नेपाली कांग्रेसको सुझबुझपूर्णले देशलाई राजनीतिक गतिरोधबाट मुक्त गरेको साक्षी इतिहास छ । अहिले मुलुक पुनः राजनीतिक अस्थिरता र संवैधानिक संकटतर्फ उन्मुख हुँदैछ । वर्तमान परिस्थितिको यथार्थ नेपाली जनतालाई बुझाउनेतर्फ भने कांग्रेसले ध्यान दिन सकेको छैन । कांग्रेसको मन, मञ्च र मन्तव्य एउटै हुन नसक्दा जनताले दुःख पाउन सक्छन्। खासगरी ०६२–०६३ पछि नेपाली कांग्रेस कांग्रेसजस्तो रहेन भन्ने गुनासो सामान्य जनता र शुभेच्छुकहरुको रहेको छ । नेपाली कांग्रेस र नेपालका कम्युनिस्टहरुमा खासै भिन्नता छैन भन्ने भ्रम कांग्रेसले अब हटाउन सक्नुपर्छ । हिजोको संक्रमणकालीन अवस्था र समयलाई सबै कम्युनिस्टहरुले उपयोग गरे ।
सामन्तवादको प्रतिनिधित्व गर्ने परम्परागत शक्ति, समाजमा जसरी पनि हैकम जमाउन चाहने नवधनाड्य वर्ग, राणा शासन र पञ्चायती व्यवस्थादेखि पछिल्लो समयसम्म सत्ताको आडमा आर्जन गरेको सम्पत्ति एवं पहुँचको भरमा आफ्नो वर्चस्व कायम राख्न चाहनेहरु सबैले कांग्रेसलाई शत्रुवत व्यवहार गरिआएकै हुन् । यस्तै, समय र परिस्थिति प्रतिकूल हुँदा पनि आफू अनुकुल बनाउन अप्पिस विभिन्न नामका विशेषगरी दुई प्रमुख कम्युनिस्ट पार्टीहरु एमाले र माओवादीको पनि तारोमा त नेपाली कांग्रेस नै पर्ने गरेको हो । तैपनि, कांग्रेसले उनीहरुलाई सन्तुष्ट बनाउने सम्झौता र सहमतिको चक्करमा आफ्नो मौलिकता नै भुलेजस्तो
भएको छ ।
अहिले सत्ताको उन्मादमा उफ्रिएर नौटंकी गर्ने कम्युनिस्टकै कारण सडकमा आन्दोलन गर्न पनि कम्युनिस्टहरु नै पुगेका छन् । साँझपख गाउँ बजारका गल्लीमा देखिने राँके जुलुसमा रमाइरहेका छन् । ठेक्कापट्टा र विभिन्न कमिसन काण्डमा पनि कम्युनिस्ट नै भेटिन्छन् । सरकारी जग्गा गवन प्रकरण र घुसखोरीमा पनि कम्युनिस्टको संलग्नता । असंवैधानिक कदम चाल्ने पनि कम्युनिस्ट, लोकतन्त्र र कानुनी राज्यको दुहाई दिँदै सामाजिक मूल्य मान्यता खलल गर्ने पनि उनै कम्युनिस्ट ।
छोरीचेलीहरुको जिवनको रक्षा गर्न नसक्नेहरु कम्युनिस्ट। राज्यको संबैधानिक निकायहरुलाई असंबैधानिक ढंगबाट मानिसहरुको नियुक्ति गरी हुकुमी शैलीमा शासन चलाउन खोज्ने कम्युनिस्ट। मजदुर किसानको नाममा सत्तामा पुग्दा तिनै गरिब मजदुर र किसानलाई दुईमुठ्ठी चामल नपत्याउने कम्युनिस्ट। हिजोआज जता फक्र्र्यो त्यतै कम्युनिस्ट नै कम्युनिस्ट । विडम्बना, अस्तव्यस्तताको कारण र परिणाम दुवै कम्युनिस्ट !
देशभर यो अराजक लुटतन्त्रको जानकारी गराउन ढिला गरेमा नेपाली कांग्रेसलाई समय र जनताले साथ दिनेछैनन् । सामाजिक सुरक्षा र सद्भाव दिनदिनै ह्रास हुँदैगएको छ । स्थिरताको नाममा भोट मागेका कम्युनिस्टहरु लोभ, पाप र स्वार्थको पोखरीमा पौडी खेल्न पुगेकाछन् । संभवतः अब उनीहरु त्यही पोखरीमा डुब्नेछन् पनि । तर, कांग्रेसले त नेपाली जनताको हितको चिन्ता गर्नु नै पर्छ ।
नेपाली कांग्रेसले नेपालको संविधानको रक्षा गर्दै लोकतान्त्रिक विधि र पद्धतिमा आधारित कानुनी राज्यका पक्षमा दृढतापूर्वक उभिनुपर्छ । नागरिकको मौलिक हक प्रत्याभूतिको निम्ति अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताजस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरुका हकमा नेपाली कांग्रेसले कुनै पनि हालतमा कसैसँग सम्झौता गर्नु हुँदैन ।
नेपाली कांग्रेसलाई घुर्क्याउँदै, धम्क्याउँदै र तर्साउँदै आफ्नो स्वार्थ पूरा गरेको कम्युनिस्ट आवरणको नव धनाड्य वर्ग स्वार्थकै कारण फुटेको छ । कम्युनिस्टहरु सत्ताको लोभ पुनः मिल्नसक्ने सम्भावना पनि नकार्न सकिँदैन । तर, पनि अब कांग्रेससँग चुनावी प्रतिस्पर्धामा आउने यिनै विचार र सिद्धान्तमा च्युत भएका कम्युनिस्ट नै हुन् । विचारविहीन कम्युनिस्टलाई नेपाली जनताले राम्रोसँग चिनेकाछन् । तैपनि, कांग्रेसले थप चिनाउनु भने पर्छ ।
नेपाली जनताको समर्थन पाइरहन कांग्रेसले आफ्नो मौलिक विचार र सिद्धान्तमा अडिग रहेर शिक्षा र स्वास्थ्यमा सबैको पहुँच, संचार प्रविधिमा संलग्नता, आत्मानिर्भर अर्थतन्त्रको लागी वैज्ञानिक कृषि प्रणाली अवलम्बन सुनिश्चित गर्नुपर्छ ।
कमला डाइभर्सनलाई पुनः प्राथमिकता राखी तराईको मुख्यगरी दुई नम्बर प्रदेशमा सिंचाइको सुलभ गराउनु जरूरी छ । वन पैदावर र जडीबुटीको उपयोग गरी आवश्यक औषधि देशमै उत्पादन गर्ने सडक सञ्जाद तथा यातायात र पारवहनको सुव्यवस्था सु्निश्चित गर्ने प्रबन्ध मिलाउन सके देशले आयात निर्यातमा ठूलो फड्को मार्नेछ । बीपी कोइराला र उनका समकालीन नेताले देखेका समुन्नत नेपालको सपनालाई विपनामा परिणत गर्ने आँट नेपाली कांग्रेसको नेतृत्वले गरोस् र यसमा सबै नेता कार्यकर्ताको सहभागिता सुनिश्चित होस् ।
नेपालको व्यवस्थापिका संसदमाथि कार्यपालिकाबाट गरिएको असंवैधानिक बर्बर निर्मम प्रहारले लागेको चोटलाई न्यायपालिकाले संविधानको मर्म र भावनानुसार न्याय दिनेछ भन्ने विश्वास छ । तैपनि, नयाँ निर्वाचन हुने नै निर्णय आयो भने नेपाली कांग्रेस निर्वाचनका माध्यम जनतामा जान आनाकानी गर्नु हुँदैन ।
( नेपाली कांग्रेसको महासमिति सदस्य )