site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लोकतन्त्र भन्ने आधार गुमाएका ओली

‘लोकतन्त्र’ कहलिने केही नैतिक वा राजनीतिक प्रतिबद्धताका आधार हुन्छन् । प्रतिबद्धता ओँठे होइन व्यावहारिक हुनुपर्छ । प्रतिनिधि सभालाई ‘असंवैधानिक’ विघटनमा धकेल्ने कम्युनिस्ट नेता प्रधानमन्त्री केपी ओलीले गर्ने लोकतन्त्रको दाबाले सत्यताको समीक्षा खोजेको छ । 

त्यसो त सबै प्रणालीका शासकहरुले लोकतन्त्र भन्ने गर्छन्  । अधिनायकवादी र तानाशाही सत्ता सञ्चालकले पनि आफूलाई लोकतन्त्र विरोधी भन्दैनन्, लोकतन्त्र नै भन्नेगरेका छन् । शाब्दिक भिन्नता होला, जनतन्त्र भन्लान् वा प्रजातन्त्र र लोकतन्त्र तर यी सबै शब्दले बुझाउने ‘डेमोक्रेसी’ भन्नु नै हो । भन्दैमा लोकतन्त्र हुँदैन ।  

यस अर्थमा अहिलेको (अ) राजनीतिक परिवेशमा ‘ओली पक्षीय’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको दाबा गर्ने नैतिक, सैद्धान्तिक र व्यावहारिक हक राख्छन् वा राख्दैनन् ? भन्ने विषयमा विवेचना हुनुपर्छ । लोकतन्त्र शब्दमा सीमित राख्ने होइन, हुँदैन । यो व्यवहारमा प्रदर्शित हुन्छ । यही आधारमा कम्युनिस्ट प्रधानमन्त्री ओलीको ‘स्वघोषित’ लोकतन्त्र रक्षक आफू बनेको दाबाको नैतिक र सैद्धान्तिक  आधार खोज्नुपर्ने भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

लोकतन्त्र स्वतन्त्र जनमत वा जनादेशमा स्फूरित र विस्तारित हुन्छ । आफै अध्यक्ष रहेको नेकपाको घर झगडा मिलाउन अशक्त कम्युनिस्ट प्रधानमन्त्री ओलीले जनमत प्राप्त प्रतिनिधि सभालाई राष्ट्रपतिको स्वीकृतिमा ‘अवैध’ विघटन गरिदिए । उनको यो निर्णय के लोकतन्त्रको मर्यादा अनुकूल हो ?   

ओली संरक्षित गुटबाहेक सम्पूर्ण जनमत प्रतिनिधि सभाको विघटनलाई असंवैधानिक भन्नेमा एकमत छ । विषय व्याख्या सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ । संवैधानिक इजलासमा मुद्दा रहेकै कारण कसैकसैले विघटनलाई असंवैधानिक होइन संवैधानिक भन्ने नादान तर्क गरेको सुनिन्छ । संवैधानिक नै मानिने भए बहस किन चाहियो ?

Global Ime bank

विघटनको सिफारिस र निर्णयलाई असंवैधानिक भनिएको हो । विषय संवैधानिक हुँदैमा निर्णय असंवैधानिक हुँदैन भन्न मिल्दैन । विषय संवैधानिक तर  विघटनको निर्णय असंवैधानिक वा संवैधानिक भन्ने फैसला गर्न नै परीक्षण बहस अदालत इजलासमा हुँदैछ । 

आपसी झगडाको झोँक निर्दोष प्रतिनिधि सभामा पोख्ने कम्युनिस्ट प्रधानमन्त्री ओलीले देशलाई अँध्यारो सुरुङमा धकेलेकोे सर्वत्र चिन्ता छ । जनप्रतिनिधि संसद्ले गर्न पाउने निर्णय अन्यत्र पुर्याएर भाँचिएको कुर्सीमा विराजमान प्रधानमन्त्री ओलीले देश, राजनीति, संविधान र लोकतन्त्रलाई अक्करमा पनि फसाइदिएका छन् । 

आफैँले फसाएको अक्करबाट देशलाई मुक्त गर्ने जनाधार वा हैसियत अब कम्युनिस्ट नेता केपी ओलीसँग छैन । जनताको हातबाट खोसेर आफ्नो लगाम अन्यत्रै दिएका छन् । दृश्यमा फैसला अदालत र निर्वाचन आयोगको हातमा पुगेको छ । अदृश्य चाहिँ भूराजनीतिक महत्त्वले यहाँ हुने बाह्य चलखेलको इसारासमेत अब अनुमान बाहिर रहेन । 

प्रतिनिधि सभा पुनस्र्थापना गरे पनि वा विघटन सदर गरे पनि मुलुक सजिलै ‘ओली अक्कर’बाट निस्कनेछैन ।  अदालतको फैसला अगावै आयोगले झगडिया ओली र दाहाल—नेपालमध्ये कुनै एक समूहलाई नेकपाको दलीय अधिकार वा पहिचान दिनसक्ला जस्तो लाग्दैन । 

अदालतले संसद् पुनस्र्थापना गरिदिए राजनीतिकरुपले विभाजित नेकपा कानुनतः एउटै रहनेछ । त्यस बेलासम्म दुईमध्ये कुनै एकलाई नेकपाको दर्जा सुम्पिएर विभाजनलाई कानुनी प्रमाण दिने जोखिम आयोगले लिने सम्भावना कम छ ।

संसद् पुनस्र्थापनापछि नेकपा साँच्चै विभाजित हुने भए आयोगको प्रक्रिया पनि फेरिनेछ । कि त अहिलेको कानुनी व्यवस्थाअनुसार संसद् र केन्द्रीय समितिमा चालीस चालीस प्रतिशत सदस्य देखाएर बेग्लै दल बनाउन कुनै एक पक्ष लाग्नु पर्यो नभए एउटै दल मानेर ओली कृपामा पुष्पकमल दाहाल र माधव नेपाल समूह बस्नुपर्यो । ओलीले सकेनन् वा अर्को पक्षसँग हारे भने अध्यादेशको बाटो समाएर विभाजनको उपाय खोज्नसक्छन् । 

अर्को उपाय पुनस्र्थापित सभामा अविश्वासको प्रस्ताव दर्ता र फैसला निकाल्नु पर्यो । संसदीय दलबाट नेता बदल्नु पर्यो । नेता बदलिए वा अविश्वासको प्रस्ताव पारित भए ओली समूह चूप लागेर सही बस्ने वा दल विभाजनमा जाने विकल्प रहन्छ । संसद् बैठक बोलाउने अधिकार प्रधानमन्त्री र मन्त्रिपरिषद्मा निहित छ । 

संसदीय दलको बैठक पनि संसदीय दलको नेताले बोलाउने भएकाले अहिलेका नेता ओलीले यो प्रक्रियालाई सहजै प्रयोगमा आउन दिने देखिँदैन । संसदीय प्रक्रियालाई त ओलीले यसअघि नै लत्याएर संसद् विघटनको घोषणा गरेको प्रस्टै छ । 

संसद् सदस्यहरुको आवश्यक हस्ताक्षरसहित बैठकहरु माग गरिएमा पनि ओली समूहले व्यवधान खडा गर्दैन भन्ने स्वभाव देखाएको छैन । पुनस्र्थापनापछि नेकपा सग्लो रहेर बसे परिणाम नेकपाकै सरकार रहला । जे होस्, अस्थिरता र अराजकताको अक्करबाट नेपाली राजनीति त्यतिबेला पनि सजिलै मुक्त हुने देखिँदैन । के अहिलेको नेकपा अब पनि सग्लो बन्ने कल्पना सम्भव छ र ? त्यसो त भनिने गर्छ — राजनीतिमा असम्भव पनि सम्भव हुन्छ रे !   

संसद् विघटन सदर भए पनि घोषित मितिमा चुनाव सम्भव छैन । पहिलो कुरा पुग नपुग तीन महिनामात्र बाँकी ( २०७८ वैशाख १७ र २७ गते) हुने भनिएको चुनाव गर्नका लागि प्रतिनिधि सभा विघटन गरिएकै होइन । अरु षड्यन्त्रका तानाबाना बुन्न ओली सरकारले यो समय लिएको हो । आयोगले सबै प्रक्रिया पूरा गरेर अहिलेको स्थिति, मितिमा घोषित चुनाव हुन सम्भव नभएको दाबा विज्ञहरुले सार्वजनिकरुपमै गरेका छन् । 

कुनै मितिमा गराउने भए पनि चुनावलाई बलात् आफ्नो पक्षमा पार्ने ओली सरकारको उद्देश्य उसका सबै अवैध कदमले प्रस्टै भएको छ । नेकपालाई जनमतप्रति विश्वास हुन्थ्यो भने निर्दोष जनमतप्रति घात गर्ने नै थिएन । चुनावका लागि विश्वासिलो वातावरण नबन्दा केही ठूला दलले वहिष्कार गरे भने ? नेकपा ओली समूहको हठ स्वार्थमा सबै लतारिन्छन् भन्ने पनि त छैन । 

संसद् पुनस्र्थापना नहुने हो भने चुनाव पनि नहुने प्रबल सम्भावना डरलाग्दो छ । यस्तो अनिर्णित अवस्थासम्म मुलुक वा राज्ययन्त्र र जनता ‘अधिनायकवादी’ कम्युनिस्ट केपी ओलीको हुकुममा चल्ने, चलाइने  हो कि के ? नेकपा अध्यक्ष ओलीको उद्देश्य सायद यही हो तर जनताले कहिलेसम्म सहलान् ? वा उनले जसको भरोसा लिएर देशलाई दुर्घटनाको अक्करमा फसाएका छन् तीनले कति, कहिलेसम्म साथ देलान् ? अवैध कामलाई ।

नेकपाका अध्यक्ष प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर जनताको संविधान, लोकतन्त्र, विकास र शान्ति सुरक्षासमेत मर्यादित सबै विषयलाई ‘डिरेल’ वा घात गरेका छन् । मुलुकमा अभूतपूर्व अस्थिरता, अराजकता र पराश्रय उनले बढाएका छन् । 

यसअघि सरकार फेरबदल हुने अस्थिरता थियो । यसपटक स्पष्ट बहुमतको स्थिर सरकार आएको मानियो तर नेकपा नेतृत्वको सरकारले स्थापित प्रणाली र देशलाई नै अस्थिरताको अक्करमा धकेलिदियो । ओली सरकारको निर्णयको परिणाम अन्ततः ‘राष्ट्रघातमा’ रुपान्तरित हुने लक्षण छ । देश संकटको दलदलमा फस्यो । 

लोकतान्त्रिक मूल्य मान्यता, विधि विधान र नैतिक मर्यादा सबैसबै तोडेर देशलाई अराजनीतिक अँध्यारो सुरुङमा धकेल्ने नेकपा अध्यक्ष ओलीलाई लोकतन्त्र,जनमत वा जनादेश र संविधान रक्षक हुँ भन्ने कुरा गर्न अब पनि सुहाउँछ र ? यस्तो दाबा गर्नसक्ने नैतिक, सैद्धान्तिक र व्यावहारिक चरित्र बचाएका छन् र उनले ? संविधानले नदिएको वा अनधिकृत हठबल प्रयोग गरेर संसद् विघटन गरिनुले लोकतन्त्रको, जनमतको वा संविधानको रक्षा भएको कतै मानिन्छ र ?

देशको समग्र अंगलाई आघात पार्ने विश्वासघाती निर्णयलाई लोकतन्त्रको रक्षाकवच दाबा गर्न मिल्छ र ? अहिलेको संकटको दोषभागी नेकपा हो । ओली र दाहाल नेपाल समूहमा विभक्त देखिएको नेकपाको दुवै समूह दोषी हो । 

यसअघि मुस्किलले कतै लोकतन्त्र भन्ने दाहाल अहिले पटक पटक लोकतन्त्र मिसाएको मन्तव्य दिइरहेको सुनिन्छन् । लोकतन्त्रको विकल्प रहेन भन्ने उनको आत्मस्वीकृत निष्कर्ष हो कि उनकै शब्दमा ‘बढी खरानी घसेको’ के हो उनै जानून् ? लोकतन्त्रको बाटो हिँड्ने प्रतिबद्ध बुझाइ हो भने दाहाललाई शुभकामना तर लोकतन्त्रको दाबा गर्ने सबै आधार पहिलो चरणमा नेकपा अध्यक्ष ओलीले गुमाएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  ०८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC