site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
सर्वदलीय बैठकले देखाएको ऐना

प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकार बनाएपछि तेस्रोपटक सर्वदलीय बैठक बोलाए यही मंसिर २३ गते मंगलवार । उनी सत्तामा बसुन्जेल अरु कतिपटक सर्वदलीय बैठक बसाउने हुन् त्यो त उनीलाई थाहा होला तर यस्ता बैठकको प्रयोजन, उपलब्धि के भनेर समीक्षा हुने बेला भयो । एकै थलोमा सर्वदलीय छलफल किन ? वा यो सत्ता संकट टार्ने र केही गरेको भान दिने देखावटी प्रयासमा प्रयुक्त हुनसक्छ ? 

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले यस्तो पहिलो बैठक कोरोना महामारीलाई विषय बनाएर आयोजन गरेका थिए । त्यतिबेला संवैधानिक व्यवस्था विरोधी छिटफुट घटना पनि भएका थिए । यही सेरोफेरोमा सर्वदलीय बैठकले कोरोना रोग नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारलाई सुझाव दिएको थियो । यस्तै व्यवस्था विरोधी गतिविधिविरुद्ध सरकारलाई साथ रहने सामूहिक ऐक्यबद्धता प्रकट भएको थियो । 

सीमा विवाद विषयमा प्रमुख प्रतिपक्षसमेत राजनीतिक दल र नागरिक समाजबाट व्यापक दबाब परेपछि प्रधानमन्त्री ओलीले दोस्रोपटक सर्वदलीय बैठक आयोजन गरे । भारतसँग विवादित लिम्पियाधुरालगायतका नेपाली भूभाग समेटिएको मानचित्र बनाउने प्रयोजनले बोलाइएको बैठकले उनलाई सर्वसम्मत साथ दियो  । 

Agni Group

यसअघि नेपाली भूमि मिचिएको थाहा नपाएको अभिनय गर्दै प्रधानमन्त्री ओलीले सार्वजनिक र संसदीय समितिको चासोलाई समेत उपेक्षापूर्ण उत्तर दिएका थिए । सर्वदलीय बैठक चाहिँ भारतले नेपालको पश्चिमी भूमि अतिक्रमण गरेको एकस्वरमा सहमत भयो । आफ्नो जमिन समेटेर नक्सा जारी गर्न र त्यसलाई संविधानको अनुसूचीमा समावेश गर्न संसद् र सबैले सर्वसम्मत सहयोग गरे ।  

सर्वदलीय साथ पाएका प्रधानमन्त्री ओलीले आयोजना गरेको तेस्रो बैठक भने उनीसँगै एकसाथ उभिन हच्कियो, किन ? यो बैठकको मूल उद्देश्य राजावादी आन्दोलन लक्षित थियो । कोरोनालगायत समावेश अन्य विषय देखावटी लाग्छन् । कोरोना नियन्त्रण गर्न यसअघि दलहरु र विज्ञले दिएका लिखित, मौखिक सुझावलाई सरकारले कुनै मूल्य दिएन । नेकपा सरकारको गतिविधि नसुध्रिए व्यवस्थाविरोधी भावना बढ्ने दलीय पूर्वसंकेतलाई पनि आफ्नो सर पर्दासम्म उपेक्षा गरियो ।

Global Ime bank

यस्तो भयावह बेलामा पनि थप आर्थिक अनियमितताको निर्लज्ज घटना सार्वजनिक भए । कोरोना परीक्षण औषधि खरिदलगायतका भ्रष्टाचारको छानवीन त परै प्रधानमन्त्रीले नै रक्षाकवच भएर अभिव्यक्ति सार्वजनिकरूपमै दिए । भागबन्डाका लागि कराए पनि, सरकारी बेथितिको ढाकछोप गर्दै वा लामो समय मौन गुजारेका उनकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रकाशित गरेको मूल्यांकनपत्रमा नेकपा ओली सरकारको शैली, प्रवृत्ति र देन भ्रष्टाचार, बेथिति र स्वेच्छाचार भएको स्वीकारोक्ति प्रकट भएको छ । थप अरुले भन्नु आवश्यक रहेन ।

यिनै कारणले मंगलबारको सर्वदलीय बैठक पहिलेका दुई बैठकमा जस्तो सरकारलाई सर्वसम्मत साथ दिन हच्कियो । नेकपा सरकारको लोकतन्त्र, संविधान र जनविरोधी कामको प्रतिफल राजावादी पन्पिएको बैठकको सामूहिक राय आयो । संघीयतालाई बाख्राको टाउकोमा भैँसीको सिङको उपमा दिने र गणतन्त्र नेपाल चाहिँ बयल गाडामा अमेरिका यात्रा सरह मान्ने प्रधानमन्त्री ओली नेतृत्वको सरकार लोकतन्त्र विरोधी राजनीतिक दर्शन प्रशिक्षित नेकपाले चलाएको छ । 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानविपरीत  पृष्ठभूमिको नेकपा र सरकारी गतिविधिले राजनीतिक वृत्तमा थप आशंका बढेको छ । नेकपा नेतृत्वको सरकारी गतिविधिले लोकतान्त्रिक धारसँग विश्वास भत्काएको र विपरीतको हौसला बढाएको परिणाम देखिँदैछ । सर्वदलीय बैठक सर पर्दा सबैलाई उपेक्षा र असर्दो पर्दा बच्ने रक्षाकवच होइन । लोकतन्त्रमा सधैँ सर्वदलीय भाव चाहिन्छ । अनिमात्र असर्दो हटाउन सर्वदलीय बैठकले साथ दिन्छ । साथ र सहयोग उसले नै पाउँछ, राजनीतिमा सदा इमानी सर्वपक्षीय भाव जसले प्रदर्शित गर्छ ।

‘भैंसीको सिङ र बयल गाडा’ सादृश्य राजनीतिक मान्यताले वशिभूत नेतृत्वको संघीयता प्रतिकूल ‘एकाधिकार वा अधिनायकवादी’ अधिकार केन्द्रित गर्ने उद्देश्य शासन शक्तिको स्वेच्छाचारी प्रयोगका लागि हो । नेकपा अध्यक्ष प्रधानमन्त्री ओली स्वेच्छाचारी रहेको निष्कर्ष अर्का कार्यकारी अध्यक्ष दाहालको ‘प्रचण्डपत्र’ नै हो । विरोध गरेको व्यवस्थापनको नेतृत्व गर्न पुगेका ओली उहिले बाले सुनाउनु भएको भाले कार्टुनका पात्र प्रवृत्तिजस्ता लाग्छन् । 

राणा शासनको बेला काठमाडौंमा लामो बसाइ । राणा विरोधी प्रजातान्त्रिक आन्दोलन । पत्रिकामा राणा प्रतीक पहाडमा आन्दोलन प्रतीक कुखुराको भाले पँखेटाले हिर्काउँदो कार्टुन दृश्य छापिएको । (पत्रिकाको कार्टुन इतिहासमा यसको खोजी होला वा पोस्टर हुनसक्छ । यी दुवै बाहेक राणा भक्तहरु रचित व्यंग्य मौखिक र जनश्रुति ? जे होला, खोजी होला ।) 

पहाड प्रतीकमा देखाइएको राणा सत्ता अन्ततः ढल्यो अनि कार्टुन फेरियो र भाले त उँडेर त्यही पहाडी टाकुरामा पुगेर ‘कुखुरी काँ’ बास्न थालेछ । उहाँले सुनाउनु भएको कार्टुन कथा, कार्टुनकारले उपयोग गरेको अवसरवाद । यस्तै बाख्राले भैँसीको सिङ लगाएको संघीयता र बयलगाडामा अमेरिका जाने यात्रुका नेता उनै केपी ओली ?    

अध्यक्ष दाहालले त्यस पत्रमा प्रधामन्त्री ओलीले कहिल्यै समाजवादको कुरा नगरेको स्मरण पनि गरेका छन् । तर, प्रचण्डले घोकाउन खोजेको समाजवाद पनि संविधान निर्दिष्ट लोकतान्त्रिक समाजवाद भने होइन । बरु कम्युनिस्ट अधिनायकवादी समाजवाद हो । किनभने दाहालले पनि नेपालको संवैधानिक लोकतन्त्रको पक्षमा  कहिल्यै बोलेका छैनन् । उनको समाजवाद, लोकतन्त्र ‘कम्युनिस्ट जनवाद’ हो । स्वेच्छाचारी ठहर गरिएका अध्यक्ष ओलीलाई कम्युनिस्ट अधिनायकवादी धारमा हिँडाउने भित्री दबाबी प्रयत्न पनि नेकपाको सतही विवादको कारण हो । 

‘नक्कली’ विधिको गफ र खास भागबन्डाको झगडामा ओलीको मात्रै किन दाहाल, नेपाल, खनाल र आउरेबाउरेको हिस्साकोटाले राज्यको सबै संयन्त्र भर्ने उद्देश्य हो, स्रोतको दोहन गर्ने दाउ । नेकपा र यसको सरकारको वर्तमान गतिविधिले देश, जनतालाई क्षति गर्ने हो, गरेको छ । यस्तो अवस्था बनाएर सर्वदलीय सहमति र सहयोगको अपेक्षा गर्ने नैतिक हैसियत के वा उद्देश्य के ? यिनीहरुको उद्देश्य उल्लिखित राजनीतिक पृष्ठभूमि निर्देशित गतिविधिले स्पष्टै गरिसक्यो ।    

स्थापित विधि, व्यवस्थालाई भद्रगोल बनाएर लोकतान्त्रिक प्रणालीप्रति नै अविश्वास जगाउने नेकपाको सोद्देश्य प्रायोजन निर्बाध चल्दा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस चुकेको ठाउँ स्पष्ट देखिन्छ । नेकपा सरकारको बेथिति उत्पन्न जनआक्रोशलाई विकल्पमा कांग्रेस छ नि भन्ने भरोसाले किन आकर्षित गर्न सकेन ? आखिर आक्रोश र पछि तज्जन्य विद्रोहले कुनै धार लिने निश्चित हुन्छ । 

असन्तुष्ट आक्रोशले राजावादीधार लिन खोज्यो । कांग्रेसले मैदान खाली छोड्यो । ‘भ्याकुम’ भरिनु नै थियो तर भर्ने शक्ति यतिबेला कांग्रेसमा रहेन । विश्वास आर्जन र कायम नगर्ने शक्ति विकल्प पनि हुँदैन । कांग्रेसलाई यस्तै दीन, हीन बनाइयो । अर्कोतिर कम्युनिस्टको लफ्फाजी र ‘जार्गन’ यतिबेला वार्ता, अन्तर्वार्तामा खुब चर्को सुनिन्छ । 

यहाँका टाकुरे, भुरे कम्युनिस्टहरु एक सासमा दलाल पुँजीवाद, साम्राज्यवाद, सामन्तवादको विरोध फलाक्छन् र राष्ट्रवादको व्याख्या थाल्छन् । सँगै गुट अन्त्य र वर्ग संघर्षको राग भर्छन् । अनि संविधान र लोकतन्त्र रक्षाको कुरा पनि मिसाउँछन् र कम्युनिस्ट विधिको बखानसँगै वर्गीय अधिनायकवाद पनि माग्छन् । यस्ता विरोधाभाषी लफ्फाजी बखान्ने यहाँका नव धनाढ्य कम्युनिस्टले उत्तर दिए हुन्थ्यो — उनीहरुले भनेजस्तो कम्युनिस्ट देश कुन हो ? भेनेजुएला, क्युबा, उत्तरकोरिया, चीन वा कुन ? यिनीहरुको लफ्फाजी मिल्दो कम्युनिस्टहरु कहाँ छन् ? सारा सुविधा र अवसरको पदमा परिवारका सदस्य भरेर नवसामन्ती त यिनीहरु आफैँ बनेका होइनन् र ?      
कम्युनिस्टले बिगार्ने, कांग्रेस केही गर्न नसक्ने । अनि कोही त आउँछ नै राम्रो गर्छु र सक्छु भनेर । इतिहासले डामी सकेका र परीक्षण भइसकेका विघटित शक्तिले पनि आक्रोशको ज्वाला एकीकृत गरेर मौकामा चौका मार्ने प्रयत्न गर्नु अनौठो होइन । यही मौकामा राजनीतिका ‘रिटेल’ पसल खुल्छन् । आजको जुझारु मैदानी पुस्ताले राजशाही सुनेको मात्रै हो, भोगेको याद होइन । भोगको सुस्वाद पाएकाहरुले आक्रोशलाई आकर्षण गर्न नारा दिने नै भए । 

अर्को कुरा राष्ट्रपतिदेखि सरकार वा राजनीतिक दलको व्यवहार अपेक्षित नपाएको मानिस के आधारले अहिलेको बेथितिसँग बाँधिरहने ? ऊ छनोटका लागि स्वतन्त्र छ । हिजो कांग्रेस, कम्युनिस्टलाई अवसर दिएकै हुन् तर यिनले सेवा प्रवाह गर्न सकेनन् भने मौका अरुले लिन्छ त ! राजनीतिमा यसो हुनु के आश्चर्य हुन्छ र ? राजाको ठाउँमा महाराजाहरु खोजेका त थिएनन् नि नागरिकले । 

एउटा सत्य चाहिँ के हो भने, स्वःस्फूर्तजस्तो लाग्ने राजावादी आन्दोलनलाई जब राप्रपाले प्रत्यक्ष भजाउन खोज्यो अब यो आन्दोलन तुहिनेछ । अर्को, सत्ताको स्वाद मजैले खाएका झगडालु सरकारी कम्युनिस्टलाई एकै थलोमा टासिनै पर्ने जीवनदायी औषधि पनि यो राजावादी आन्दोलन हुनेछ । यस्तो राजनीतिक गन्जागोल छिचोलेर देशले लिन निकास के हो ? ठम्याइ बाहिर भए पनि अनुमानले चाहिँ दुःखद हुने नै देखाउँछ ।     

डेढ वर्षदेखि कम्युनिस्ट लफडाले देश बन्दी भएको अवस्थामा सर्वदलीय बैठकअघि चरित्र सर्वपक्षीय बनाउनु पर्यो । प्रधानमन्त्रीमा ओलीको कुर्ची रक्षा गरिदिने मनसुवा वा छविमा पोतिएको उनको स्वयं हस्तलेप पुछ्न पनि सर्वदलीय बैठक सहमत हुँदैन नै । यसपटक यस्तै भयो । राजावादी हौसिएको ऐना पुछेर होइन नेकपा र कम्युनिस्ट सरकारले अनुहार धोएर हेर्नुपर्यो । अनि देखिन्छ सही चित्र स्वरुप । जुट्न पनि नसक्ने र टुट्न पनि नमान्ने कम्युनिस्टको त्यो स्वरुप तेस्रो सर्वदलीय बैठकले सायद देखाइ दियो कि ? सत्ता ग्लुले टाँसिएको नेकपा अनुहार धोएर सुध्रिनुभन्दा ऐना नै फुटाउनै लाग्ने हो  कि ? 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७  ०८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC