site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
 राजाले जनताको अधिकार खोस्दा के भयो हालत ?

पर्दा बेग्लै झ्याल उही
खोपडी बेग्लै ख्याल उही
जिब्रो बेग्लै र्‍याल उही
छाला बेग्लै स्याल उही
सत्र साल भाग दुई ।

माथिको कवितांशका कवि हुन् अर्जुन पराजुली । २०६२–२०६३ को जनआन्दोलन अघि यो कविता सुनेर मानिसहरु जनआन्दोलन भाग –२ मा जुरुक्क उफ्रन्थे । 

दलहरु घडी हेरेर विभिन्न चोकमा फन्को लगाइरहेको बेलामा अर्जुन पराजुलीका कविता वा कृष्ण पहाडीका भाषण सुन्न मानिसहरुको भीड लागेको हुन्थ्यो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जनतालाई कुरा बुझाउन उनीहरुको भूमिका महत्वपूर्ण थियो । तर, जुन आशा र अपेक्षा गरेर लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो केही नेता र तिनका आसेपासेको भलाइ नै गणतन्त्र हो भन्ने अहिले चरितार्थ गर्न खोजिएको भन्दै आम गुनासो पाइन्छ ।

जनताले पाएको स्वतन्त्रता विभिन्न कानुनको नाममा अपहरण गर्ने प्रयास भइरहेको छ । नातावाद, कृपावाद, भ्रष्टाचारको जालो जताततै छरपष्ट छ । 

तर, त्यतिबेला लोकतान्त्रिक गणतन्त्र ल्याउन खटिएका कवि पराजुलीलगायत भने अहिले दृश्यमा छैनन्  । किन ? उनी भन्छन्– कतै नियुक्ति लिने दौड जित्नु पनि छैन र  कसैको चाकडी बजाउनु पनि छैन ।”

तर, गल्ती भयो भने औंला ठड्याउने काम भने उनले विभिन्न माध्यमबाट गरिरहेका छन् । 

प्रस्तुत छ– बाह्रखरीका लेखनाथ अधिकारीसँग उनले गरेको कुराकानीको सम्पादित अंशः  

यहाँहरु २०६२–२०६३को आन्दोलनमा जुन उद्देश्यले लाग्नुभएको थियो त्यो उद्देश्य पूरा भयो जस्तो लाग्छ ? 

सैद्धान्तिक रुपमा धेरै कुरा प्राप्त भए । तर, व्यवहारिक रुपमा प्राप्त हुन सकेका छैनन् । छोटकरीमा भन्नुपर्दा यही हो ।

राजतन्त्र गयो र गणतन्त्र स्थापना भएको छ । हामी गणतन्त्रको लागि लडेका थियौं । चुनाव भयो । सरकार बन्यो । 

संविधान बनेको छ । तर, आर्थिक विकासदेखि अन्य विविध काम अझै हुन सकेनन् । नेताहरुले जनतालाई चित्त बुझ्ने गरी काम गर्न सकेनन् ।

गणतन्त्र भनेको नेताका आसेपासेका लागिजस्तो मात्रै देखियो भन्ने सुनिन्छ । के तपाईँहरु आन्दोलनमा सामेल हुनुभएको यही नातावाद र  कृपावादलाई प्रश्रय दिनका लागि थियो त ?

सिद्धान्तको हिसाबले नातावाद र कृपावादका कुरा थिएनन् । 

तर, व्यवहारमा राम्रा कुराहरुसँगै फोहर पनि आएका छन् ।  सिद्धान्त राम्रोसँग लागु भएन । राम्रो सिद्धान्तमा टाँसिएर फोहर पनि आएको छ । 

तर, हामी आन्दोलनमा लाग्नुको मुख्य एजेन्डा राजतन्त्र फाल्नु थियो, फाल्यौं ।  अरु कसको के उद्देश्य थियो हामीलाई थाहा छैन । कसैको नयाँ सरकार बनेपछि नियुक्ति पाइन्छ भन्ने थियो होला, कसैको प्रधानमन्त्री वा मन्त्री बन्ने थियो होला । 

तर, हाम्रो उद्देश्य भनेको गणतन्त्र ल्याउने र जनताले संविधान ल्याउनुपर्छ भन्ने थियो । त्यो सफल भएको छ । तर, सच्याउनुपर्ने कुरा थुप्रै छन् । 

जनआन्दोलनको उद्देश्य सैद्धान्तिक रुपमा प्राप्त भयो तर व्यवहारमा भएन भन्नुभयो । व्यवहारमा नभएको खबरदारी गर्न नसकेर पनि हो कि  ?
 
नेताहरुको बोलीअनुसार काम नगर्ने चरित्र भएर यस्तो भएको हो  । 

बोली एकथोक र व्यवहार अर्कै उनीहरुले गरिरहेका छन् ।

मानिसमा भएको कमजोरी पनि होला यो । नेताहरुमा बोलीअनुसार व्यवहार नगर्ने कमजोरी देखिएको छ । 

सरकारलाई सच्याउन विपक्षीले पनि आवाज उठाउन नसकेको हो ?

विपक्षीले सशक्त लगाम लगाउन सकेको देखिएन । हुनत जनताले दिएको मत पनि त्यस्तै छ । 

विपक्षी दलभित्रै पनि गुटबन्दी र झगडा छ । ‘भाइ फुटे गवार लुटे’ भनेजस्तो देखिएको छ । 

सत्तापक्षको लगभग दुई तिहाइ बहुमत छ भने विपक्षीको एक तिहाइ जति छ । आफ्नै घरमा झगडा छ । 

त्यसैले विपक्षी दल बाहिर सशक्त रुपमा प्रस्तुत हुन नसकेको जस्तो देखिएको छ । 

अहिले लोकतान्त्रिक गणतन्त्रलाई जसरी चलाउन खोजिएको छ ।  त्यसले जनतामा केही निराशा जस्तो देखिन्छ । बरु पहिलाकै ठीक हो भनेर भ्रम फैलाउने कामसमेत हुन थालेको छ यसलाई के भन्नु हुन्छ ? 

ठीक हो भन्ने त राजाका मान्छे हुन् । सामाजिक सञ्जाल हेर्‍यो भने त राजतन्त्र आउनै लागेको जस्तो देखिन्छ । 

तर, हालै मात्रै पनि चुनाव भएको छ । चुनावले देखायो नि ।

राजाको वकालत गर्नेले कति मत पाए त ? राजा चाहियो भन्नेले कति मत पाए ?  

भर्खरै चुनाव हुँदा १ सय मत पनि नआएको अवस्था देखियो ।

त्यसैले केही राजाका मान्छेले हिजोको व्यवस्था ठीक थियो भन्दैमा निराश हुनुपर्ने अवस्था होइन । 

तर, नेताहरुले आफ्नो व्यवहारमा भने सुधार गर्नु आवश्यक छ ।

गलत काम भइरह्यो भने जनता सधैं विकल्प विहीन भएर रमिते नबन्लान नि फेरि ?

निराश भएर यो व्यवस्थाको विकल्प के ल्याउने त ? पहिला त राजा फाल्ने कुरा थियो फालियो । 

अहिले यो व्यवस्था फालेर के ल्याउने त ? केही पनि विकल्प छैन । 

तर, यही व्यवस्थाभित्रैबाट पुराना र नराम्रा नेतालाई फालेर नयाँ र राम्रा नेता ल्याउनु पर्छ । 

भ्रष्ट र अपराधीलाई जनताले छान्नु भएन । चिया छान्दाखेरी प्वाल परेको जालीबाट छानियो भने गिलासमा चियासँगै छोक्रा पनि आउने भयो । 

त्यसैले चुनावको माध्यमबाट जनताले छोक्रालाई फाल्नुपर्‍यो ।

राम्रोसँग छान्नु पर्यो । नेताहरुलाई सच्याउनुपर्छ । राम्रालाई छान्नुपर्छ । 

मोहम्मद अफताव आलमजस्तालाई छान्नु भएन  । जनता सचेत हुनुपर्छ । 

व्यवस्था नराम्रो होइन । जनताले त्यसरी बुझ्नु जरुरी हुन्छ ।

तर, चुनाव हुँदा पनि घुमिफिरी तिनै मान्छे सत्तामा पुगिरहेका हुन्छन् । त्यसलाई कसरी लिने ?

त्यो जनता सचेत नभएर हो । चुनावमा एक कप चिया वा १ सय रुपैयाँमा बिक्नु भएन । 

राम्रा मान्छे छान्न आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्नुपर्‍यो ।

जनताले विकल्प खोज्दा यही फ्रेमभित्रबाट खोज्न सक्ने अवस्था छ । 

के चाहिएको हो त्योे यही फ्रेमभित्रबाट ल्याउन सकिन्छ । तर, जनता सचेत भने हुनैपर्छ  । 

सचेत नहुँदाकै परिणाम एउटै अनुहार पटक पटक दोहोरिएका हुन् ।  घर बनाउने ठेकेदार गलत परेर काम नक्कली गर्न सक्छ । तर, घडेरी गलत पर्‍यो भन्न मिल्दैन । 

त्यसैले जनताले व्यवस्थाको विकल्प खोज्ने भन्दा पनि ठेकेदार बदल्ने तर्फ लाग्नुपर्छ  ।   ठेकेदार त्यस्तै पर्न सक्छ ।  नक्कली सामान प्रयोग गर्न सक्छ । 

विश्वमा नै लोकतान्त्रिक गणतन्त्र भन्दा अर्को राम्रो व्यवस्था छैन । घडेरी ठीक छ । घर बनाउनेले नक्कली बनाउन सक्छ । घडेरी बेठीक होइन । 

उसो भए व्यवस्थाकै भविश्य खतरामा पर्‍यो भनेर हौसिनेहरु नहौसिँदा हुन्छ होइन त ? 

भर्खरैको चुनावमा व्यवस्था उल्ट्याउँछु भन्नेको पक्षमा शून्य दशमलब १ प्रतिशत पनि मत आएन । 

त्यसैले यो व्यवस्था उल्टिने कुनै सम्भावना छैन । 

दलभित्र आन्तरिक लोकतन्त्र कमजोर भयो भन्ने कुरा पनि उठिरहेको छ ? कुनै नीति वा कानुन ल्याउनु पर्‍यो भने संसदमा सघन  बहस र छलफल भन्दा पनि केही नेताको कोठे बैठकले तय गर्ने शैलीलाई के भन्नुहुन्छ ? 

त्यो गलत हो । संविधानले जुन काम गर्नका लागि जसलाई जिम्मेवारी दिएको छ, उसैले गर्नुपर्छ  । 

संसद देखाउने मात्रै हुनु हुँदैन । तर, संविधान र कानुनले जसलाई जे गर्ने भनेको छ त्यो त्यसले नगरी अरुले नै गरेको देखिन्छ । 

त्यसो गर्दा व्यवस्थालाई राम्रो गर्दैन । संविधानले भनेअनुसार  जसले जे गर्ने हो त्यो अर्कैले गरेको देखिन्छ । 

त्यस्तो गर्दा व्यवस्थालाई पनि राम्रो गर्दैन । तर अहिले अधिकार एउटालाई दिइएको छ तर काम अर्कैले गरिरहेको देखिन्छ  । 

यस्ता गलत कार्य कसले सच्याउने त ? 

५ वर्षलाई जनताले भोट दिएका हुन् । चित्त नबुझेमा अर्को पटक उनीहरुलाई फाल्नु पर्छ । त्यो काम जनताले गर्ने हो । 

सैद्धान्तिक रुपमा त्यसो भनिए पनि फेरि घुमाइ फिराइ रुम्जाटार भने जस्तो भएको देखिन्छ नि ? 

मैले अघि पनि भने त्यो हाम्रो  कमजोरी हो । ५ वर्ष सम्म काम गरेन भन्ने अनि त्यही मान्छे किन छान्नु ? देश र जनताको लागि राम्रो गरेन भने फाल्नुपर्‍यो । 

लोकतन्त्रको अधिकार प्रयोग गर्नुपर्‍यो । पैसा र चियामा लोभ्याएको भरमा वा गुण्डाले तर्साएको भरमा डराएर उसलाई भोट हाल्नु भएन ।

नागरिक समाजको चाहिँ कुनै भूमिका देखिँदैन । किन यस्तो ?

को नागरिक समाज भन्नुभएको ? हामी जस्तो स्वतन्त्र रुपमा काम गरिरहेका ५ जना नागरिक समाजका व्यक्तिको नाम भन्न सक्नुहुन्छ ? 

सबै दलका कार्यकर्ता छन् । सबै आफूलाई के स्वार्थमा के भन्दा फाइदा हुन्छ त्यसैमा लागेका छन् । कताबाट खान पाइन्छ त्यतै जाने हुन् । 

तर, बोलीको वजनको हिसाबले त दलका कार्यकर्ताले भन्दा तपाईंहरुको कुरा जनताले मन पराउँछन् नि किन चुप लागेर बस्नुभएको ?

हामीले बोलिरहेका छौं । म, कृष्ण पहाडी दाइ, देवेन्द्रराज पाण्डे जस्ता मान्छे पनि बोलिरहेका छौं । 

कविता भन्न बोलाएको बेलामा म गइरहेको छु । हामीले गर्ने के त ? लाखौँ कार्यकर्ता हुनेको त हालत यस्तो छ । 

हामीले जनतालाई पछि लगाएर हिंड्ने काम मात्रै गरेर त भएन ।

राजनीति त दलहरुले नै गर्ने हो । सधैं नागरिक समाजले गरिदिने अनि दलहरुले खाइरहने गरेर मात्रै त भएन ।

तपाईँहरु २०६२–२०६३ को आन्दोलनमा लाग्दा अहिलेको अवस्था बारेमा अनुमान गर्नु भएको थियो ?

अरुको त थाहा छैन तर कृष्ण पहडी दाइ र मैले चाहिँ एउटा सोच बनाएका थियौं ।

हामीले त्यतिबेला राजतन्त्र फाल्न लाग्नुपर्छ त्यो अवस्थामा कि उसले हामीलाई सिध्याउँछ कि चाहिँ हामीले सिध्याउँछौं भनेर लागेका हौं । 

हामी त्यतिबेला लागेको सत्तामा जान वा नियुक्ति खानलाई थिएन । 

हाम्रो मुल उद्देश्य त्यही थियो । अरु किन लागेका थिए त्यो थाहा भएन । 

कति पछि खान पाइन्छ भनेर लागेका पनि होलान् । हामीले ठूलो कुरा राजतन्त्र फाल्नुलाई मानेका थियौं । 

त्यसपछिका कुरा भनेको झिनामसिना ठानेका थियौं । जनताको संविधान बनेको छ । 

अब त्यही संविधानको मियोमा नै सबै बाँधिने हुन् । दाइँमा बाँधिएको गोरुले सिङ यताउता गर्न सक्छ । 

कसैले डोरी छिनाउला । तर, गोरु त्यसैका वरिपरी घुम्नुपर्छ दायाँबायाँ गर्न मिल्दैन । 

त्यो बेला कि हामी रहँदैनौं कि राजतन्त्र रहँदैन भन्ने अठोटले आन्दोलनमा लागिएको हो । 

फालेपछि के गर्ने भन्ने बारेमा हामीले सोचेनौं । 

तपाईँहरु जनअधिकार स्थापनाको लागि भनेर आन्दोलनमा लाग्नुभयो ।  तर, अहिले जनअधिकार खोस्ने गरी धमाधम केही कानुनहरु आउन लागे भनेर आलोचना भइरहेको छ । त्यसलाई कसरी लिनुभएको छ ? 

जनअधिकार कसैले खोसेर खोसिँदैन । पहिला राजाले पनि जनअधिकार खोस्न खोजेका होइनन् ? के भयो हालत ? 

जनताको विरुद्ध जनताको चित्त नबुझ्ने गरी कसैले केही गर्न सक्दैन । 

भोलि सडकछाप हुने मन छ भने र सधैंको राजनीति सक्न खोजेका हुन् भने मात्रै त्यस्तो गर्ने हो । 

बहुमत छ संसदले पास गर्‍यो भने त लागु होला नि त ? 

अहिले ल्याइएका कानुनका बारेमा मैले विस्तृत रुपमा बुझ्न पाएको छैन । 

तर, लोकतान्त्रिक व्यवस्थामा लोकतन्त्रको विरुद्धमा आउने कानुन लागु हुन सक्दैनन् । 

भोलि त्यही जनताको बीचमा जानुपर्छ । 

भोलि जनताले मत त दिँदैनन् । 

त्यसैले आफ्नो राजनीति सधैंका लागि समाप्त गर्ने काम नगर्लान् जस्तो लाग्छ । 

लोकतन्त्रका विरुद्धमा कुनै कुरा टिक्ने सम्भावना हुँदैन । 
 

प्रकाशित मिति: सोमबार, पुस २८, २०७६  ०८:५१
प्रतिक्रिया दिनुहोस्