
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिमा छिटो प्रगति गर्नेले नै प्रतिस्पर्धामा जित्ने बताएका छन् । मंगलबार काठमाडौंस्थित भृकुटीमण्डपमा नाडा अटो शो, २०२५ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले व्यवसायीमैत्री नीति लिएको बताए ।
सरकारको नीति मुलुकलाई अग्रगमनको यात्रामा अघि बढाउन सहयोग पुग्ने खालको रहेको ओलीको दाबी छ । उनले पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गरिरहेको सरकारले पूर्व–पश्चिम रेलमार्गको तयारी अघि बढाएको बताए ।
उनले अब पहाडमा सिंगल लेन सडक निर्माण नगरी गुणस्तरीय र दिगो सडक संरचना बनाउन सरकार लागिपरेको बताए ।
उद्घाटन समारोहमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीले नाडाले हालसम्म १० लाखभन्दा बढी रोजगारी सिर्जना गरेको बताए । उनले करिब तीन लाख व्यापारी यस क्षेत्रमा संलग्न रहेको र नेपालमा ९० प्रतिशतभन्दा बढी अटोमोबाइल व्यवसाय नाडाले प्रतिनिधित्व गर्दै आएको जिकिर गरे ।
चौधरीले युवा पलायन रोक्न नाडा प्राविधिक तालिममार्फत सिपयुक्त जनशक्ति उत्पादन गर्ने तयारीमा रहेको पनि बताए । उनका अनुसार, नेपालमा बिक्री हुने करिब ४० प्रतिशत गाडी नाडामार्फत बिक्री वा बुकिङ हुने गरेका छन् । आउँदो मौद्रिक नीतिले अटोमोबाइल व्यवसायलाई मैत्रीपूर्ण वातावरण दिनेमा आफूहरू विश्वस्त रहेको उनको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्ला केही वर्ष अर्थतन्त्रका लागि चुनौतीपूर्ण भए पनि निजी क्षेत्रको सुझावअनुसार ३० भन्दा बढी कानुन परिमार्जन भएपछि सकारात्मक परिणाम देखिन थालेको बताए ।
उनले अहिले बैंक तथा वित्तीय संस्थामा प्रशस्त तरलता उपलब्ध रहेको उल्लेख गर्दै लगानीका लागि उपयुक्त समय रहेको धारणा राखे । हालै सुरु भएको जलविद्युत् निर्यातले विदेशी मुद्रा भित्र्याउन ठूलो सहयोग गरेको र अर्थतन्त्रलाई सुदृढ बनाउन टेवा दिएको उनको भनाइ छ ।
ढकालले युरो–६ मापदण्ड अचानक लागु हुँदा अटोमोबाइल क्षेत्रमा समस्या आएको पनि बताए । उनले केही समयका लागि सरकारले छुट दिनुपर्नेमा जोड दिए ।
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी