
काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका–१६, चमतीबाट अटोकेटिक पेस्तोल, दुई थान म्याग्जिन र सात राउन्ड गोलीसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ घर भई हाल काठमाडौं महागरपालिका–१६, चमती डेरा गरी बस्ने २९ वर्षीय शिवराज दराई रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
उनले भने, “आज दिउँसो निज दराईको कोठा शंका लागि जाँच तथा खानतलासी गर्दा लुकाइछिपाइ राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान, सो पेस्तोलमा लाग्ने म्याग्जिन दुई थान र ७.६५ एमएमको गोली सात राउन्डसहित निजलाई टोखा नगरपालिका–९ स्थित होटेलको कोठाबाट पक्राउ गरिएको हो ।”
दराईलाई हातहतियार खरखजानासम्बन्धी मुद्दामा प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको तथा निजविरुद्ध प्रहरी वृत्त कीर्तिपुरबाट २०७८ असोज १८ गते अभद्र मुद्दा र २०८० कात्तिक १९ गते लागुऔषध मुद्दासमेत चलेको देखिएको प्रवक्ता बोहराले बताए ।