । 

सरकारमा पुग्दा एमाले र केन्द्रको गठजोड थियो । पछि दुवैले एकता नै गरेर नेकपा बनाए । एमाले, केन्द्र दुवै बिलाए । पहिले नै कट्टेलले पाएको नेकपा नामलाई सत्ताको बलमिच्याइबाट यिनले हत्याए । निर्वाचन आयोग पनि सायद यतिबेला डरायो र मिल्दो नाम अर्को वा सरकारी पक्षलाई दियो । अब सर्वोच्च अदालतले सच्यायो र एमाले अनि केन्द्रलाई पहिचानहीन पनि हुन दिएन । भन्यो – तिमीहरुको पहिचान पुरानै स्थापित भयो । आगे के नाम धारण गर्ने तिमीहरुकै मर्जी !   

Prabhu Bank
Agni Group
NIC Asia

नेकपाभित्र सरकारी सत्ता र स्रोत वा पद, पैसाको प्राप्तिमा उब्जाइएको आन्तरिक झगडाले देश, व्यवस्था र संविधान निर्दिष्ट परिधिलाई पनि यतिबेला गहिरोसँग घायल बनाएको छ । यो कम्युनिस्टहरूको नियत हो कि नियति ? स्पष्ट भएको चाहिं चर्को कुरा गर्ने यहाँका कम्युनिस्टहरु अहिलेसम्म राज्य सञ्चालनको खुबी राख्दैनन् भन्ने हो । यही लोलुप झगडाले अर्कोबाट हरण गर्न खोजिएको नेकपा भन्ने नामको दल पुनः विभाजित भएको छ र यथास्थानमा आएको छ ।

तत्कालीन नेकपाका अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी शैलीले राजनीति स्थितिलाई बिथोलेकोे हो । जतिसुकै बदनामी भए पनि, लोकतान्त्रिक विधि र नैतिकताको जतिसुकै मान मर्दन गरेर भए पनि  पदको आशक्तिले ग्रस्त कम्युनिस्ट नेता खड्गप्रसाद ओलीले घर समाल्न सकेनन्, पदको मोह पनि त्याग्न सकेनन् । पदको लागि सबै वैध, अवैध बाटोमा हिँड्न एमाले अध्यक्ष ओलीलाई सायद केही लज्जाबोध देखिँदैन । 

Global Ime bank

सरकारमा संयुक्त रहँदा कम्युनिस्टबीचको झगडामा देशप्रति कतै संवेदना देखिएन, छैन । जनताको मर्म र दर्दप्रति यिनीहरूमा कतै सहानुभूति देखिएन । प्रणाली वा लोकतन्त्र त मानौ कुनै ‘ठगी’ खाने उपायजस्तो बनाए यिनले । देशप्रति यति ठूलो घात वा संवेदनहीनताको अर्को नमुना आधुनिक नेपालको इतिहासमा पाइदैन । जे नहोस् भनिन्थ्यो वा नहुनुपर्ने थियो, त्यही भयो, त्यही गरे सरकारी कम्युनिस्टले ।

मूली भएको दाबा गर्ने तर घर झगडा मिलाउन नसकेको रिस कम्युनिस्ट प्रधानमन्त्री ओलीले देशमाथि पोखे, जनतामाथि थोपरे र संविधानको बलात् हरण गर्न उद्यत देखिए । जसको परिणाम उनले संसद् विघटन गरेर देखाए । धन्न, ‘पौराणिक कथाको बराहले पृथ्वीको उद्धार’ गरेजस्तै सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद् विघटन बदर गरिदिएर संविधान र प्रणालीलाई बाटोमा ल्याउने मौका दियो । संसद्, सांसद, राजनीतिक दल र स्वेच्छाचारी बनेको सरकारलाई सच्चिने वा समस्याको समाधान खोज्ने अवसर पनि सर्वोच्चले दिएको हो । 

यसपछि पनि दृश्य सफा देखिँदैन । समाधान खोज्ने उपायमा हलो अड्किएको छ, अड्काइएको छ । किन ? पक्का पनि देशको समस्यालाई निकास दिन यसरी अड्के, अड्काइएको होइन । यहाँ पनि उही सरकारी सत्ता, पद, अवसर र पैसाको खेल जारी छ । यही जारी खेल निकासको वाधक हो । फोहरी खेलमा दलहरू को, कहाँ रहन्छन् ? जनताले निरीक्षण, परीक्षण गर्ने अवसर पनि हो यो । 

निकासको लागि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसतिर धेरैको ध्यान केन्द्रित छ । कुरा सुन्दा निकास दिन कांग्रेस तयार पनि भएको छ । तर, सांसद्को संख्याले उसको एकल प्रयत्न काफी छैन । अरूको सहमति, समर्थन आवश्यक छ । यही आवश्यकता बुझेका अरूहरू समाधानको साँचो मुठीमा बाँधेर ‘बार्गेनिङ’को रणनीति चालिरहेछन् र प्रधानमन्त्री ओली अरूको यही स्वार्थको अर्थ बुझेर आफूलाई अकण्टक ठानिरहेका छन् ।

सरकारीबाहेक सबै राजनीतिक दल कम्युनिस्ट प्रधानमन्त्री ओलीको स्वेच्छाचारिताले सीमा नाध्यो भन्छन् । उनलाई पदबाट हटाउनै पर्छ भन्नेमा पनि एकमत भएको सुनिन्छ, पढिन्छ तर यसको लागि सहज उपायभन्दा लेनदेनमा बढी ध्यान दिइएको कारण देश नै ‘किं कर्तव्यविमूढ’ स्थितिमा पुगेको, पुर्याइएको छ । 

यतिबेला जनता समाजवादी पाटी (जसपा)को हातमा समाधानको साँचो छ भन्ने धेरैको मत आएको छ । माओवादी केन्द्र सरकार परिवर्तनमा तयार भनिन्छ । नेपाली कांग्रेस र सभापति शेरबहादुर देउवाले जनमतले प्रतिपक्षमा बस्न भनिए पनि जटिल परिस्थितिको निकासको लागि आफ्नो उपयोगिता भए योगदान गर्न तयार रहेको भन्दैछन् । आखिर हलो अड्कियो कहाँ ? यहाँ एमालेभित्रकै माधव नेपाल पक्षको विद्रोहको निर्णायक आकार आइसकेको छैन ।  

प्रधानमन्त्री ओलीको विघटन र कार्यशैलीलाई अलोकतान्त्रिक र अवैध ठहर गरेको जसपामा दुई धार स्पष्टै देखिएको छ ।

एकथरी जसपा कम्युनिस्ट नेता ओलीतिर लहसिन खोज्दै छ र उनी सरकारी सत्ता बाँडफाँटको प्रलोभन बाँड्न चुक्ने छैनन् र जसरी पनि पद सुरक्षित गर्नु यतिबेला उनको मूल ध्येय बनेको छ । अर्को अवैध र स्वेच्छाचारी निर्णय गर्ने सरकारलाई समर्थन हुन सक्दैन भनिइरहेको छ । आन्तरिक द्वन्द्वमा रहेको जसपाले के गर्छ ? अहिले सबैको हेराइ जसपाको नियततिर पुगेको छ । 

पुनस्र्थापित संसद्को बैठक राम्ररी सञ्चालन हुनसकेको छैन । सभामुख सूचना टाँस्दै बैठक सार्न वाध्य छन् । सरकार संसद्लाई ‘बिजनेस’ दिँदैन । संविधान प्रतिकूल भनिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस गर्न खोजेर सरकार संसद्लाई अड्काउने प्रयत्नमा छ । यस्तैमा एकाएक कुनै दिन प्रधानमन्त्री र राष्ट्रपतिले संसद् बैठक स्थगित गरे भने राजनीति अझै लामो अन्योलमा जानेछ । 

यस्तो अवस्था अन्त्यको लागि कि त अहिलेको सरकारको नेतृत्वलाई निरन्तर जाओस् र खाओस् भनेर आँखा चिम्लनु पर्यो । हैन, सरकार बदल्ने हो भने अरू सबै दल अर्थात् काँग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त निर्णायक भूमिका आवश्यक भयो । वा एमाले अध्यक्ष ओली जे गर्छन्, सबै तमासा हेरेर बस्नु पर्यो । देखिन्छ, जसपाले खुट्टा कमाई रहेछ । ऊ यतिबेला सम्भव, असम्भव बार्गेनिङको सपनामा छ । 

लाग्छ, जसपा देशलाई निकास दिने मुडमा छैन । कहिले उसका आफ्नै केही नेता प्रधानमन्त्रीको दाबा गर्न पुग्छन् । कोही बालुवाटारमा गोप्य वार्तातिर । अर्काथरी बूढानीलकण्ठ, पेरिसडाँडा र सँगै बालुवाटारतिर । सबै पद र माग दाबा गर्न मिल्छ,तर दलीय संरचनाले पनि सुहाउने कुरा गर्नुपर्ने हो । माग सम्बोधन गर्न परिस्थिति अनुकूल हो वा होइन ? बुझ्नुपर्ने हो । सधैँ अरूको सहयोगी वा तिनकै शब्दमा पुच्छर किन हुने भन्ने जसपाका केही नेताको तर्क छ । पुच्छर हुनु पर्दैन, जनमत जितेर शिर हुन कसले रोक्न सक्छ र ? 

पहिलो ध्यान देश, जनता र लोकतान्त्रिक प्रणालीप्रति संवेदनशील बनाउनु पर्यो । त्यसपछि सत्ता र स्रोत । दलहरूको दायित्व यही नै होला । यो अप्ठेरोमा पनि दलका नेताहरू चुके, भागबण्डामा नै अधिक अलमलिए भने देश नै अप्ठेरोमा पर्ने निश्चित छ । यसको पीडा सबै नेपालीले भोग्नुपर्ने हुन्छ । यस्तो चाहना कुनै पार्टीले राखेको होला भन्ने लाग्दैन । राख्न मिल्छ र ? सोचौँ हामी वा हाम्रा राजनीतिक दल देश र जनताको सेवा गर्ने सहयोगी बन्छौँ कि बन्दैनौ ? जति अड्के अड्काइएको भए पनि अन्ततः यसरी नै देश सोच्दा कठिनाइको सहज निकास निकट नै पो छ कि ? आशा लाग्छ ।                 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  ०६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC