बाह्रखरी
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
विचार प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
विचार चाकरीको मनोविज्ञान प्रेमनारायण भुसाल
बाह्रखरी - बिहीबार, फागुन १३, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

विकासोन्मुख देशमा पद्धतिमा भन्दा नाता र चाकरीमा विश्वास गर्ने समुदायको संख्या बढी हुन्छ । यसैले भनसुनका आधारमा मात्र काम हुने अवस्था रहन्छ ।  नियम र पद्धतिबाट हुनै नसक्ने काम पनि चाकरीका कारण हुनसक्ने भएकाले मानिसहरू अनेक किसिमका नाता र सम्बन्ध जोडेर आफ्ना काम फत्ते गर्न लागेका हुन्छन् । नियमले काम नहुने अवस्थामा र एकले अर्कोलाई उछिन्ने होडमा भ्रष्टाचारले  फैलिने मौका पाउँछ । यसैले भ्रष्टाचारको मूल जडका रूपमा चाकरी मनोवृत्तिलाई  लिने गरिन्छ । केही मानिसले विभिन्न अवस्थामा शक्तिमा रहेका व्यक्तिको अनावश्यक प्रशंसा गर्ने र सहयोगका नाममा आफूलाई दासको श्रेणीमा राखेर व्यवहार गर्ने गरेका हुन्छन् । 

कर्मचारीतन्त्रमा चाकरी प्रथा भ्mयाङ्गिँदा जनताले दुःख पाउँछन् तर राजनीतिमै यस प्रथाले प्रश्रय पायो भने सत्तासीन व्यक्ति तानाशाह बन्ने तथा देश र जनताले दमन एवं पीडा सहनुपर्ने अवस्था आउँछ । भ्रष्ट नेतृत्वले बुद्धि गुमाएर उट्पट्याङ र मनगडन्ते कुरा गर्दा पनि बलियो समर्थनस्वरूप तालीको गडगडाहट पाउनुका पछाडि यही चाकरी मनोवृत्तिको भूमिका हुन्छ । आर्थिक अभाव वा अन्य समस्याका कारण सबैले स्वाभिमान गुमाउँदैनन् । तर, एकथरी मानिसहरू सबै सुविधा हुँदाहुँदै पनि केही व्यक्तिको चाकरी गर्न नपाउँदा रमाउनै सक्दैनन् । ‘क्लिप्टोमेनिया’का बिरामीलाई चोर्न नपाउँदा वा कुलतमा फसेका व्यक्तिलाई लागू पदार्थ नपाउँदाजस्तो तलतल हुन्छ असल चाकरीवाजलाई चाकरी गर्न नपाउँदा त्यसभन्दा कम कठिन हुँदैन । यसैले चाकरी व्यवहार र अन्य समस्याको उपज वा व्यक्तिको विवशता नभएर एउटा मनोसामाजिक रोग  हो ।

दास मनोवृति भएको व्यक्तिले आफूलाई कहिल्यै पनि पूर्ण मान्न सक्दैन । ऊ सधैँ हीनताबोधमा हुन्छ । यही हीनताबोधका कारण आफ्नो विषय वा क्षेत्रमा कमजोर हुने भएकाले कमजोरी लुकाउन ऊ चाकरीवाज बन्छ । कार्यक्षेत्रसँग सम्बन्धित कमजोरीबाट हुने क्षतिबाट आफूलाई जोगाउन यस्तो व्यक्तिले शक्तिशालीहरूको चाकरी गर्न सुरु गर्छ । स्वाभिमान निकै कमजोर भए पनि चाकरीवाजहरू चलाख भने हुन्छन् । उनीहरू छेपारोले रङ फेरे झैं समय र परिस्थितिअनुसार बेग्लाबेग्लै मालिकहरूका पाउ मल्न पछि पर्दैनन् । जहिले पनि शक्ति र सत्ताको वरिपरि रमाउने यस्ता व्यक्ति उच्चपदस्थ अथवा मालिकको नजिकमा रहँदामात्र आफ्नो अस्तित्व रहेको ठान्छन् । नत्र, उनीहरू आफूलाई निक्कै निर्बल र निरीह मान्छन्  । आफ्नो क्षेत्रमा  अयोग्य र अदक्ष चाकरीवाजहरू ईष्र्यालु एवं हीनताग्रन्थीले ग्रस्त हुन्छन्  । फलस्वरूप, उनीहरू सानो समूहमा ठूलो फूर्ति गरे पनि समुदायका अगाडि शिर ठाडो पारेर आफ्नो विचार प्रस्तुत गर्न सक्दैनन् । 

Agani Group

सहकर्मीले कुनै क्षेत्रमा सफलता पाउँदा चाकरीवाजको निद्रा हराउन सुरु हुन्छ । साथीसँगातीको प्रगतिका कारण उनीहरूमा अवसाद र हीनताभाव बढिरहेको हुन्छ । अब्राहम मस्लोको सन्तुष्टि सोपानअनुसार आधारभूत आवश्यकता पूर्ति भएपछि व्यक्तिले सुरक्षा र सामाजिक सम्बन्धन खोज्दै अन्तिममा अत्मअसन्तुष्टि खोज्छ तर दास मनोवृत्ति भएका व्यक्तिको सोपान उच्च हुन रहन सक्दैन । उनीहरूको आधारभूत आवश्यकता पूर्ति भइसकेपछि आफ्नो मालिक वा आफूले नायक ठानेका व्यक्तिको आशीर्वाद प्राप्त हुनासाथ क्षणिक सन्तुष्टिको तहमा पुग्छन् । यसैले चाकरीवाज कुनै पनि समस्या समाधान गर्ने चुनौती लिन तयार हुँदैनन् । बरु, परिस्थिति परिवर्तन हुनासाथ आफूलाई समायोजन गर्न विगतमा मालिक मानेको व्यक्तिको आलोचना गरी नयाँ मालिकका पाउ मल्न तयार हुन्छन् । उनीहरू नयाँ मालिकलाई रिझाउन आफ्ना पूर्व अन्नदातालाई नीचताको हदमै पुगेर दुव्र्यवहार गर्नसमेत तत्पर हुन्छन् । अतिवादिता चाकरी व्यक्तित्वको बाह्य सङ्केत हो पनि भन्ने गरिन्छ । यसैले यिनीहरू आफूले मानेको मालिकबाहेक अरू कसैको अस्तित्व देख्न चाहँदैनन् तर यस्ता मालिक भने समय र परिस्थितिअनुसार परिवर्तन भई नै रहन्छन् । अगाडि मीठो बोलेर मालिकलाई खुसी गराउनु चाकरीवाजको महत्त्वपूर्ण विशेषता हो । यसैले उनीहरू मालिकका अगाडि आफूलाई पूर्णरूपमा अर्पण गर्न तयार हुन्छन् । त्यसले उसप्रति मालिकको विश्वास बढ्छ ।

चाकरीवाजको उद्देश्य पूर्ति हुन भने मालिक पनि चाकरीप्रेमी हुनु आवश्यक हुन्छ । शक्ति र सत्तामा स्वाभिमानी र मानवीय भावनाले सम्पन्न विवेकी व्यक्ति भएमा चाकरीवाजले आफूलाई फैलाउने अवसर पाउँदैनन् । अक्षम हुँदाहुँदै पनि उच्च स्थानमा पुगेको व्याक्ति हीनताबोधका कारण प्रतिरक्षामात्र गर्न खोज्छ । उसलाई चाकरीवाजहरूले आश्रयस्थल बनाउन सक्छन् ।

sarbottam cement

चाकरीवाजको परिबन्दमा परेपछि व्यक्ति गलत सूचनाको सिकार हुने डर बढ्छ । अनि, योग्य व्यक्तिले अवसर नपाउने र उनीहरू अन्यायमा पर्ने जोखिम बढ्छ ।  

मानिस स्वभावैले प्रशंसाप्रिय हुन्छ । आफूले गरेका खराब कामको पनि प्रशंसा सुन्न चाहन्छ । चाकरीवाजको महत्त्वपूर्ण विशेषता आफ्नो मालिकको स्तुतिगान गर्नु हो । यसैले चाकरीवाजहरूलाई भजनमण्डली पनि भन्ने गरेको पाइन्छ । अयोग्य र खराब व्यक्तिलाई विश्वास गर्न थालेपछि व्यक्ति चाकरीवाजकै चक्रव्यूहमा पर्छ जसबाट बाहिर अउन उसलाई निकै कठिन हुन्छ । लामो समयसम्म भजनमण्डलीका गुमराहटमा परेपछि व्यक्तिमा प्रशंसा सुन्ने लत बस्छ । यसले उसको र सम्बन्धित संस्थाको समेत प्रगतिमा मन्दविषको काम गर्छ । अर्को किसिमले भन्ने हो भने चाकरीमा रमाउन थाल्नु भनेको त्यो व्यक्ति क्यान्सरबाट संक्रमित हुनुजस्तै हो ।

नेपाली समाजमा परिश्रमै नगरी अकस्मात् सम्पन्नतामा पुगेका व्यक्तिलाई ‘टुप्पाबाट पलाएको’ भन्ने गरिन्छ । चाकरीका सन्दर्भमा त यस्तै व्यक्तिहरू चाकरी गर्न तत्पर रहेका देखिन्छन् भने चाकरी खोज्ने सन्दर्भमा पनि अकस्मात् सम्पन्न बनेका वा आफ्नो अयोग्यता लुकाएर योग्य ठहरिएका मानिसहरू अग्रपंतिmमा देखिन्छन् । धेरैजसो चाकरीवाजहरू बाल्यकालमा बुलिङ वा सामाजिक बहिष्करणको सिकार भएका हुन्छन् । 

पद्धति र मूल्यलाई सधैँ खण्डित गराउने काम चाकरीवाज वा भ्रष्ट व्यक्तिबाट हुने भएकाले यस्ता व्यक्तिहरू समाज विकास र सामाजिक सदाचारका विरोधी हुन्छन् ।  समाजलाई अघि बढ्न नदिने भएकाले यस्ता व्यक्तिलाई समाजका एँजेरुका रूपमा समेत लिने गरिन्छ । स्वाभिमानी र योग्य व्यक्ति जन्मजात रूपमा चाकरीवाजको शत्रु हुने भएकाले समाजबाट सिर्जनशीलता, मानवीय मूल्य र पद्धति  समाप्त गर्ने दिशामा चाकरीवाजहरू सक्रिय रहेका हुन्छन् । आफूले गरेका कामको वस्तुगत आलोचना सहन गर्न नसक्ने भएकाले समाजमा उनीहरू असहिष्णु, अशिष्ट र असामाजिक प्राणीका रूपमा रहेका हुन्छन् । हरेक काममा विधि र नियमलाई भञ्जन गर्दै अघि बढ्ने भएकाले यिनीहरू बाहिरी रूपमा बलवान्जस्ता देखिए पनि मानसिक रूपमा निकै कमजोर हुन्छन् । वास्तविकता बाहिरिने हो कि भन्ने त्रासमा रहिरहेका यस्ता व्यक्तिहरू कुनै पनि समय गम्भीर किसिमको उदासीनता र आत्महत्याको सिकार हुन सक्छन् ।

दास मनोविज्ञान बाल्यकालबाटै सुरु हुने भएकाले बालबालिकालाई अरूलाई सेवा वा सहयोग गर्नु र चाकरी गर्नु फरक कुरा हुन् भन्ने बुझाउनुपर्छ । अरूले भनेका कुरा जे जस्ता भए पनि मान्नै पर्ने र तथाकथित आज्ञाकारिताका नाममा अन्यायलाई सहन सिकाउने अभिभावकले नजानिदो रूपमा आफ्ना बच्चालाई दास बन्न प्रेरित गरिरहेका हुन्छन् । यसो हुन नदिन बालबालिकालाई कुनै पनि विषयमा तर्क गर्न र उनीहरूको विचार अभिव्यक्त गर्न प्रेरित गर्नुपर्छ । कुनै पनि कामका कार्य कारण सम्बन्ध बुझ्न सहयोग गर्ने र विधि र पद्धतिलाई सम्मान गर्ने संस्कारको विकास गर्न सकेमा बालबालिका स्वाभिमानी बन्नेमात्र होइन चाकरी वा दास मनोवृत्तिबाट समेत मुक्त हुन सक्छन् । बालबालिकालाई यस किसिमको शिक्षा दिन सके उनीहरूमा आत्मानुशासनको विकास हुन्छ  र सहयोगी तथा सहिष्णु भावनाका कारण मानसिकरूपमा समेत स्वस्थ रहन सक्छन् ।

चाकरी  मनोवृत्ति समाज विकासको वाधक हो । यसले समाजमा अस्थिरता र अराजकता  सिर्जना गर्नुका साथै मात्र होइन समाजका योग्य र दक्ष व्यक्तिलाई समाजबाटै पलायन गराउनेसमेत भएकाले  चाकरी आफैँमा सामाजिक अपराध हो । योग्य व्यक्तिलाई हतोत्साही हुनबाट जोगाउन र समाज विकासका लागि पनि दास मनोवृत्तिबाट सबैजना मुक्त हुनुपर्छ । भ्रष्टाचारको जड र समाजको रोग चाकरी  प्रवृत्ति भएकाले हरेक सचेत व्यक्ति आगामी पुस्तालाई स्वाभिमानी बनाउन तथा वर्तमान समयमा देखापरेका चाकरीवाज रूपी भाइरसहरूलाई निरुत्साहित गर्ने दिशामा सक्रिय हुनुपर्छ ।


 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, फागुन १३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्