site stats
बाह्रखरी :: Baahrakhari
खेल
लिभरपुलका फरवार्ड सालाहलाई पीएफए उत्कृष्ट खेलाडीको अवार्ड

काठमाडौं । लिभरपुलका इजिप्सियन फरवार्ड मोहम्मद सालाहले इंग्ल्यान्डको प्रोफेसनल फुटबलर्स एसोसिएसन (पीएफए) पुरुष खेलाडीको अवार्ड जितेका छन् । सलाह २०२४/२५ मा प्रिमियर लिगका सर्वाधिक गोलकर्ता थिए । उनले २९ गोल गर्दा १८ असिस्ट प्रदान गरेका थिए ।

योसँगै ३३ वर्षीय सलाह तीनपटक यो पुरस्कार जित्ने पहिलो खेलाडी बनेका छन् । यसअघि उनले २०१७–१८ र  २०२१–२२ को सिजनमा पनि यो अवार्ड जितेका थिए ।

सलाहले आफ्नै क्लबका एलेक्सिस म्याक एलिस्टर, म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेस, न्युक्यासलका स्ट्राइकर अलेक्जेन्डर इसाक, चेल्सीका फरवार्ड कोल पाल्मर र आर्सनलका मिडफिल्डर डेक्लन राइसलाई उछिन्दै यो अवार्ड जितेका हुन् ।

सलाहले यसअघि २०२४/२५ को प्रिमियर लिग ‘प्लेयर अफ द सिजन’को अवार्ड पनि जितेका थिए ।

यसैगरी एस्टन भिल्लाका मार्गन रोजर्स गत सिजनको उत्कृष्ट युवा खेलाडी घोषित भए । इङ्ल्यान्डका पूर्वप्रबन्धक सर ग्यारेथ साउथगेटले फुटबलमा योगदान र इंग्लिस राष्ट्रिय टोलीसँगको उपलब्धिका कारण मेरिट अवार्ड प्राप्त गरे ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  ११:२०
प्रतिक्रिया दिनुहोस्