site stats
बाह्रखरी :: Baahrakhari
देश
मनोहराको सुकुम्वासी बस्तीमा २५ घरटहरा भत्काइयो, चार नगरप्रहरी घाइते

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोलीले मनोहरास्थित सुकुम्वासी बस्तीका २५ घरटहरा भत्काएको छ । नेपाल प्रहरीको सुरक्षा सहयोगमा अवैधरूपमा बनाइएका घरटहरा भत्काइएको महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

उनका अनुसार, अवैध संरचना भत्काउने क्रममा स्थानीयसँग झडप पनि भएको थियो । त्यस क्रममा केही नगरप्रहरी घाइते भएका छन् ।

“त्यस क्षेत्रमा धेरै अवैध घरटहरा छन् । आज २५ वटा घरटहरा भत्काइएको छ । यसक्रममा झडप हुँदा तीन जना पुरुष र एक जना महिला नगरप्रहरी घाइते भएका छन्,” पाण्डेले बाह्रखरीसँग भने ।

घटनास्थलमा खटिएका नगरप्रहरी एसपी दिनेश अर्यालले सुकुम्वासीहरूले हानेको ढुंगा लागेर नगरप्रहरी घाइे भएको बताए । “घरटहरा भत्काउने क्रममा उनीहरूले ढुंगामुढा गरेका थिए । घाइतेमध्ये दुई–तीन जनालाई टाउकोमा ढुंगा लागेको छ,” उनले भने ।

घाइतेहरूलाई उपचारका लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्‍याइएको छ । 

नगरप्रहरीका अनुसार, आजका लागि भत्काउने काम सकिएको छ । “अब माथिको निर्देशन के आउँछ, त्यहीअनुसार अगाडि बढ्छौँ । आजलाई काम सकियो,” पाण्डेले भने ।

यसअघि, पटकपटक सूचना जारी गर्दा पनि आफैँले घरटहरा नहटाएपछि डोजर चलाइएको महानगरले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  १५:२६
प्रतिक्रिया दिनुहोस्