बाह्रखरी
sticky  ncell
coke
British college
coke
British college
विचार प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
विचार 'भाँडा माझ्न पलायन भएको’ नेपाली उद्यम डा. पुण्यसागर मरहट्टा
NMB Bank
NMB Bank
बाह्रखरी - शुक्रबार, फागुन ७, २०७७
Laxmi Bank
Laxmi Bank

डिसेम्बर ३०, २०२० को दिन ग्लोबल नेवा कन्फरेन्समा  ‘यल’ज इभोलुसन थ्रु कुनु शर्मा’ज कीर्तिपताका' शीर्षककाे कार्यपत्र प्रस्तुत गर्ने मौका मिल्यो । हामीले अहिले देखेको पाटन श्रीनिवास मल्लको पालादेखि आजको मितिसम्म आइपुग्दा कति रह्यो ?

कति गयो ? के भयो ? भन्ने विषयमा मेरो कार्यपत्रले केही सार्थक बहस सतहमा ल्यायो । एक गैरनेवा मैले तथ्यसंगत ढंगले पाटनका गल्लीका बयान प्रस्तुत गर्ने मौका पाउँदा म जति आह्लादित भएँ त्यति नै आनन्दित भए हुनन् एसिया, युरोप र अमेरिकामा आआफ्ना गुँडमा बसेर जुममा झुम्मिएका नेपाली, गैरनेपाली सबै । म भने मेरोभन्दा ठीक अघिल्ला प्रस्तोताको कार्यपत्रको चास्नीमा चुर्लुम्म भएको थिएँ ।

कार्यपत्र प्रस्तोता थिए सांस्कृतिक रूपमा हाम्रा नेवारी परम्परागत मिठाइलाई क्यानाडाको बजारमा प्रचार गर्ने कोसिस गरिरहेका उद्यमी नरेश ताम्राकार । पाटन, धलायाचाका परम्परागत मिठाइ पसले संस्कृतिका बाहक हुन् नरेश । उनी अहिले रहरकै हिसाबले टोरोन्टोमा लाखामरी बनाई रहेछन्, जेरी स्वारी पकाइरहेछन् र त्यो स्वाद चिन्नेको दैलो दैलो पुर्‍याइरहेछन् । काठमाडौंमा जन्मेहुर्केको हाम्रो जोडीले एकबाजी उनको हातको जेरी स्वारी चाख्यौँ ।

sarbottam cement

आफ्नो किशोरावस्था क्यानाडामा बिताएको हाम्रो छोराले स्वारीले लपेटिएको जेरीको पहिलो ' बाइट' सँग भन्यो - यसमा त पाटनको स्वाद छ ।

हाम्रो परिवारलाई नरेशको उद्यमशीलता मन पर्‍यो । उनको यस उद्यमलाई टेवा दिने विचार गरेकाछौँ । किनभने नरेशको यो उद्यमशीलता नेपालमा रहेको समाजले हेपेर भनेजस्तो  ‘भाँडा माझ्न गएको’ श्रमशक्तिको परिचायक होइन ।

Global bank

Agani Group

सन् २०११ तिरकै अर्को घटना सम्झिन्छु । भर्खर क्यानाडा आएका थियौँ ।  एडमन्टनमा बसाइ थियो ।  उतिखेर म नयाँ आउने आप्रवासीलाई ‘करियर काउन्सिलिङ’को काम गर्थेँ । नारायणगढतिरबाट ध्रुव श्रेष्ठ, मिनु श्रेष्ठ नामक नयाँ नेपाली जोडी आएका थिए ।

तीमध्ये महिलाको ब्युटी पार्लरवाला सीप रहेछ ।  कपाल काट्ने पेसामा नेपालीको हात चलिसकेको थिएन । मलाई सम्झना छ - उनीहरूको घर नै पुगेका छौँ हामी कपाल काट्न । त्यसभन्दा अघि एकाध पटक घरमै इमानदार प्रयास गरियो, राम्रो भएन ।  हामी त्यसैले कि सैलुन जान बाध्य थियौँ कि त एक चिनियाँ महिलाकोमा ।

नेपालीकोमा जाँदा एक आफ्नो भनाइमुताबिक सस्तोमा कपाल काट्न पाइन्थ्यो भने अर्को भर्खर आएर व्यवस्थित हुनलागेको स्वदेशी जोडीलाई पेसागत मद्दत पनि पुग्थ्यो ।

कपाल त काटिन्थ्यो नै पैसा पनि आफ्नै नेपालीको हातमा पर्थ्यो । अहिले अहिले पनि मिनु त्यो काम गर्छिन् रे ! यी जोडीसमेत क्यानाडामा नेपाली सामाजिक भाष्यअनुरुपको ‘भाँडा माझिरहेका’ छैनन् । उद्यम नै गरिरहेका छन् ।

एडमन्टनपछि सन् २०१२ को सुरुका महिनामा नै क्यालगेरी सरियो कामको सिलसिलामा । करिब अढाइ वर्षको बसाइ रह्यो त्यहाँ । अपेक्षाकृत ठूलो सहर, विभिन्न पेसाजीवी नेपाली त्यहाँ थिए । तीमध्ये दुई जनाको उद्यमशीलताको चर्चा गर्दैछु । एक थिइन् - डाक्टर रेखा पराजुली ।

उनी त्यतिखेर भर्खर डेन्टल क्लिनिकमा प्राक्टिस गर्न सुरु गर्दै थिइन् । उनीहरूको जोडीको पेसागत जीवन पुनर्प्राप्तिको कथा प्रेरक र मार्मिक छ । त्यो अन्य कुनै अवस्थामा लेखौंला तर रेखा पराजुलीले जे गरेर देखाइन् त्यसले क्यालगेरीको तत्कालीन समाजमा एउटा सकारात्मक तरंग पैदा गर्‍याे । रेखा र राजीव दुवै नेपाली समाजले भने झैँ ‘विदेशमा भाँडा माझ्न’ आएनन् आफ्नो उद्यम चलाइरहेछन् ।

त्यस्तै अर्का व्यक्ति हुन् - क्यालगेरीका अर्जुन गैरे । अर्जुन जति नम्र, भद्र र सुशील मान्छे बिरलै भेटेको छु मैले । उनी एक कुशल व्यवस्थापक हुन् र हालको क्यालगेरीको नेपाली रेस्टुराँ साम्राज्यको भुल्न नसकिने व्यक्ति हुन् । हेर्दाहेर्दै उनको नेतृत्वका घटीमा ५ वटा नेपाली/ इन्डियन रेस्टुराँ संचालनमा छन् अहिले क्यल्गेरिमा । निश्चय नै अर्जुन त परिआए जुठो भाँडा पनि माझ्दा हुन् तर उनी त्यो र त्यसो गर्न क्यानाडा आएका थिएनन् ।

पेट पाल्न  उनलाई त्यो गर्ने वाध्यता पनि छैन । क्यालगेरीमा रहुन्जेल हाम्रो पारिवारिक दन्त चिकित्सक रेखा थिइन् भने अर्जुन जी त पारिवारिक मित्र । एकपटक त्यस अल्प अवधिमै पनि करिब ५०० सदस्य रहेको ‘नेपलिज कम्युनिटी सोसाइटी अफ क्यालगेरी’ को प्रेसिडेन्टको अभिभारा आइपरेको थियो मेरो काँधमा ।

अर्जुन जीको रेफरलमा नेपाली सेफ देवी कँडेलको नेतृत्वमा झन्डै ५०० जनाको दसैं जमघट सफलतापूर्वक उतारिएको थियो । सस्तो, आफ्नो स्वादको र आफ्नै समुदायको नेतृत्वमा उक्त क्याटरिङको तारिफपछिसम्म क्यालगेरीमागुन्जिरह्यो ।

सन् २०१४ मा कामकै कारण फेरी बसाइँ सरियो रिजाइनामा । अपेक्षाकृत सानो, दुर्गम र कम नेपाली भएको सहर हो रिजाइना । प्रान्तीय राजधानी भएका कारण उद्यमीभन्दा जागिरे धेरै थिए त्यहाँ । तथापि पहिलो भेटमा नै अर्जुन लामीछानेसँग तन्तु गाँसियो ।

ठट्टा गर्ने मेरो बानी उनलाई कस्तो लाग्यो उनै जानुन् तर मैले जिस्केर नेपालमा पढाएको त अंग्रेजी होला, यहाँ इङ्ग्लिस  पढाउन अलिक समय लाग्ला, बरु मिलन र तिमी मिलेर ‘अर्ली चाइल्हुड एजुकेसन सेन्टर’ ( दिवा शिशु  स्याहार केन्द्र) खोल्दा पो सहज हुन्छ कि ? भनेको थिएँ ।

मेरो भनाइ मात्रैले त के हुँदो हो तथापि केहि समयपछि घर किने र भुइँतलामा सेन्टर चलाए । अझै त्यो उद्यमबाट विमुख भएका छैनन् होला । अर्जुन भने अब इङ्ग्लिस टिचर पनि भएछन् र विश्वविद्यालयतिर पनि पढाउन थालेछन् । अर्जुन पनि नेपाली समाजले भनेझैँ क्यानाडामा विदेशीको जुठो भाँडा माझेर बसेको छैनन्  । रिजाइनामा नै एक नेपाली मारवाडी भाइ पनि छन् - अनुप घिराइया ।

अनुप  आफू त उद्यमी भए नै अरूलाई रोजगारी पनि दिइरहेछन् । एउटा पसल चलाउछन्  –‘स्पाइस बजार' नाममा । रिजाइनामै केही संगतभित्रकै भाइहरुले जाँगर गरेर थोरबहुत लगानीमा ‘लुम्बिनी इन्टरटेन्मेन्ट’ भन्ने कम्पनी दर्ता गरे र केही नेपाली चलचित्र ल्याएर देखाए पनि ।

अर्जुन अधिकारी, सुमन भण्डारी, विनोद हुमागाईं, उद्धव ठगुन्ना, पिताम्बर भण्डारी आदि उनीहरू आफ्नो पेशागत दक्षता अनुरुपको काम त गर्छन् नै उद्यमशीलतामा पनि पछि परेका छैनन् । करिब अढाइ वर्ष भयो रिजाइना छोडेको पनि । अलिअघि अवकास लिएकी मेरी एक जना सहकर्मी भन्दै थिइन् - रिजाइनामा खुलेको नयाँ नेपाली रेस्टुराँमा तिम्रो घरमा खाएको जस्तो स्वादको मम खाएँ मैले ।

नयाँ रेस्टुराँवालासँग त मेरो प्रत्यक्ष चिनजान हुन पाएन तथापि के भन्न सक्छु भने उनी कसैको जुठो भाँडा माझेर जीविकोपार्जन गरिरहेका छैनन् बरु राज्यलाई कर तिरिरहेछन् र रोजगारी सिर्जना गरिरहेछन् ।

सन् २०१८ मा फेरी बसाइ सरियो टोरोन्टोतिर । टोरोन्टो आफैँमा एउटा सिङ्गै क्यानाडाजस्तो छ । टोरोन्टोवासीहरु अलिकति अभिमानले, अलिकति अल्पज्ञानले ‘ग्रेटर टोरोन्टो एरिया’ लाई नै क्यानाडा भन्ठान्छन् ।

यहाँ मैले नेपाली समुदायको मात्र कुरो गरिन । यहाँका रैथाने वा दुईतीन पुस्ता टोरोन्टोमै बसिसकेका आप्रवासीमा समेत त्यो समस्या छ । अधिकांश नेपालीलाई त टोरोन्टोदेखि रिजाइनाको दूरीभन्दा काठमाडौँबाट ढाकाको दूरी छोटो छ भन्ने पनि थाहा नहोला । त्यसैले टोरोन्टोमा ज्ञात अज्ञात हजारौं उद्यमी छन् नेपाली मूलका । तीमध्ये केहीको चर्चा गर्दा अन्यलाई अन्याय नहोइदेओस् भन्नेमा म सजग रहनेछु ।

भर्खरमात्र टोरोन्टो आएका कारण सम्पर्क पातलो नै थियो । बाक्लिने क्रम त अझै पनि जारी नै छ । टोरोन्टोको सुरुका दिनमा बुवाआमा हामीसँगै हुनुहुन्थ्यो । अचानक एक दिन बिहान बुवाको दाँत दुख्यो ।

बुवा आमाको क्यानाडाको आगन्तुक बसाइ । त्यसमाथि हेल्थ इन्सुरेन्सले कभर नगर्ने दन्त सेवा र त्यसभन्दा जटिल  त  दुखाइ अर्थ्याउने समस्या । बुवालाई सामान्य अंग्रेजी समस्याको विषय होइन तर पनि पीडालाई व्यक्त गर्ने शब्दावली त मातृभाषामा बाहेक अन्यमा त पाउन पनि अप्ठेरो हुन्छ नै ? उदाहरणार्थ, दाँत दुखेर कानमा समेत चड्का हानिरहेकोछलाई के भन्ने इङ्लिसमा ? अथवा, जेनेरल फिजिसियनकोमा गएर कोखा हान्यो भन्न अंग्रेजीमा के गरी भन्ने ? यो असहजताबीच कुनै समय धरानमा सँगै काम गरेका प्रिय अनुज  अशोक यादव र उनकी दन्तचिकित्सक अनिता गुप्ता स्मृतिमा आए । फोन लगाएँ ।

बुवालाई लगेँ । डा. अनिता गुप्ताले बुवाको दाँतको समस्या समाधान गरिदिइन् त्यो पनि निःशुल्क । शुल्क लिन कागजी झ्याउलो पनि थियो । अहिलेसम्म बुवाले अनितालाई सम्झिनु हुन्छ । अनिताले आफूलगायत अन्य ३ जनालाई प्रत्यक्ष रोजगारी दिएकी छिन् ।

अनिता पनि हाम्रो शास्त्रीय परिभाषानुरूपको भाँडा मझाइमा छैनन् । पेसाजन्य उद्यम नै गरिरहेकी छिन् । भागम्भागको जीवनमा उनैले फोन गर्छिन् र भन्छिन्- सर, म्यामको वार्षिक चेकपको समय भयो है ? कहिले आउने हो, निधो गरौँ । हो, यो उनको पेसा हो, त्यसबापत उनले दानापानी कमाउँछिन । जे होस्, पेसागत मान्यता, दक्षता र क्षमताका कारणमात्र नभई भाषिक सहजताका कारण पनि हामी अनिता गुप्ताका सेवाग्राही बनेका छौँ ।  एकप्रकारको सन्तुष्टि छ -  कसैको सेवा लिनैपर्थ्यो, नेपालीकै सेवा लिने सुअवसर पाएका छौँ ।

मैले उल्लेख नगरे अन्याय हुने अर्का पात्र हुन् - पूर्वी टोरोन्टोका अटोमेकानिक राजकुमार गुरुङ । राजकुमार जीलाई भेटेपछि पूरै मेरो पैतृक थलो गण्डकीको मगमग बासना आउँछ । राजकुमार आफैँले गाडी मर्मतको एउटा ग्यारेज चलाएका छन् । गाडीको नियमित जाँच र मर्मत गर्छन् ।

हरेक वसन्त र पतझर मौसम सुरु भएपछि उनैले सम्झेर फोन गर्छन् र भन्छन् -  गाडीको टायर चेन्ज गर्ने बेला भो, कहिले आउनुहुन्छ ? क्यानडामा यी दुइ सिजनमा मौसम अनुरुपको ट्युनिक  भने झैँ माैसमअनुरुपको टायर हाल्नु पर्छ । नत्र हिउँदमा गाडी चिप्लेर दुर्घटना हुनसक्छ ।

मैले जानेसम्म कुनै कुनै प्रान्तमा त विन्टर टायर कानुनत: अनिवार्य नै छ । सवारी साधनमा सो जडित छैन भने भारी जरिवाना तिर्नुपर्छ ।

गुरुङ आफ्ना बलिया हातले जुन सत्कर्म गर्छन् र कमलो हाँसोले काम फत्ते भएको जानकारी दिन्छन्, एकबाजी त्यो सेवा रसास्वादन गरेको नेपाली मान्छे दोहोर्‍याएर त्यतै नजाला भन्ने मलाई लाग्दैन । जान्छ, फर्कीफर्की जान्छ । सेवाको शुल्क त जसलाई पनि तिर्नै छ, किन नेपाली उद्यमीलाई नतिर्ने ? राजकुमार जी पनि भाँडा मोल्दैनन्, उद्यम गर्छन्, कर तिर्छन् र रोजगारी दिएका छन् ।
घर खरिदविक्री प्रयोजनमा आवश्यक एजेन्ट पेसामा  टोरोन्टो क्षेत्रकै बाघ बूढा हुन् मदन केसी । पोखराका यी पहिलो पुस्ताका आप्रवासी नेपालीले प्रत्यक्षत: सयको हाराहारी रोजगारी दिएका छन् होला भने परोक्ष हजारौंलाई प्रेरणा दिएका छन् । यी भद्र छन्, नम्र  छन् । धर्तीसँग नजिक छन् ।  

' मैले त केही जानेको छैन' भनीभनी यी बूढाले आफूलाई ठूलो रोजगारदाता बनाइसके । पछिल्लो समय नेपाली स्वादको इन्डियन रेस्टुराँमा समेत जमेका छन् रे भन्ने सुनिन्छ ।

मदन केसी पनि त्यस्ता पात्र हुन् जो विदेशीको जुठोभाँडा माझेर बसेका छैनन् बरु अचेल त विदेशीलाई जागिर दिने भएका छन् । ‘एभरेस्ट रियल्टी लिमिटेड ब्रोकरेज’ उनको पहिचान बनेको छ र समग्रमा टोरोन्टो क्षेत्रका नेपालीको लागि गौरवको नाम ।

कोपुन्डोलबाट आँबुखैरेनी गए झैँ छ मेरो जागिर खान जाने ठाउँ अचेल टोरोन्टो एरियामा । दिनको एकतर्फी ११७ किलाेमीटर ड्राइभ गरेर काममा पुग्छु । बिल्कुल नयाँ सहर हो त्यो मेरो लागि । गएको साता सहकर्मीले सोधे - यस सहरमा नेपाली खाना पाइन्छ ? प्रश्नले पहिले त हक्क न बक्क भएँ ।

पछि सोचेँ - गुगललाई ' हक्का 'भनेर सोधेँ भने त पक्का थाहा हुन्छ । साँच्चै नै, एभरेस्ट नाम गरेका दुईवटा रेस्टुराँ रहेछन् त्यहाँ । मेनु हेर्दा जुनमा मम देखेँ, त्यसैमा फोन गरेँ र पहिलो प्रश्न सोधेँ - नेपालीमा अर्डर गर्न पाइन्छ? यो यस अर्थमा जरुरी थियो कि गोरालाई पिरो पनि स्पाइसी हुन्छ मसालेदार पनि स्पाइसी ।

उताबाट फोन उठाउने भाइले भने - भन्नुस् न सर, हामी त नेपाली नै हौँ । मैले अर्डर अर्थ्याएँ । मसलेदार त होस् पिरो भने नहोस् है ?  सर, अलिअलि पिरो त सबै हुन्छ, हजुरलाई माइल्ड वाला गर्दिऊँ ? तोकिएको समयमा एभरेस्ट हक्कामा पुगेपछि उही हाम्रो स्निग्ध, निश्छल र कर्तव्यपरायण हाँसोले नमस्कार गर्‍याे र भन्यो - हजुरको अर्डर रेडी छ ।

मैले मनमनै सोचेँ- यी उद्यमीले पनि निश्चय नै सांकेतिक भाँडा मझाइ गरिरहेका छैनन् । उद्यम गरिरहेका छन्, राज्यलाई कर र समाजलाई रोजगारी दिइरहेका छन् । मेरा सहकर्मीले तिनका मम मन पराए ।

धर्म केसी पनि साथीहरुसँग मिलेर ममको व्यवसायमा जुटेका छन् । उनीहरू खसीको, कुखुराको र सब्जीको मम बटार्छन्, फ्रोजन गर्छन र अर्डरअनुसार घर दैलोमा पुर्‍याइदिन्छन् । हामीले उनीहरुको उद्यमलाई टेवा दिन अर्डर दियौँ ।

पूर्ण कँडेल जीको अगुवाइको ‘लिअम इन्टरनेसनल’सँग मिलेर दाल, ताइचिनको च्युरा, वाइवाइ चाउचाउसमेत ल्याइदिने रहेछन् । नेपाली स्वादको पारखी भएकाले होला, दाल र च्युरा थियो, वाइवाइ भने मगाइयो ।

मम मीठो भयो, अचार गजबको थियो । बाहिर माइनस २८ डिग्री सेन्टिग्रेडको चिसोमा  करिब ४० किमि पर नमस्ते ममका धर्मले जुन सेवा दिए त्यो विदेशमा भाँडा माझ्नु थिएन । एउटा उद्यम थियो ।

अलिअघि कानुनी परामर्श चाहिएको थियो र हाजिर थिए एक बित्ता पारी रमेश कार्की । उनी टोरोन्टोमा बसेर कानुन व्यवसायीको काम गरिरहेका छन् । पेसाले वकिल कार्की नारायण गोपालको गीत मीठो गाउँछन् । मेरो समस्याको समाधान आफैँले त गर्न सकेनन् ।

किनभने उनी कर्पोरेट ल हेर्दा रहेछन् मलाई चाहिएको थियो लेवर ल । तथापि, बडो सहज र आत्मीय पाराले भने- सर, हजुरको केस बलियो छ, म हजुरलाई केहि लेबर ल जानेका मेरा सहकर्मीहरुसँग चिनजान गराउँछु ।

कसले भन्छ त्यति सजिलै यहाँ नेपाली नहुने हो भने रमेश जीले दिएको परामर्शको समय केही नभए पनि दुई घन्टा हुँदो हो ? त्यो सेवा मैले निःशुल्क पाएको छु ।

अन्यथा, मेरो कागजात पढेर पत्राचार गर्न त पछि घन्टाको पाँच सय डलर तिरेको छु मैले वकिललाई । रमेश कार्की अफिस खोलेर बसेका छन्, रोजगारी दिएका छन्, राज्यलाई कर तिरेका छन् । समग्रमा भन्दा, उनी पनि भाँडा माझेर विदेशमा बसेका छैनन् ।

भ्यालेन्टाइन डेको बिहानै ' दाजु भाउजुलाई प्रणय दिवसको शुभकामना' भन्दै फोनै गरे पंजीकृत खजाञ्ची ( चार्टर्ड एकाउण्टेण्ट) शरद पौडेलले । उनी हाम्रा एकाउन्टेन्ट हुन् । सालाना हामीले गरेको आम्दानीका आधारमा राज्यलाई तिर्नुपर्ने कर वा राज्यले हामीलाई फिर्ता दिनुपर्ने करकट्टाको रकमको हरहिसाब उनैले गरिदिन्छन् । यो हिसाबकिताब गर्ने एउटा विधि, पद्धति छ । आफैँ पनि गर्न सकिन्छ भन्छन् जान्नेहरु ।

हाम्रो त झन् न लगानी, न बेपार, जागिरको रकम र एकाध चन्दा रसिद, सहज हुनुपर्ने हो नि ? तैपनि ३ वर्षसम्म आफैँले करसम्बन्धी हिसाब गरेर सरकारलाई बुझाउँदा नमिलेर चेत बाबा कासी भएका हामीलाई शरद भाइले सजिलो पारिदिएका छन् ।

एउटा आत्मीयता छ, भाषिक सहजता छ, घन्टौं पारिवारिक वातावरणमा कुरा गर्न पाइन्छ । दाजु भाउजुलाई यसो गर्दा फाइदा छ, नियमले यसो यसो गर्न भनेको छ भनेर उनैले भनिदिन्छन् । कहाँ देख्छ नेपाली समाजले यो सब ? उसले त शरद पौडेल पनि भाँडा माझ्न  विदेशप लायन भएकोमात्र देख्दो हो ।

माथि उल्लेखित पात्र  कुनै पनि काल्पनिक होइनन् र यीमात्र पनि क्यानाडामा भएका उद्यमी पनि होइनन् । यी मैले सेवा लिएका मेरो भाषा बोल्ने मेरा सङ्गतीमात्र हुन् र यी प्रतिनिधि पात्र हुन् । यीजस्ता अहिले त हजारौंमा पुगे होलान् पूर्व ह्यालिफ्याक्सदेखि पश्चिम भिक्टोरियासम्म ।

यी सुरुमा क्यानाडा आउँदा भाँडा माझ्ने कर्ममा लागे पनि हुनन् मैलेजस्तै । मलाइजस्तै यिनलाई कसैले लघारेको पनि थिएन, कसैले घिच्याएको पनि होइन ।

यी आए, आफ्नो पेसागत भुइँ खोस्रे, मीठो फल फलाए । यिनका सेवा लिन पाउँदा म आफू त पुलकित छु भने यी आफैं कति खुसी होलान् ?  क्यानाडाको चार सहरमा बसेको र तिनै सहरको सामुदायिक नेतृत्वमा बसेको आधारमा लेख्दैछु - विदेशीको जुठो भाँडा माझेरभन्दा आफ्नो कर्म गरेर स्वतन्त्र र स्वाभिमानी जीवन बाँची रहेका छन् नेपाली क्यानाडामा ।

यति सबै लेखेपछि यो लेखिन भने आफैंलाई कुटुकुटु खानेछ । कोरोनाले जर्जर भएको अर्थतन्त्रमा समेत नेपाली रेस्टुराँमार्फत हाम्रै स्वाद पस्कने जमर्को गरे सुमेश राजकर्णिकार र साथीहरूले र यस वर्षको क्रिसमसइभ पार्टीमा । झन्डै  ४० मिनेट परको त्यहीँको खाना ल्याएर खाइयो ।

सरकारले स्थानीय ब्यापारीलाई सहयोग गरिदेउ त भनेको हो, हामी केही नेपाली परिवारलाई सुमेश जीको टिमलाई सहयोग गर्न मन लाग्यो र त्यसो पो गरियो ।

तर यो पनि नभुलौँ, क्यानाडामा पनि नेपालमा जस्तै नेपाली राजनीतिक संघ संगठन छन्, चुनाव गर्छन् ।लड्छन् , भिड्छन् ।

सामाजिक संजालमा आएर तथानाम भन्छन् । जातजातका, हातहातमा सरकारी  चन्दा उठाएर खाने संस्था पनि छन् । तिनले एक त माथि लेखमा देखिएका प्रतिनिधि पात्रलाई देख्दै नदेख्लान्, देखे पनि नदेखेझैँ गर्लान् ।

नेपाल सरकारको आधिकारिक प्रतिनिधि राजदूतावासले  समेत यी यस्ता माटो मिसिएका मोति भेटेको नहुँदो हो ।  र यी प्रतिनिधि पात्रलाई भने देखिने वा लेखिने चाहले भन्दा आफ्नो लगनमा विश्वास होला । यिनलाई त ‘जुठो भाँडा माझ्न विदेश पलायन भएको’ भन्ने कटाक्ष सुन्ने फुर्सदसमेत नहोला ।

यो मेरो लेख नितान्त निजी अनुभूति हो र किञ्चित पनि आत्मश्लाघा होइन । न त कुनै एक व्यापारिक प्रयोजनले लेखिएको विज्ञापनै हाे । लेखमा परेका प्रसङ्गहरु  प्रतिनिधि पात्रको सार्वजनिक जीवनको प्रत्यञ्चामात्र हो ।

उनीहरुको अर्को कुनै सेवाग्राहीसँगको निजी सम्बन्ध र अनुभव  मेरोभन्दा पृथक हुनसक्छ । खुसी लाग्छ - हामी वास्तवमा यस्तो नेपाली भनेर यता चिनिदै छौँ  । नेपालबाट पनि त्यसरी नै चिनिने दिन आउनेछ भन्ने विश्वास त लिन पाइयो नि ! कि कसो ?
 

 

Nabil Bank
Nepal Investment bank
Nabil Bank
Nepal Investment bank
शुक्रबार, फागुन ७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्