site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सर्वोच्चको फैसलाले गौरवको अनुभूति भएको छ : प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले चितवन आउनेबित्तिकै संसद् पुन:स्थापनाको खबर पाउँदा गर्व लागेको बताएका छन् । संसद् पुन:स्थापना गर्ने सर्वोच्चको निर्णयपछि भरतपुरमा आयोजित एक कार्यक्रममा उनले यो फैसललाले जनताको जित भएको बताएका हुन् । उनले यो कुर्सीको लडाइँ नलडेको भन्दै सविधानका लागि लडेको दाबी गरे ।

“आज यहाँ प्रवेश गर्नेबित्तिकै यो फैसला आयो बडो गौरवको अनुभूति गरेको छु,“ प्रचण्डले भने । उनले सर्वोच्च अदालतले संसद् पुन:स्थापना गर्नु सम्पूर्ण नेपालीको ऐतिहासिक जित भएको भन्दै विजयीउत्सव बनाउन आग्रह गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“यो आममानिसको पत्रकार, कानुनविद्, संविधानविद्हरूको पनि जित हो," उनले भने, "आज फैसला गर्ने संवैधानिक इजलासका प्रधानन्यायाधीश, न्यायाधीशहरूको पनि सही निर्णय हो ।“

यस्तै उनले संसद् विघटनविरुद्ध लड्ने सम्पूर्ण राजनीतिक दलहरूलाई धन्यवाद दिँदै सहकार्य र समझदारीबाट अघि बढ्ने पनि बताए । "ओलीको सेटिङमा भ्रममा परेका साथीहरू भ्रम नपर्नुस् मूल पार्टीमा फर्कनुस्," उनले भने, "केपी ओलीको भुलभुलैयामा बस्ने समय छैन ।"

सोही कार्यक्रममा अर्का अध्यक्ष माधवकुमार नेपालले देशभर विरोधसभामा हिँडे पनि चितवन आएलगत्तै आफ्नो जित भएको बताए । चितवन भाग्यमानी जिल्ला भएको भन्दै उनले भने, "सर्वोच्च अदालतको फैसलाले सत्यको जित भयो न्यायको जित भयो, जनताको जित भयो । यो ऐतिहासिक फैसला हो ।" भोलिबाट विरोध जुलुसको सट्टा विजय जुलुसको लहर छाइने उनको भनाइ थियो । यसैबीच भोलि (बुधबार) प्रचण्ड-नेपाल समूहले विजय जुलुस निकाल्ने जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  २१:१३
प्रतिक्रिया दिनुहोस्