site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अब के हुन्छ ? 

सरकारी सत्ताको तानातानले ‘कथित’ राजनीतिमा अब के हुन्छ भन्ने प्रश्न सबैको मनमा छ यतिबेला । प्रश्नसँगै सम्भावनाको विश्लेषण पनि आआफ्नो सोचअनुसार हुने नै भयो । जटिल अवस्थामा सधैँ र सबै विषयमा ‘अब के हुन्छ’ भन्ने प्रश्न निरन्तर आइरहन्छ । तनहुँदेखि दाङ र नुवाकोटसम्मको फन्को घुमाइमा भएको भेटवार्तामा यस्तो प्रश्न जहाँतहीँ पाइयो । संक्रमणको चित्र विश्लेषण भने आआफ्ना थिए । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकारको प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा झन्डै दुईतिहाइ बहुमतको भार थेग्न नसकेर प्रतिनिधि सभा (संसद्) नै विघटन गरिदिए । त्यसबाट उब्जिएको अब के हुन्छ भन्ने प्रश्नको उत्तर सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद् विघटन गर्ने निर्णय बदर गरेर दिइसकेको छ । 

विघटनले सडकमा फैलिने द्वन्द्वको जोखिमलाई इजलासको न्यायिक फैसलाले संसद्को जिम्मा दियो र अब संसद्मा के हुन्छ भन्ने प्रश्न त्यतैतिर सर्यो । राष्ट्रिय राजनीतिमा उत्पन्न समस्याको समाधान संसद्बाट नै खोज्नु संसदीय प्रणालीको स्वाभाविक अभ्यास हो । अब के हुन्छ भन्ने प्रश्नको निकास पनि संसद्ले नै दिने हो । 

Prabhu Bank
Agni Group
NIC Asia

संसद् आफ्नो दायित्व निर्वाह गर्न असफल भयो भने त्यसका लागि न्यायालयको फैसला दोषी मानिदैन । संसद् नै असफल मानिनेछ । प्रधानमन्त्री ओलीदेखि सरकारी पदाधिकारीहरुले निकास रोक्न हलो अड्काएर सर्वोच्च अदालतको फैसलालाई दोषी ठहर गर्ने कुटिल अभिव्यक्ति दिन थालेका छन् । नैतिकताहीन र विधिविपरीत हथकण्डा अपनाएर सरकारी पदमा लिप्तहरुले जहाँतहीँ यस्तै अराजनीतिक दम्भ नै व्यक्त गर्छन् ।      

नेकपाको ओली सरकारले संसदीय लोकतान्त्रिक पद्धति वा संविधानले निर्दिष्ट गरेको शासकीय प्रणालीलाई झन्डै हत्या गरेको थियो । अझै पनि यो प्रयत्न जारी छ । सरकारको नेतृत्व आफ्नो मात्रै कमाइ, अधिकार र पौरख परिभाषित गर्ने नेकपा ओली समूहका अध्यक्ष केपी शर्माले पदत्याग नगर्ने संस्कार प्रदर्शित गर्दैछन् । राष्ट्रपतिको एकपक्षीय सहयोग पाएका प्रधानमन्त्री ओलीले अन्तिम अस्त्रको रुपमा अन्ततः संकटकाल घोषणा गर्ने सम्भावना पनि छ ।   

Global Ime bank

नेकपाको झगडाले उत्पन्न गरे गराइएको राष्ट्रिय संकटलाई संसदीय व्यवस्थाको असफलता देख्ने केही नियोजित अल्पज्ञ विचार पुनः सतहमा देखिएका छन् । राज्य सञ्चालनमा रहेको दलको नेतृत्वको गैरजिम्मेवारी, अप्रजातान्त्रिक प्रवृत्ति, बेइमानी र असफलतालाई बहुदलीय संसदीय प्रणालीमाथि थोपर्ने हतारो मुलुकलाई अर्को दुर्घटनामा धकेल्ने षड्यन्त्र निर्देशित मनोवृत्ति हो । 
नेपालको भूराजनीतिक स्थितिमा संसदीय प्रणालीको विकल्प देखिँदैन । लोकतान्त्रिक संसदीय प्रणाली सबै विचारप्रति उदार र त्यत्तिकै समावेशी पनि छ । खाँचो प्रणालीलाई सही दिशामा चलाउने जिम्मेवार नेतृत्वको हो । दोषी संसदीय प्रणाली नभएर यसलाई प्रयोग, उपयोग र सञ्चालन गर्ने नेतृत्वको कार्यशैली हो । नेतृत्वको दोष र दुष्प्रवृत्तिलाई हतियार बनाएर जनचेतनालाई बर्गल्याउन खोज्नु लोकतान्त्रिक चेतनामाथि प्रहार गर्ने  अधिनायकवादी उद्देश्य निहित स्वार्थ प्रेरणा हो । 

समय क्रममा अवसर पाएका सबै राजनीतिक दल सरकारमा पुगेका छन् । ती सबैले बाटो छोडेर धेरथोर गल्ती गरेका हुन् ।

बहुदलीय संसदीय प्रणालीलाई दुस्मन ठान्नेहरुले तिनै जानी नजानी भए, गरिएका गल्तीलाई प्रजातान्त्रिक प्रणाली नै असफल भएको प्रचारवाजी गर्ने मसला बनाएका हुन् । यद्यपि, लोकतन्त्रलाई असफल भन्नेहरुसँग नेपालको सन्दर्भमा अर्को उपयुक्त राजनीतिक विकल्प छैन । नारा जे दिए पनि । 

स्पष्ट भइसकेकै छ – जनताको बहुदलीय जनवाद र नयाँ जनवादी वा यस्तै अधिनायकवादी व्यवस्थाको राग अलापेर थाकेका र त्यो विकल्प साकार नहुने देखेकाहरु अन्ततः संसदीय प्रणालीमै घुस्रन आएका हुन् । तैपनि यही प्रणालीलाई घात र दुरुपयोग गर्न यिनीहरु नै अझै उद्यत देखिन्छन् । बहुदलीय, संसदीय, लोकतान्त्रिक प्रणालीलाई सबैभन्दा बढी शोषण र बदनाम गर्ने दुष्प्रयत्न पनि कम्युनिस्टहरुले नै गरेका छन् । जंगल र सडकबाट होस् वा संसद् र सरकार जहाँ भए पनि यस प्रणालीलाई अप्ठेरोमा पार्ने नियोजित दुष्प्रयास कम्युनिस्टले नै बढी गरेको इतिहास साक्षी छ । 

राजनीतिक स्थिरता र विकासको नारा दिएर संसद्मा पाएको झन्डै दुईतिहाइ समथर्नलाई लाञ्छित, खण्डित र निमोठेर तानाशाही उद्देश्य पूर्ति गर्न खोज्ने नेकपा ओली सरकारले डा. बाबुराम भट्टराई प्रस्तुत प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीको विकल्प कल्पनालाई उत्तर दिइसकेको छ । संसदीय सन्तुलनलाई भत्काएर छाडा हुन खोज्ने कम्युनिस्ट प्रधानमन्त्री ओली वा कुनै अर्को व्यक्ति प्रत्यक्ष निर्वाचित भएको भए अहिले तानाशाही अधिनाकवाद स्वीकार गर्नु सिवाय नेपाली जनताले अदालत र संसदतिर हेर्न पाउने अवसर पनि खोसिएको हुनेथियो । 

घटनाले प्रत्यक्ष निर्वाचित कार्यकारीले आफ्नै अनुकूल संविधानलाई लतारेर चाहुन्जेल सरकारमा बस्ने देखायो वा थेगी नसक्ने ठूलो जनविरोधले मात्र त्यस्तो तानाशाहलाई फाल्न सम्भव हुन्थ्यो । प्रत्यक्ष निर्वाचित कार्यकारी तानाशाह जन्मने बाटो किन हो भने संविधानमा जे व्यवस्था गरिए पनि उसले ‘अन्तरनिहित अधिकार’ पाएको भन्दै आफ्नै दीर्घसत्ताको लागि प्रयोग गर्ने रहेछ ।

लोकतन्त्रअनुकूल नदेखिएको नेपाली राजनीतिको प्रवृत्तिलाई कम्युनिस्ट प्रधानमन्त्री ओलीले थप उद्घाटित गरिदिएकै छन् । 

संसदीय प्रणालीको विकल्पमा भनिने प्रत्यक्ष निर्वाचित कार्यकारी नेपालको भूराजनीतिक स्थिति प्रतिकूल हुनेछ । यस्तै स्थिरताको नारा दिएर हुने प्रत्यक्ष निर्वाचित नेपालको शक्तिशाली कार्यकारी भारत, चीन वा युरोपश्चिमाबीच कुन पक्षको व्यक्ति जित्ने, जिताउने उद्देश्यले प्रत्यक्ष र परोक्ष प्रतिस्पर्धा अन्तर्राष्ट्रिय तहमा पनि पुग्नेछ । 

भू रणनीतिक कारणले नेपालमा वैदेशिक चलखेल प्रत्यक्ष जस्तै अनुभव बुझ्ने सबैले गरेकै छन् । प्रत्यक्ष निर्वाचित कार्यकारी समावेशी प्रणालीविपरीत पनि हुने र अन्ततः राष्ट्रघातमा परिणत हुने निश्चितै छ । देशको बहुल चरित्र र अन्ततः राष्ट्रिय अस्तित्वलाई नै धरापमा पार्ने प्रस्ताव किन डा. बाबुराम भट्टराई र कम्युनिस्ट(नेकपा) ले गरेका हुन् ? स्थिरताको नारा दिइएको तर उल्लिखित जोखिमको सम्भावनालाई सोची हेर्दा बुझ्न चाहिँ त्यति गाह्रो लाग्दैन । 

अब के हुन्छ ? देशको बहुल चरित्र एवं संसदीय, लोकतान्त्रिक प्रणालीप्रति प्रहार बढाइने देखिँदैछ । वन, सडक र केही नियोजित विचार यतैतर्फ लक्षित भएर थपिँदै आएका छन् । यो देशको सेवा हो कि अरु कसैको वा अधिनायकवादी तानाशाहीको प्रशस्ति हो कि के ? तर, बेग्लाबेग्लै भए पनि कम्युनिस्टहरुको यसमा एक स्वर बन्दैछ । कतै नेकपाको कथित झगडामा पनि संसदीय लोकतन्त्रलाई असफल बनाउनेमा दुरभिसन्धि वा मिलेमतो छ कि ? घटना प्रवृत्तिले आशंका बढे, बढाएकै छ । 

‘प्रजातान्त्रिक विचार समाज’को दाङ जिल्ला अधिवेशन तथा लुम्विनी प्रदेश साधारण सभामा पुग्दा नारायणगढ र बुटवलमा भएका भेटघाटमा अब के हुन्छ ? पहिलो प्रश्न हुन्थ्यो । सम्भावना खोतलिन्थ्यो । सबै अनिश्चित, अँध्यारो देखिन्थ्यो । फर्किएर नुवाकोटको विदुर र सुदूर उत्तरको किम्ताङ पुग्दा पनि आउने यही प्रश्नमा सम्भावित उत्तरहरुको आकलन भयो । व्यक्तिगत कामले तनहुँ जाँदा पनि प्रश्न सँगसँगै थिए । 

अब के हुन्छ ? संसद्ले के गर्छ ? सर्वोच्च न्यायालयले बचाइदिएको संसदीय लोकतान्त्रिक प्रणालीको मर्यादा र संविधानलाई बचाउने सार्वजनिक अपेक्षा पूरा गर्न संसद्ले सक्छ के ? त्यसपछि पनि प्रश्न ‘के हुन्छ?’ तेर्सिने नै छ । तर, संसदीय प्रक्रियाले निकास पाए त्यतिबेला चाहिँ उत्तर मिल्न सजिलो होला । फेरि पनि प्रश्न भने परिवेशले जन्माइरहला र उत्तर सधैँ यस्तै जटिल त नहोला नि !               
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  ०७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC