पृथ्वीनारायण एक कालजयी इतिहास !

रमेश भट्टराई ‘सहृदयी’

राष्ट्रिय एकता दिवस कुनै पार्टी, राजतन्त्रको वकालत गर्ने वा कुनै शासनपद्धतिलाई पक्षपोषण गर्ने पाटोबाट एक, दुईजनाको नेतृत्वभित्र खुम्चिएको संकीर्णतावादी आवाज होइन । यो सिंगो नेपालको कालजयी इतिहासको मेरुदण्ड हो ।

पृथ्वीनारायण शाहको दूरदर्शिता र निःस्वार्थताले राष्ट्रिय स्वार्थलाई बोल्छ !  नेपाली मनलाई नियाल्दा सायदैले सोच्लान्- ‘म अब पृथ्वीनारायणको योगदान भुल्न सक्छु ।’ एक दिनका लागि मात्र पनि उसको नाम लिनलाई भारी लाग्छ । यो देशले इतिहासलाई कसरी सम्मान गर्ला ? 

आधुनिक नेपालको मानचित्र बदल्ने ऐतिहासिक अभियानको प्रारम्भिक इतिहास विसं १८०१ मा नुवाकोट विजयबाट आरम्भ भयो । तत्कालीन छिमेकी देश लमजुङ र कास्कीसँग मित्रताको हात फैलाउँदै हातहतियार तथा सैनिक सुधार गर्ने रणनीतिको सबल प्रयास थियो- नुवाकोटमाथिको विजय । मकवानपुर विजय, कीर्तिपुरसँग तेस्रो पटकको प्रयासबाट मात्रै जालझेबाट प्राप्त विजय होस् या मिर कासिमको आक्रमणमा देखाइएको वीरता सबैमा गोर्खाली सान र स्वाभिमानको इतिहास छ ।

कीर्तिपुरको युद्धमा काजी कालु पाण्डेजस्ता शूरवीर मारिए, जयन्त रानाले निर्मम रूपमा छाला काढिएर मर्नुपर्‍यो, शूरप्रतापले कानो हुनुपर्‍यो । इतिहासले यही क्रोधाग्निको प्रतिकारमा पृथ्वीनारायणद्वारा धेरैको नाक कान काटेर बदला लिएको घटनालाई बोले पनि इतिहासकारहरूको मतमा यी नेपालबाट निष्कासित क्रिस्चियन पादरीहरूद्वारा गरिएको अपव्याख्या थियो । उपत्यकाबाट अंग्रेज लघारिए । उपत्यकासँगै पूर्वका सेन राज्य चौदण्डी र विजयपुर क्षेत्र नेपालमा गाभियो । फलतः किरात र लिम्बूवान् प्रदेशका राजाले गोर्खाली झन्डामुनि एकै साथ बस्ने भन्दै बोकेर आत्मसमर्पण गरे । तबदेखि ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन । सबै जातको फूलबारी हो’ भन्ने महान्  अभिव्यक्तिसँग हामीले स्वाभिमानको उच्चतामा रम्न पाइरहेका छौँ । 

सैनिकले कदर पाए । कालु पाण्डे, कीर्ति शाह, तुलाराम पाण्डे, रामकृष्ण कुँवर, केहरसिंहजस्ता योद्धाले यो संग्रामको महायज्ञमा दिलो ज्यान दिए, एकीकरणको सपना साकार पार्न कुनै कसर छाडेनन् ।

अनवरत २६ वर्षसम्म युद्धभूमिमा होमिएका पुर्खाको जीवनीसँग नेपाली माटोको अटुट नाता छ । उनका “प्रजा योग्य भए दरबार बलियो हुन्छ । जनताले मन पराएको व्यक्तिलाई काजी दिनुपर्छ” भन्ने भावमा राष्ट्रिय एकता मुखर हुन्छ । आज संसारको एउटा विन्दुमा नेपाल नामक देश छ । किनभने यहाँ पृथ्वीनारायणको एकीकरण र दूरदर्शी पौरखको गर्वलाग्दो विगत छ । उनका सामाजिक, न्यायिक नीतिसँग विज्ञानको जादू छ । ससाना राज्यलाई एक्लैले डोल्याएपछि अंग्रेजको सपनामा भेल-बाढी आयो त्यसैले त आज हामी छौँ ।

घुस लिने र दिने दुवैलाई कठघारामा उभ्याइनु, जात विशेषले कर्म गर्न पाउने स्वतन्त्रता पाउनु, अदालतको पैसालाई दरबारमा हुल्न नचाहनु अनि जोगी, साधु, गरिबप्रतिको आदरभावले आसन पाउनुमा मानवता, स्वतन्त्रता, समानता र एकताको मधुर आवाज स्वतः गुञ्जिन्छ । कृषि विकासको सपना- ‘राम्रो जमिनको घर सारेर खेती गर्नुपर्ने’, स्वदेशी कपडा लगाउने सद्प्रेरणामा र अंग्रेजको कालो नीतिको चर्को विरोधी भाव, राष्ट्रिय स्वाधिनतामा, जडीबुटी बेचेर पैसा साट्ने, खानी सदुपयोग गर्ने सबै आत्मनिर्भरताका दूरदर्शी उच्छ्वलन हुन् ।

किल्लालाई दह्रो बनाउने भावमा परराष्ट्रको कूटनीति- ‘जाइकटक नगर्नु झिकीकटक गर्नु’, ‘चीनको बादशाहसँग घाहा राख्नु दक्षिणको बादशाहसँग घाहा त राख्नु तर त्यो महाचतुर छ’ भन्ने उक्तिभित्र राज्य र सीमारक्षाबाट सैनिक सबलता पोखिनुमा कलात्मकता छ । ‘सैनिकलाई नुनको पछि नलगाउनु । राजाको सार भनेको सिपाही र रैती हुन्’ भन्ने रामराज्यको आदर्श राजधर्म झल्किन्छ । 

चन्द्र सूर्य अङ्कित नेपाली झन्डाको अस्तित्व अटल रहनुको देन पृथ्वीनारायणलाई जान्छ भन्दा अत्युक्ति नहोला । पृथ्वीनारायणसँग गाँसिएको वीर गोर्खालीको इतिहास- नेपालीपन शान्ति र क्रान्तिको आफ्नै पाटामा जीवन्त छ । पूर्वदेखि पश्चिमसम्मका ठूला देशले वीर गोर्खालीलाई किन चिन्छन् ? पृथ्वीनारायण कसरी राष्ट्रनिर्माता बन्न सक्दैनन् र ! यो देशको कीर्ति परदेशसम्म पुर्‍याउन बहादुरी पस्कने पृथ्वीनारायणको पसिना र रगतको बलिदानीलाई स्वाभिमानी देशले सदैव सम्मान गर्न जान्नुपर्छ ।

प्रतिकृया दिनुहोस
ad