site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बोलीमा चिप्लिए पन्त : भन्छन्– मेरो आशय त्यस्तो थिएन, चोट पुगेको भए दुःख व्यक्त गर्छु 

काठमाडौं । सार्वजनिक अभिव्यक्तिहरूमा नेताहरू बारम्बार चिप्लन थालेका छन् । शब्दको ख्याल नै नगर्दा केपी शर्मा ओली नेतृत्वकै सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पदबाट हात धुनु परेको थियो ।

तर पनि नेताहरूको ‘चेत’ आएको देखिँदैन । शुक्रबार बेलुका ऋषि धमलासँगको अन्तर्वार्तामा पुष्पकमल दाहाल प्रचण्डले नेकपा, कांगे्रस र जसपासहितको सरकारबन्दा चीन र भारत दुवैलाई ‘कम्फर्टेबल’ हुन्छ भनेर अभिव्यक्ति दिएपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ ।

Argakhachi Cement Island Ad

त्यो नचिस्सिँदै ‘स्त्रीद्वेषी’ अभिव्यक्ति दिएको भन्दै दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य रघुजी पन्त आलोचनाको केन्द्रमा छन् । उनले केही दिनअघि सार्वजनिक कार्यक्रममा राष्ट्रियसभा सदस्य कोमल वली ‘गोरा पिडुँला देखाउँदै पोइल जान पाम’ भनेकै भरमा जिम्मेवारी पाएको अभिव्यक्ति दिएपछि उनी आलोच्य बनेका छन् ।

उनले बोलेका के थिए

छन् महिलाहरू अहिले केपीतिर पनि लागेका छन् । २० औं वर्षदेखि पार्टीमा लागेका महिलाहरू पनि छन् । तिनले त टिकट पनि पाएनन् । तिनले राष्ट्रियसभा पनि पाएनन् । कोमल वलीले यसो साडी सरक्स सर्क्याएर गोरा पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि सांसद त तिनै भइन् । कपाल फुलेर चाउरी परेका बूढी कामरेडहरू न एकचोटी राष्ट्रियसभाको सदस्य हुन पाएका छन । न केन्द्रीय कमिटीका सदस्य हुन पाएका छन् । उनी राष्ट्रियसभाको सदस्य पनि भइन् । अहिले केन्द्रीय कमिटीको सदस्य पनि भइन् ।

यसबारे प्रष्टीकरण दिँदै पन्तले आफ्नो आशय यस्तो नभएको जिकिर गरेका छन् । उनले आफूले बोलेको भिडियो पूरै नराखी, केही अंश मात्रै काटेर गलत मनशायले ‘भाइरल’ बनाइएको बताएका छन् ।

प्रस्टीकरण उनकै शब्दमा 
मैले बोलेको पूरै भिडियो राखिएको छैन । मैले बोलेको के थियो भने, नेकपाभित्र एउटा ‘पोइला जान पाम’भन्ने गीतजस्तो संस्कृति छ । अर्को, ‘उठ, जाग हे भोका नाङ्गा हो..’ भन्ने गीत गाउने संस्कृति छ । हामीसँग थुप्रै महिला हुनुहुन्छ । कोमल वली अहिले केन्द्रीय कमिटी सदस्यमा आउनुभयो । उहाँ केन्द्रीय कमिटीमा आउँदा पार्टीमा विचार दिन सक्नुपर्छ । नीति दिन सक्नुपर्छ । कार्यक्रमहरूमार्फत् आफ्ना दृष्टिकोणहरू दिन सक्नुपर्छ । केन्द्रीय कमिटीमा लैजाने, जिम्मेवारी दिने कस्तालाई ? प्रतिस्पर्धा गरेका मानिसहरू दिने होला । केन्द्रीय कमिटीमा भएका मानिसहरूको योग्यता, क्षमता के–के हो ? केपी ओलीलाई यस्ता सबै कुरामा चिन्ता छैन । केपी ओलीले यस्ता कुरामा विचार पनि गर्नुहुन्न । उहाँलाई को मन लाग्छ, को बनाउँदा खुसी लाग्छ, त्यस्ता मानिसहरूलाई पार्टी केन्द्रीय कमिटीमा ल्याउनुहुन्छ । महिलालाई ल्याउँदा पनि धेरै दुःख गरेको, कपाल फुलाएका, आजीवन यो पार्टीमा लागेका महिलालाई छाडेर आफूलाई मन पर्ने, मन पर्ने केन्द्रीय कमिटी सदस्य बनाउँदै हिँड्ने संस्कृतिले गर्दा नै नेकपा बिग्रन गएको हो । मैले भनेको सारमा यही हो ।
अगाडि बोलेको पनि काटेर पछाडि बोलेको पनि काटेर गलत मनशायले राखिएको छ । यो भिडियो राखिनुभन्दा अगाडि मलाई सोधिनु पनि पर्छ । सन्दर्भविहीन ढङ्गले अलिकति काटेर राखेर भ्रम पार्ने काम भएको छ । यस्तो कृत्यप्रति म खेद व्यक्त गर्छ । मेरो मनशाय न महिला, न पुरुष कसैलाई अपमानित गर्ने छैन । प्रतिक्रियामा जसरी, जुन ढङ्गले मलाई गाली गरिरहनुभएको छ । मेरो आलोचकहरूले जुन प्रकारको निन्दा गरिराख्नुभएको छ । म यसप्रति कुनै टिप्पणी गर्न चाहन्न । सार्वजनिक जीवनमा आलोचना पनि हुन्छ । प्रशंसा पनि हुन्छ ।
मैले कसैलाई अपमानित गर्ने ढङ्गले होइन कि, हामी ‘उठ, जाग हे भोका नाङ्गा..’ भनेर गीत गाउँथ्यौँ । तर पार्टीमा ‘पोइला जान पाम्’ जस्ता गीत–संस्कृतिले प्रश्रय पाउन थाल्यो । योग्यता, क्षमता, भएका थुप्रै मानिसहरू छन्, दुवैतिरको नेकपामा । जिम्मेवारी दिनेबेलामा त्यस्ता मानिसहरूलाई ध्यान दिनुपर्छ भनेर टिप्पणी गरेको केपी ओलीको प्रवृत्तिलाई हो । त्यसलाई बङ्ग्याएर जसरी राखिएको छ, त्यसप्रति मलाई दुःख लागेको छ ।

व्यक्तिगतरूपमा कसैलाई लक्षित गरेर भनेको होइन । मेरो भनाइले कोमल वलीलाई चोट पुगेको छ भने त्यसप्रति म दुःख व्यक्त गर्छु ।
 

प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १३:३०
प्रतिक्रिया दिनुहोस्