विचार
बीपी कोइरालाका ‘राजा र मेरो घाँटी जोडिएको छ’ र ‘पञ्चहरू कांग्रेससँग नतर्स, कांग्रेसहरू पञ्चहरूसँग नझस्क’ भन्ने बहुचर्चित यी दुईवटा कथनलाई विवादमा तान्न एउटा पक्ष सधैँ लागिरह्यो । तिनको अक्षरमा प्रकट हुने अर्थलाई मात्र त्यस तत्वले महत्व दियो । तर, तिनमा व्यक्त भावना बुझ्ने हो भने ती अभिव्यक्ति आज पनि अत्यन्त सान्दर्भिक छन् । आजभन्दा करिब ४ दशक पहिले नेपाली राजनीतिलाई मार्गदर्शन गर्ने बीपीका यी भनाइको मर्म बुझ्न सके तिनले अहिले पनि निकास पहिल्याउन मद्दत गर्ने विश्वास गर्न सकिन्छ ।
बीपीको राजनीति नागरिक अधिकार, राष्ट्रियता र आर्थिक, सामाजिक समानताकै सेरोफेरोमा केन्द्रित छ । यिनीहरूभन्दा बाहिर गएर बीपीले कुनै निर्णय गरेनन्, कुनै सम्झौता गरेनन् । अर्कातिर यिनका लागि जस्तोसुकै जोखिममा पनि दृढताका साथ उभिए ।
एकपटक बीपीलाई सोधियो, ‘तपार्इँको यो लोकप्रियताको कारण के हो भन्ने लाग्छ ?’ । बीपीले संक्षिप्त जवाफ दिँदै भनेका थिए, ‘मैले राष्ट्रियताको चुरो पकडेको छु, सायद त्यसैले होला ।’ विसं २०३३ सालमा देशमा संघर्ष पनि हुन नसकेको र संवाद पनि बन्द भएको अवस्था थियो । राजनीतिक संगठन (प्रशिक्षणजस्ता कार्यक्रमका साथ जनतामा पुग्ने क्रम) पनि कमजोर भएको थियो । दक्षिण एसिया नै राजनीतिक षड्यन्त्र र हस्तक्षेपबाट अस्थिर हुन पुगेको विश्लेषण गरेर नेपालको राष्ट्रियतामा खतरामा पर्ने देखेपछि बीपी कोइराला नेपाल फर्किए । ‘राष्ट्रिय मेलमिलाप’को नीति घोषणा गरेर फर्किएका बीपीले त्यस नीतिको व्याख्याका क्रममा भनेका थिए, ‘राष्ट्रियताका सवालमा राजाको घाँटी र मेरो घाँटी एकै ठाँउमा छ ।’ यो उनको भनाइलाई कम्युनिस्टहरूले अत्यन्त विवादास्पद बनाउन खोजे । यही भनाइको आलोचना गर्दै पार्टी प्रशिक्षणहरूसमेत सञ्चालन गरे । (नकारात्मक प्रचारका भरमा नेपाली मानसिकतालाई नै निषेधात्मक बनाउने कम्युनिस्ट स्कुलका लागि बीपीको यो भनाइ एउटा अश्त्र नै हुन पुगेको थियो ।) तर, बीपीको त्यो भनाइको मर्म बुझ्ने कोसिस उनीहरूले गरेनन् । त्यस भनाइको गहनता खोज्ने प्रयास गरेनन् । र, त्यस कथनले नेपालको राष्ट्रिय एकताको ढोका खुला गरेर्को बुझ्नै सकेनन् वा चाहेनन् । यद्यपि, अहिले उनीहरू पनि बिस्तारै राष्ट्रिय एकताको ढोका खोल्न बीपीको मेलमिलापको नीति र उनको राजासँग घाँटी जोडिएको विश्लेषणमा सहमत देखिँदै गएका छन् ।
हुन पनि देश रह्यो भने न आन्तरिक प्रतिस्पर्धा गर्ने हो । घरेलु शक्तिहरूबीचको प्रतिस्पर्धा देशलाई समृद्धिको मार्गमा लैजाने कार्यक्रम कस्ले राम्रो ल्याउने भन्नेमा हुने हो । नागरिकको अधिकार कसरी सुनिश्चित र उपयोगी बनाउन सकिन्छ भन्नेमा हुने हो, राज्य प्रदत्त सेवा सुबिधामा कसरी समान पहुँच स्थापित गर्न सकिन्छ भन्नेमा हो । त्यस्तै पीछडिएका, सीमान्तकृत नागरिकको राज्य सञ्चालनमा सहभागिता सुुनिश्चित कसरी गर्ने भन्नेमा हो । यस्ता विषयमा सधैँ प्रतिस्पर्धा गर्दै राम्रो नीति वा कार्यक्रमलाई जनअनुमोदित गरी लागु गर्ने अभ्यास नै बहुदलीय लोकतान्त्रिक अभ्यास हो । यस प्रक्रियामा हुने प्रतिस्पर्धाको प्रतिक्रिया स्वरूप वा आवेगमा आएर राष्ट्रिय हितको विषयमा पनि एक ठाँउमा उभिन नसक्नु अलोकतान्त्रिक र सर्वसत्तावादी प्रवृत्ति हो । बीपीले आफूलाई धेरै अप्ठेरा परिस्थितिमा सफल लोकतान्त्रिक चरित्र भएको व्यक्तिका रूपमा स्थापित गराएका छन् । देश डुब्नै लाग्दा, नेपालको नक्सा नै नरहने अवस्था सिर्जना हुन लाग्दा उनले ‘मलाई थुनेर अपदस्थ गर्ने राजा वा राजसंस्थासँग मेलमिलाप गर्दिन’ भनेर अड्डी लिएको भए नेपाल सिक्किम हुने अवस्थामा थियो । ‘व्यक्तिगत इगो’ लाई तिलाञ्जली दिएर राष्ट्रियताका लागि र देशभित्र आफ्नो उपस्थितिसँगै जनपक्षीय राजनीतिमा आउने उत्साहका लागि बीपीले राजासँग घाटी जोडिएको अभिव्यक्ति दिएर अप्ठेरो परिस्थितिमा नेपालका घरेलु शक्तिहरू एकै ठाँउमा उभिन्छन् भन्ने स्पष्ट सन्देश बिश्व सामु दिएका हुन् ।
अहिले पनि देशभित्रका शक्तिका बीचमा बलियो एकता बन्न सकिरहेको छैन । राष्ट्रिय हितमा सबै एकै ठाँउमा उभिन सकिरहेका छैनन् । आआफ्नो स्वाथका लागि छिमेकी मुलुकहरूमा बिन्ती चढाउने अभ्यास संस्कार बन्दै छ । नेपाली एकता, नेपाली स्वाभिमान, नेपाली अखण्डता, नेपाली सद्भाव र नेपाली सहनशीलतालाई बिथोलेर अराजक अवस्था सिर्जना गरी त्यही अराजकतामा फाइदा देख्नेहरूको बाहुल्य छ । यस्तो संस्कारले राष्ट्रिय एकतालाई खण्डित गर्ने काममात्र गर्नेछ । त्यति बेला बीपीले राजासँग घाँटी जोडिएको अभिव्यक्ति दिएर त्यतिबेलाको बलियो घरेलु शक्तिसँग राष्ट्रिय एकताका सवालमा आफ्नो घाँटी जोडिएको भने झँै अहिलेका मुख्य घरेलु शक्तिबीचमा पनि न्यूनतम सहमति कायम गरी संक्रमण कालको अन्त्य गरेर आन्तरिक प्रतिस्पर्धाको परिस्थिति निर्माण गर्न सबै गंभीर हुनु आवश्यक छ । राष्ट्रिय एकताको पक्षमा एक हुने र एक गराउने दुवै भूमिका ठूला शक्तिहरूले निर्वाह गर्नसक्नु पर्छ ।
बीपीको ३४ औं स्मृति दिवस मनाइरहदाँ हामीले राष्ट्रिय एकताको पक्षमा उभिने प्रण ग¥यौँ भनेमात्र सार्थक हुने छ ।
त्यसैगरी अर्को बीपीको अभिव्यक्तिे ‘पञ्चहरू कांग्रेससँग नतर्स, कांग्रेसहरू पञ्चहरूसँग नझस्क’ भन्ने भनाइको मर्म पनि यति बेला सबैका लागि अनुकरणीय हुनपुगेको देखिन्छ । पञ्चायतसँग बीपी मिल्न लागेको भनेर प्रचार गर्नेहरूले यो अभिव्यक्तिको पनि अपव्याख्या गर्दै देशभर नै प्रशिक्षण चलाए । वास्तविक राष्ट्रवादीहरू प्रजातन्त्रवादीसँग डराउनु नपर्ने र प्रजातन्त्रवादीको पनि राष्ट्रवादीसँग कुनै वैरभाव नहुने अर्थमा बीपीले पञ्च र कांग्रेसलाई एक अर्कासँग नडराउन भनेका थिए । त्यति बेला उग्र राष्ट्रवादको खोल ओडेर विदेशपरस्त तत्व सत्तामा पुगेको थियो । बीपीले त्यस्तो वर्गलाई ‘भुइँफुट्टा’ भनेका छन् ।
अहिले देखिएको जाति वा भूगोलका नाममा नेपाली नेपालीलाई लडाउने प्रवृत्ति बन्द गरी देशमा सद्भाव र बलियो एकता निर्माण गर्न बीपीको त्यस अभिव्यक्तिको पनि भावना बुझ्ने प्रयास गर्नुपर्छ । यसो गरियो भनेमात्र बीपीको स्मरण गरेको र उनको सालिक वा तस्बिरमा माल्यार्पण गरेको अर्थ रहन्छ ।
अहिले मुलक संविधान निर्माण र संघीयताको उचित व्यवस्थापनको महत्वपूर्ण घडीमा छ । यो चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रिय एकता र सामाजिक सद्भावलाई अझ बलियो बनाउँदै गन्तव्यमा पुग्नुपर्ने हुन्छ । राष्ट्रिय एकतालाई कमजोर पारेर र सामाजिक सद्भावलाई उपेक्षा गरेर अगाडि बढ्ने हो भने उल्लिखित महत्वपूर्ण दायित्व पूरा गर्न समाकालीन राजनीतिक नेतृत्व असफल हुनेछ । बीपीको जन्म जयन्ति मनाइरहदाँ बीपीका कालजयी विचार र सन्देश ग्रहण गर्दै यो मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव र जनताको अधिकार एवं स्वाभिमानलाई केन्द्रविन्दुमा राखेर निर्णयमा पुग्न समकालीन राजनीतिक नेतृत्वलार्ई प्रेरणा प्राप्त हुने विश्वास गराँै । यो प्रेरणा ग्रहण गर्न नसक्ने नेतृत्वबाट मुलुकको कल्याण हुनेछैन, मुलुकलाई सही दिशा प्राप्त हुनेछैन र नागरिक अधिकार एवं स्वाभिमान कमजोर बनाएर देश अराजकताको बाटोतर्फ ओरालो लाग्नेछ । यसैले सबैले गम्भीरतार्पूवक मनन गरौँं । बीपीप्रति यही श्रद्धासुमन हुनेछ ।
प्रकाशित मिति: बिहीबार, साउन ६, २०७३ १२:५८
प्रतिक्रिया दिनुहोस्