site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (मंगलबार) देखि सानेपास्थित पार्टी कार्यालयमा सुरु भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थिति र आगामी रणनीति तय गर्न कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि सुरु भएको हो । बैठक सुरु भएपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले यस अघि नै पदाधिकारी बैठकबाट निर्णय गरी प्रधानमन्त्री ओलीले चाल्नु भएको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोध गरिसकेको र थप धारणा निर्माण गर्नका लागि केन्द्रीय कार्यसमिति बैठक बसेको बताए । उनले भने, ‘‘संसद् पुन:स्थापनाको सन्दर्भमा कुन प्रकारको धारणा राख्दछ या निर्वाचनको सन्दर्भमा त्यसलाई कति सुनिश्चित ठान्दछौं, कति उपयुक्त ठान्दछौं यसलाई संवैधानिक रुपमा कानुनी रुपमा चुनौती दिनुपर्ने विषयमा कसरी पुग्दछौं, राजनीतिक रुपमा प्रतिवाद गर्ने सन्दर्भमा हामीले के गर्दछौं यी सबै विषयमा गम्भीरतापूर्वक छलफल प्रारम्भ भएको छ ।’’

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कांग्रेसले प्रधानमन्त्री ओलीले चालेको कदमलाई असंवैधानिक भनिसकेको र प्रधानमन्त्री ओलीमा उत्पन्न अधिनायक आकांक्षाको प्रतिरुप भएको पनि प्रवक्ता शर्माले बताए । उनले भने, ‘‘प्रधानमन्त्रीले जे कदम चाल्नुभयो यो असंवैधानिक छ । यो अधिनायक आकांक्षाको एउटा प्रतिरुप हो । सर्वसत्तावादतर्फ जाने प्रयत्न हो । संविधानमा भएको व्यवस्थाभन्दा बाहिर गएको अवस्था छ । नेपाली कांग्रेस पार्टीले यो बेलामा जिम्मेवार भूमिकाको रुपमा हामीले कदम सार्नुपर्छ ।’’

प्रधानमन्त्री ओलीको कदमले स्थिरताका सन्दर्भमा संविधानमा गरिएको व्यवस्थालाई ध्वस्त पारेको पनि प्रवक्ता शर्माले बताए । संविधानले निर्दिष्ट गरेको प्रक्रियाभन्दा बहिर गएर प्रतिनिधिसभा विघटन गर्न पाउने अधिकार प्रधानमन्त्रीसँग नरहेको पनि उनले बताए । 

प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  १७:२६
प्रतिक्रिया दिनुहोस्