site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सम्झनामा राजाको ‘कु’ र गिरिजा बाबु

देशभरका विभिन्न एफयम रेडियोमार्फत प्रसारण भइरहेको "समय चक्र" रेडियो कार्यक्रमका लागि नेकपा (एमाले)का नेता केपी ओलीसँग मैले लिएको अन्तर्वार्ता बज्न पाएन । मोफसलमा पठाउन रेकर्ड गरिएको अन्तर्वार्ताको सीडी लिएर काठमाडौं एअरपोर्ट जाँदै गर्दा बाटोमै सूचना प्राप्त भयो - राजा ज्ञानेन्द्रले "कु" गरे । अब के हुन्छ ? भनेर तत्काल नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई भेट्न उहाँको निवास महाराजगन्ज  पुग्दा वरपर सशस्त्र प्रहरीह तैनाथ थिए । 

तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते  मुलुकको शासन व्यवस्था आफ्नो हातमा लिएसँगै  नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई पनि नजरबन्दमा राखिएको थियो । परिवारका सदस्यबाहेक बाहिरी मानिसको निवासमा प्रवेशमा रोक लगाइएको थियो। त्यहाँ प्रवेश नपाएपछि कोइराला पुत्री नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाको निवास मण्डिखाटार पुगेको थिएँ ।

त्यहाँ  सुजाता कोइराला, पूर्वराजदूत सुरेश चालीसे र स्वयं म (प्रकाश पोखेल) बसेर विचार विमर्श गर्यौँ । एघारौँ महाधिवेशनको तयारी गरिरहेको बेला पार्टी सभापतिलाई नजरबन्द गरेपछि देशव्यापीरूपमा नेता, कार्यकर्तालगायत जनता पनि ज्ञानेन्द्रको कदमप्रति अन्योलग्रस्त थिए । राजाको कदमको विरुद्धमा आन्दोलन चर्काउन अभिप्रेरित गर्दै सन्देश दिनु त्यतिबेलाको आवश्यकता हो भन्ने हाम्रो निष्कर्ष रह्यो । पार्टी सभापति गिरिजाबाबुको तर्फबाट प्रेस विज्ञप्ति जारी गर्ने निधो गरियो । प्रेस विज्ञप्ति मस्यैदा री सुजाता कोइरालासँग भएको गिरिजा बाबुको हस्ताक्षरको स्ट्याम्प लगाएर विभिन्न संचार माध्यममा दिने निधो गरियो ।

Prabhu Bank
Agni Group
NIC Asia

गिरिजा बाबुको आवाजमा ज्ञानेन्द्रको कदमको विरुद्ध सन्देश सम्प्रेषण गर्न सके अझ प्रभावकारी हुने ठानेर मैले आफ्नो रेकर्डरमा केही प्रश्नहरू  रेकर्ड गरेँ । अब कसरी प्रश्नहरुको जवाफ गिरिजाबाबुबाट लिने भन्ने समस्या उत्पन्न भयो । टेलिफोन सबै अवरुद्ध थियो । उक्त दिन आफ्नो परिवारका सदस्यलाई भेट्न दिन्छ भन्ने सुचना पाएसँगै तत्कालीन अवस्थाको प्रतिक्रिया लिनेगरी प्रश्नहरु रेकर्ड गरिएको रेकर्डर लगेर गिरिजा बाबुको आवाज रेकर्ड गराउन सुजातालाई अनुरोध गरेँ । चेकजाँच गर्दा पुलिसले रेकर्डर खोस्न सक्ने आशंका पैदा भयो ।

गुप्ताङ्गमा लुकाएर भए पनि यो काम गर्नुपर्छ भनेर सुझाएअनुसार नेत्री कोइरालाले गिरिजा बाबुको संदेश रेकर्ड गराएर ल्याउन सफल हुनुभएको थियो । त्यतिबेला नेपाली सञ्चार गृहहरूलाई राज्यले आफ्नो कब्जामा लिइसकेको थियो । गिरिजा बाबुको संदेश नेपाली संचार माध्यमबाट प्रेषित गर्ने सम्भावना थिएन ।

Global Ime bank

अब यो सन्देशको क्यासेट रेकर्ड गरेर देशव्यापीरूपमा वितरण गर्नुपर्छ भन्ने निर्णयसँगै हजारौं क्यासेट तयार गरी नेता कार्यकर्तामार्फत विभिन्न जिल्लामा पठाएर राजाको कदमविरुद्ध  जनतालाई आन्दोलित बनाउने काम भएको थियो । सरकारले  नेपाली मिडियालाई  आफ्नो  नियन्त्रणमा राखेको भए पनि  बीबीसीलगायत अन्तर्राष्ट्रिय संचार माध्यमलाई भने समाचार सम्प्रेषणमा रोक लगाउन सकेको थिएन ।

बीबीसी नेपाली सेवामार्फत गिरिजा बाबुको सन्देश सम्प्रेषण  गराउने उद्देश्यले  क्यासेट बोकेर मसिधै बीबीसी नेपाली सेवामा कार्यरत सुशील शर्माको घर धापासी पुगेको थिएँ ।  तर, उनीसँग भेट भएन । (गत साता उनको निधन भएको छ । उनिप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु) बरु उनको घरमा बेलायती समाचार एजेन्सी रोयटर्सका नेपाल प्रतिनिधि गोपाल शर्मासँग भेट भयो। "सुशील जी हिमाल खबर पत्रिकाको पुल्चोक अफिसमा राजेन्द्र दाहालसँग हुनुहुन्छ" भन्ने सूचना पाएपछि म सिधै त्यहाँ पुगेको थिएँ ।  "सुशीलजीलगायत अन्तर्राष्ट्रिय मिडियाका सबै पत्रकार याक एन्ड यती होटलमा जम्मा भएका छन्" भन्ने सूचना राजेन्द्र दाहालबाट प्राप्त भएसँगै म तत्काल त्यहाँ पुगेँ । सुशील शर्मासँग त भेट भएन तर बीबीसी नेपाली सेवाका अर्का एक जना संवाददाता नवीन सिंह खड्का भेट भए । राजाको कदमविरुद्धको प्रतिक्रिया  रेकर्ड गरिएको नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको संदेश आफूले लिएर आएको जानकारी गराउँदा "त्यस्तो सामग्री हामीले प्रसारण गर्न मिल्दैन । आवश्यक परे हामी आफैँ पनि अन्तर्वार्ता  लिन सक्छौ नि " भन्ने उत्तर उनिबाट आयो । सञ्चार सम्पर्कसमेत टुटाएर नजरबन्दमा राखिएका गिरिजाप्रसाद कोइरालाको अन्तर्वार्ता लिने काम त्यतिबेला सम्भव थिएन ।

मसँग गिरिजा बाबुको संदेश रहेको सूचना अन्तर्राष्ट्रिय मिडियाका प्रतिनिधि माझ फैलियो । बीबीसी  हिन्दी सेवाका एक जना प्रतिनिधिले मलाई आफ्नो कोठामा निम्त्याएर भने "ह्वाट इज योर कस्ट फर दिस रेकर्डेड म्यासेज ?"  तत्काल मैले जबाफ दिएँ "आइ डन्ट  निड मनी, यु जस्ट हेल्प टु रिभाइव डेमोक्रेसी इन नेपाल " । 

उनले खुसी हुँदै निःशुल्क प्राप्त गरेको गिरिजा बाबुको सन्देश बीबीसी  हिन्दी सेवामा बजाए । बीबीसी नेपाली सेवाले बजिसकेको त्यही गिरिजा बाबुको आवाज आफ्नो समाचारमा बजाएको थियो। भ्वाइस अफ अमेरिका, आजतक, अलजजिरा, रोयटर्सलगायत धेरै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उक्त सन्देश मसँग लिएर आआफ्नो प्रमुख समाचारको रूपमा प्रेषित गरेका थिए । 

नजरबन्दमा भएका नेताको अन्तर्वार्ता कसरी अन्तर्राष्ट्रिय मिडियामा पुग्यो भनेर पुलिसले अनुसन्धान तीव्र बनाएको सूचना एकजना उच्च प्रहरी अधिकारीबाट प्राप्त भएपछि पक्राउ परिने डरमा केही समय भूमिगत शैलीमा आफ्नो सक्रियता बढाएको थिएँ ।  अर्धभूमिगत अवस्थामा रहेका नेपाली कांग्रेसलगायत अन्य राजनीतिक दलका नेतालाई अन्तर्राष्ट्रिय सन्चार माध्यमसँग अन्तरक्रिया गराउनु मेरो दैनिकीजस्तै बनेको थियो। त्यसबीचमा सुजाता कोइराला, अर्जुननर्सिङ केसी, डा. मीनेन्द्र रिजाल, शंकर पोख्रेललगायत सम्पर्कमा रहेका अधिकांश नेतालाई अन्तर्राष्ट्रिय मिडियासँग अन्तरक्रिया गराउने भूमिका खेलेको थिएँ ।

नेविसंघका मित्र डिल्ली गिरीमार्फत राजाको कदमविरुद्ध नेपाली युवाको अवाज पनि अन्तर्राष्ट्रिय मिडियामार्फत सम्प्रेषण गरिएको थियो । अन्तर्राष्ट्रिय मिडियामा दलका नेतालाई सम्पर्क गराउँदा गराउँदै रातको एक बजिसकेको थियो । याक एन्ड यती होटेलबाट पैदल हिँडेर पुल्चोकतर्फ आफ्नो डेरामा जाँदै गर्दा सिंहदरबारको मूल गेटअघि सेनाले मेरो झोलाको खानतलासी लियो । झोलामा गिरिजा बाबुसँगको अन्तर्वार्ताको क्यासेट थियो । त्यो देखेर यो के हो?  भनी सेनाले सोध्यो । "मैले गीतको क्यासेट हो" भनेपछि त्यहाँबाट उम्किएको थिएँ । धन्न प्रेस विज्ञप्ति बाँडी सकिएको थियो । प्रेस विज्ञप्ति भेटेको भए मलाई पक्राउ गर्थ्यो होला ।

हस्याङ फस्याङ गर्दै डेरातर्फ दौडँदै गर्दा थापाथलीको पुलमा कुकुरले झम्टिहाल्यो। डेरातिर हिँडेको म इन्जेक्सन लगाउन टेकु अस्पतालमा पुगेको थिएँ । पुलिसको निगरानी बढेसँगै सुजाता कोइराला भने भूमिगत शैलीमा भारततर्फ निर्वासित भइन् । 

मुलुकमा लोकतन्त्र संकटमा परेको बेला गिरिजा बाबुजस्तो नेताको अभाव खड्किएकोले यो संस्मरण प्रस्तुत गर्ने जमर्को गरेको हो । लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकोले जुनसुकै बहानामा पनि लोकतन्त्रमाथि वक्रदृष्टि लगाउनेहरूलाई परास्त गर्ने हिम्मत लोकतन्त्रवादीमा हुनुपर्छ ।

पछि २०६२\६३ को आन्दोलनताका पाटन कृष्ण  मन्दिर परिसरमा गिरिजा बाबुसँग भेट हुँदा आफूले राजाको कदमविरुद्ध अन्तर्राष्ट्रिय  संचार माध्यममार्फत पूरा गरेके भूमिका स्मरण गराउदा मलाई धाप मार्दै भन्नुभएको थियो - "त्यो सब तिमीले गरेको हो ? पछि किन भेटेनौ ? यु डिड अ ग्रेट वर्क ।  मौकामा हिरा फोर्नु भन्छन् नि यै हो " ।

आफूलाई वरिष्ठ पत्रकार ठान्ने केहीले नजरबन्दमा रहेका गिरिजा बाबुको अन्तर्वार्ता लिएर अन्तर्राष्ट्रिय सञ्चार माध्यमबाट प्रेषित गराएको भन्ने झुटको खेती गर्न भ्याइसकेका रहेछन् । विभिन्न भेटघाटमा म आफैँले थाहा पाएँ । आफ्नैअघि यस्तो झुट बोलिन्छ भने तथ्य नभेटिएका झुटा समाचार कति होलान् ? 

हाम्रो त एउटै उद्देश्य प्रजातन्त्रको रक्षा गर्नु थियो । त्यसैले झुटमा रमाउनेहरूसँग अल्झिएर आफ्नो समय बर्बाद गर्नु बेकार ठानियो । "पछि तिमी किन आएनौ ? मौकामा हिरा फोर्नु भन्छन् नि यही हो" भन्दै गिरिजा बाबुले मलाई मारेको "धाप" र उहाँको भनाइ नै मैले आफूले पाएको पुरस्कार ठानेको छु । 

जब जब चैत्र ७ गते नजिकिन्छ तब तब गिरिजा बाबुसँगको स्मरण ताजा बनिदिन्छ । विसं २०६६ साल चैत ७ गते दिवङ्गत भएका कोइरालाप्रति हार्दिक श्रद्धा सुमन !

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC