site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
संकटलाई अवसरमा बदलौं 

विद्यमान अवस्थामा कोरोना भाइरस महामारीले बहुपक्षीय असरहरू सिर्जना गरेको छ । त्यी आर्थिक–सामाजिक र राजनीतिक असरहरू हामी सबैले महसुस गरेका छौं । सबैभन्दा पहिले त संकटबाट बच्नु सबैभन्दा अहं सवाल हुन्छ । संकट जति गहिरो र संवेदनशील हुन्छ, त्यसलाई सम्बोधन गर्न त्यही स्वरुपको रुपान्तरणकारी सोच चाहिन्छ । रोगको सही निदान गरेपछि मात्र कस्तो उपचार चाहिन्छ, त्यसको निर्क्योल गरिन्छ । विद्यमान आर्थिक, सामाजिक र राजनीतिक संकटको परिस्थितिले पनि उत्तिकै घनत्वको आमूल परिवर्तन र रुपान्तरणकारी सोचहरूको खोजी गर्छ । जसले आम मानिसलाई सहभागी गराउन सकोस् र जनस्तरमा त्यसको लाभ पुगोस् । 

जनस्तरमा लाभ पुर्‍याउने विषय सहज पक्कै छैन । असम्भव पनि छैन । त्यसका लागि आमूल परिवर्तनको खाँचो पर्छ । हाम्रो आर्थिक–सामाजिक विकासमा २०४६ को राजनीतिक परिवर्तनपछिको झन्डै एक दशक महत्वपूर्ण मानिन्छ । उक्त परिवर्तनपछि अर्थतन्त्रको संरचनामा एउटा ठूलो परिवर्तन देखियो– उद्यमशीलता विकास, लगानी आकर्षण, रोजगारी, अर्थतन्त्रमा नयाँ सम्भावनाहरूको खोजीमा त्यो अवधिलाई आर्थिक–सामाजिक विकासको स्वर्णकाल भन्दा हुन्छ । यसले मुलुकको कुल गार्हस्थ उत्पादनमा ३५ प्रतिशत नयाँ क्षेत्रहरू विकास भए । दूरसञ्चार, निजी अस्पतालहरू र शिक्षण संस्था, हस्पिटालिटी, निजी वायु सेवा कम्पनीलगायत नयाँ क्षेत्र उदाए । अब पुनः अर्थतन्त्रमा ठूलो संरचनात्मक परिवर्तन चाहिएको छ । 

आमूल परिवर्तनका लागि सम्भावनाहरूको खोजी गर्ने क्रममा मैले धेरै अन्तक्र्रिया र चिन्तन गर्ने क्रममा केही रुपान्तरणकारी हुन सक्ने सोच अघि सारेको छु । आफ्नो सम्पर्कबाट मैले भारत र चीनजस्ता विश्वका दुई ठूला उदीयमान अर्थतन्त्रबाट जनस्तरमा कसरी लाभ लिन सकिन्छ भन्ने व्यावहारिक उपाय पहिल्याएको छु । नेपाल, भारत र चीनका जनतालाई जनस्तरमा लाभ पुर्‍याउने साझा समृद्धिका सूत्र हाम्रा अगाडि छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

विगतमा भारतसँगको सम्बन्धमा केही राजनीतिक दलका नेता र कार्यकर्ताको तहमा पक्ष या विपक्ष हुन्थ्यो । भारतसँगको सम्बन्धको उतारचढावको असर अब दुवैतर्फ जनताको स्तरमा समेत पुगेको छ । नेपाल–भारतबीचको सम्बन्धलाई सन्तुलित गर्ने आधार भनेको हामीले तय गर्ने साझा समृद्धि हो । यतिबेला झन्डै ६० लाख मानिस बेरोजगारी र अर्ध–बेरोजगार हुने अवस्था छ । यद्यपि, ती यस्ता युवा हुन्, उनीहरू राजनीति मतदाताका हिसाबले निर्णायक अवस्थामा हुनेछन् । नेपाल र भारत सम्बन्धको उतारचढावले जनस्तरमा देखिएको समस्या समाधानका लागि जनस्तरमा हामीले साझा समृद्धि कायम गर्न सकिने आधार ‘पर्यटनमा साझेदारी’ हुन सक्छ ।

नेपाल र भारत मिलेर ५० लाख पर्यटकलाई भारतबाट नेपाल ल्याउने मार्गचित्र बनाउन सकिन्छ । भारतबाट ५० लाख पर्यटक ल्याउने विषय ठूलो होइन । अब हामीसँग तीन वटा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल तयार हुँदैछन् । भारत सरकारले आफ्ना निजामती कर्मचारीहरूलाई भ्रमणका लागि हरेक वर्ष निश्चित प्रोत्साहन दिँदै आएको छ । यदि भारत सरकारले त्यो प्रोत्साहन नेपाल भ्रमणका लागि जोडिदियो भने नेपाल र भारतका पर्यटन क्षेत्रका उद्योगीहरू मिलेर त्यस्ता पूर्वाधार निर्माण गर्नेछन् । यदि ५० लाख पर्यटक आउने अवस्था भयो भने नेपालको पर्यटन उद्योगमा कायापलट हुन्छ, कयौं नयाँ पर्यटन गन्तव्यहरू खुल्नेछन् । त्यसले थुप्रै उद्योग, व्यापार र आपूर्ति शृंखलाको सम्भावना उजागर गर्नेछ र डेढ करोड मानिसले काम पाउँछन् । एउटा पर्यटकले कम्तीमा पनि तीन जनालाई रोजगारी दिन्छ । यदि दुई देशबीच आपसी समझदारी बन्यो भने यसका लागि बृहत्तर कार्यक्रमहरू बनाउन सकिन्छ । 

Global Ime bank

यही विषयमा मेरो चिनियाँ नेटवर्कमा पनि संवाद भएको छ ।  चिनियाँ लगानीकर्ता सधैं यहाँ जलविद्युत् परियोजना निर्माण गर्न चाहन्छन् । भारतले चिनियाँ लगानी भएका परियोजनाबाट विद्युत् नकिन्ने नीति बनाउँछ । भारतको यो नीतिले चिनियाँहरू लगानी गर्न हच्किएका छन् । पश्चिम सेती, बूढी गण्डकीजस्ता उच्च क्षमताका जलविद्युत् आयोजनामा चिनियाँ लगानीकर्ताहरू अघि नबढेका कारण पनि यही हो । चिनियाँहरूले बूढीगण्डकी या पश्चिम सेतीजस्ता ठूला जलविद्युत् परियोजना विकास गरेर एउटा रासायनिक मल कारखाना खोल्न सक्ने सम्भाव्यता हामीकहाँ छ । यदि चिनियाँ लगानीकर्ताले सर्वांगीण ढंगले उत्पादित विद्युत्लाई समेत नेपालमै उपयोग गर्ने सोच्ने हो भने यी ठूला विद्युत् आयोजनामा चिनियाँ लगानी सम्भाव्य हुन्छ । केरुङबाट रेल काठमाडौं ल्याउनुभन्दा नेपालका लागि विद्युत् र रासायनिक मल कारखानासहितको एकीकृत परियोजना विकास गरियो भने नेपाली जनताले त्यसको लाभ सबैभन्दा छिटो पाउनेछन् । त्यस्तै, भारतले रक्सौलबाट काठमाडौं रेल ल्याउनुभन्दा ५० लाख पर्यटक ल्याउनका लागि पूर्ण सहयोग गर्‍यो भने जनस्तरमा त्यसको लाभ छिटो र सघन हुन्छ । भारतले अहिले नेपालसँगको सीमा नाकाहरू नजिक पनि विमानस्थल निर्माण गरिरहेको छ । 

जनस्तरमा लाभ दिने यस्ता रुपान्तरणकारी सोच कार्यान्वयनका लागि हाम्रा मित्र राष्ट्रहरू तत्पर हुन सक्छन् । मन मिल्यो भने विचार र धारणा मिल्न समय लाग्दैन । भारत र चीनले चाहे यी कुनै दुसाध्य र ठूलो लगानी चाहिने या कठिन काम होइनन् । यस्ता कामलाई हामीले अघि बढाउन सक्यौं भने दुवै मित्र राष्ट्रसँग हाम्रो मित्रवत् र दिगो सम्बन्ध कायम हुन्छ । रासायनिक मलको सहज आपूर्ति हुन थाल्यो भने हाम्रो कृषि उत्पादनमा अर्को तहको रुपान्तरण सुरु हुनेछ । 

विद्यमान संकटबाट उल्लिखित सोचहरूतर्फ अघि बढ्नुअघि त अस्तित्व बचाउनु सबैभन्दा महत्वपूर्ण हुन्छ । यस परिप्रेक्ष्यमा मलाई भारतीय उद्योगपति एवं समाजसेवी रतन टाटाको अभिव्यक्ति स्मरण हुन्छ । उनले भनेका छन्, ‘संकटको समयमा अस्तित्व जोगाउनु नै व्यवसायका लागि ठूलो लाभांश हो ।’ अर्थात्, संकटमा सबैभन्दा पहिले त बाँच्नुपर्छ अनि मात्र दायाँबायाँ हेर्ने र विकल्पहरू सोच्न सकिन्छ । संकटलाई अवसरमा बदल्नतर्फ अघि बढ्दै गर्दा पनि अस्तित्व त जोगाउनुपर्‍यो ।  संकटले आर्थिक–सामाजिक हानि पुर्‍याएको छ । यद्यपि त्यसलाई गहिरिन दिनु हुँदैन । यसका लागि सबैभन्दा पहिले आम मानिसको जीवनसँग गाँसिएका अत्यावश्यक दैनिक आवश्यकता पूर्ति हुने, पोषण र स्वास्थ्यको संवद्र्धन गर्ने तहमा उनीहरूलाई सकेसम्म राहत र विस्तारै रोजगारीका अवसर दिनुपर्छ । 

मागमा कमी (डिमान्ड शक) का कारण उद्यम, व्यवसायले उत्पादन र सेवा प्रवाहमा कटौती गरेका छन् । माग कम भएपछि हामीले नै पनि सिमेन्ट प्लान्टलाई न्यून क्षमतामा चलाएका छौं । यदि विकास निर्माणका कामहरू हुने र निर्माण सामग्रीको माग बढ्ने अवस्था हुन्थ्यो भने उद्योगहरू पूर्ण क्षमतामा चल्थे र धेरै सिफ्टमा धेरैले रोजगारी पाउने थिए । मागमा कटौतीको सीधा असर मुलुकमा अधिकांश उद्यम र व्यवसायको आम्दानीमा परेकाले रोजगारी या ज्याला कटौती भएको छ । मानवीय जीवन रक्षाका लागि समाजको तल्लो वर्ग (बटम अफ द पिरामिड) लाई राज्यले हेर्नुपर्छ । उनीहरूको सुकेको खल्ती भरिदिएर दैनिक आवश्यकता पूर्ति गर्न सक्षम बनाउनुपर्छ । त्यसपछि उसलाई रोजगारी दिनुपर्छ । रोजगारी सिर्जनामा सरकारको पुँजीगत खर्चको महत्वपूर्ण भूमिका हुन्छ । किनकि, सरकारले विकास निर्माणमा गरेको खर्चबाट एउटा श्रमिकसमेतले आम्दानी गरेर पेट पाल्न सक्छ । सरकारले खर्च गरेपछि आम मानिसको हातमा पैसा पुग्छ, त्यसले बजारमा माग बढ्न थाल्छ ।

उत्पादक र सेवाप्रदायकले उत्पादन बढाउन थाल्छन् । व्यवसायको आकार बढेपछि उनीहरूले थप मानिसलाई रोजगारी दिन थाल्छन् । यद्यपि, हामीकहाँ विकास खर्च सधैं न्यून रहँदै आएको छ । आर्थिक वर्ष सुरु भएको साढे चार महिना बितिसक्दा पनि विनियोजित बजेटको दस प्रतिशत पनि पुँजीगत खर्च भएको छैन । सरकारले खर्च नगर्दा माग पक्षमा समस्या यथावत् छन् । अर्कोतर्फ, मौद्रिक नीतिमार्फत वित्तीय स्रोतको आपूर्तिमा लचकता अपनाएर मात्र त्यसले सफल रुपमा काम गर्न सकेको छैन । 

मौद्रिक नीतिमार्फत वित्तीय स्रोतको उपलब्धतासँगै मानिसहरूको हातमा पैसा पुग्ने, बजारमा माग बढ्ने वातावरण बनाउन सकेको भए कर्जाको माग पक्कै पनि बढ्ने थियो । मागमा कमी आउनु भनेको अन्ततः सरकारको राजस्वमा पनि असर पर्नु हो । माग र उपभोगमै कमी आएपछि सरकारको राजस्व संकलनसमेत स्वतः कमजोर हुँदै जान्छ । त्यस कारण एउटा पक्षबाट मात्र अहिलेको समस्यालाई सम्बोधन गर्न सकिँदैन । धेरै मुलुकहरूको अनुभवले के देखाएको छ भने आपूर्ति पक्षबाट ऋण जतिसुकै सस्तो बनाए पनि माग पक्ष सशक्त नभएसम्म अर्थात् माग र आपूर्ति पक्षमा सन्तुलन कायम नगरेसम्म अर्थतन्त्र सही ढंगले अघि बढ्न सक्दैन । 

मुलुकमा रोजगारी नपाएपछि श्रमिकहरू जीवन जोखिममै राखेर भारत र अन्य श्रम गन्तव्य मुलुकतर्फ लागिरहेका छन् । रोजगारी सिर्जना तत्काल हुन सक्दैन भने पनि लक्षित वर्गलाई नगद अनुदानको व्यवस्था गर्नुपर्छ । संसद्मा पनि हामीले यो सवाल पटक–पटक उठाएका हौं । लक्षित वर्गलाई नगद प्रोत्साहन दिएर सरकारलाई कुनै घाटा हुँदैन । अन्ततः त्यो पैसा बजारमा प्रवाह भएर आर्थिक गतिविधि क्रमशः बढ्न थाल्ने हुन् । 

कोरोना महामारी सुरु भएपछि कृषि क्षेत्रको विकासका निकै भाषणबाजीहरू भए । तर, खेतीको सिजनमा किसानले सहजै रासायनिक मल किन्न समेत पाएनन् । यस्ता अव्यवस्थामा सुधार नगरी हामीले कल्पना गरेको संरचनात्मक रुपान्तरणसम्म पुग्न सकिँदैन । 

साभार : नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अर्थनीति 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  ०९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC