site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
बैङ्‍क नोटबाट कोरोना सर्दैन

काठमाडौं । विश्व यतिखेर कोरोना भाइरससँग युद्ध लडिरहेको छ । के गर्दा यसबाट बच्न सकिन्छ र के गर्दा यो महामारीले हामीलाई गाँज्छ भन्नेबारे पनि अनेक अड्कलबाजी भइरहेका छन् । सत्यतथ्य कुरा निकै कम बाहिर आइरहेको छ, अनुमानका कुरा बढी फैलिएका छन् । 

पत्रपत्रिका र बैङ्क नोटबाट कोरोना भाइरस सर्छ कि सर्दैन भन्नेबारे पनि अनेक टिका–टिप्पणी भइरहेका छन् । यही अन्योलबीच विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बैङ्क नोट र सिक्काबाट कोरोना नसर्ने स्पष्ट पारेको छ । बैङ्क नोटबाट जब कोरोना सर्दैन भने पत्रपत्रिकाबाट पनि नसर्ने बुझ्न गाह्रो पर्दैन । यद्यपि, कुनै पनि सरुवा रोग लागेका मानिसले छोएको पत्रपत्रिका वा सिक्का तथा नोट सीधै हातमा लिँदा र उक्त हातलाई नाक, मुख अनि आँखामा छुँदा सङ्क्रमण हुने सम्भावना रहन्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भारतीय संस्था करेन्सी साइकल एसोसियसन (सीसीए) ले मङ्गलबार भनेको छ– “बैङ्क नोटका कारण कोरोनाभाइरसको सङ्क्रमण फैलँदैन ।” उक्त एसोसियसनले भारतमा नोट प्रबन्धनको काम गर्छ । “बैङ्किङ इन्डस्ट्रीमा चलिरहेको केही एड्भाइजरीमा नोटबाट सङ्क्रमण फैलने खतरा रहेको उल्लेख गरिएको पाइएको छ । तर सीसीए स्पष्ट गर्छ, नोट लेनदेनबाट कोरोना फैलँदैन,’’ सीसीएले भनेको छ ।

तर डल्यूएचओ र सीसीए दुवै संस्थाले नोट तथा सिक्का लेनदेन गरेपछि साबुनपानीले हात धुन भने स्मरण गराएका छन् । यसका अतिरिक्त एटीएम बुथमा स्यानिटाइजर राख्नसमेत सुझाइएको छ । 

पुराना नोटको प्रयोगबारे डब्ल्यूएचओले भनेको छ– पुराना नोट धेरै मान्छेका हातमा परेर आउने भएकाले यसको प्रयोगपछि हात धुनु सङ्क्रमणबाट जोगिने मुख्य उपाय हो । कोरोना सङ्क्रमण फैलिएका मुलुकका मानिसले सिक्का वा बैङ्क नोट हातमा लिएपछि मुख, नाक, कान र आँखामा नछुन पनि डब्ल्यूएचओले सल्लाह दिएको छ । कुनै पनि नोट वा सिक्का अर्को मानिसको हातबाट आफूले लिएपछि हात धुनु कोरोना मात्र होइन, अन्य सङ्क्रमणबाट पनि जोगिनु हो । 

नेपालको केन्द्रीय बैङ्कले पनि एटीएम बुथहरूमा स्यानिटाइजरको व्यवस्था गर्न सबै बैङ्कहरूलाई निर्देशन दिइहाल्नु जरुरी छ । नेपालमा एक साता लामो लकडाउनको समयमा मानिसलाई पैसा जरुरी पर्दा एटीएमबाटै बढी कारोबार हुन्छ । बैङ्कहरूले एटीएममा पर्याप्त रकम राखिदिनु आवश्यक छ । साथै, एटीएमका किबोर्ड, ढोकालगायत स्यानिटाइज गर्नु जरुरी छ । पुराना विशेषगरी पुराना नोट हातमा परेपछि साबुनपानीले मिचिमिची हात धुनु सङ्क्रमणबाट जोगिनु हो भन्ने बुझ्नुपर्छ । 
(एजेन्सीहरूको सहयोगमा)
 

प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  ११:३९
प्रतिक्रिया दिनुहोस्