site stats
बाह्रखरी :: Baahrakhari
देश
धरानमा दुई अर्बको बजेट ल्याउने तयारी, सीमा निर्धारण समितिको बैठक बस्दै

काठमाडौं । धरान उपमहानगरपालिकाको स्रोत अनुमान तथा सीमा निर्धारण समितिको बैठक आज (साउन २८) बस्दै छ ।उपमहानगरका प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज)का अनुसार, केहीबेरमा समितिको बैठक बस्न लागेको हो ।  “केही बेरमा समितिको बैठक बस्दै छ । करिब दुई अर्बको बजेट ल्याउने तयारी छ । साउनभित्रै बजेट आउँछ,” उनले बाह्रखरीसित भने । 

मेयर र उपमेयरबीच लामो समय विवाद भएपछि उपमहानगर बजेटविहीन बनेको थियो । समितिको बैठक नटुंग्याइ कार्यपालिका बैठक बोलाएपछि विवाद भएको थियो । 

मेयर हर्क साम्पाङले गत सोमबार एक विज्ञप्तिमार्फत सबै सदस्यलाई बजेट निर्माण कार्यमा गम्भीर हुन आग्रह गरेका थिए । उनले सबै सदस्य जिम्मेवार नदेखिए अवशिष्ट अधिकारको प्रयोग गर्ने चेतावनी दिएका थिए ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा १ अनुसार उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले नयाँ आर्थिक वर्षको राजस्व र व्ययको अनुमान (बजेट) कार्यपालिकाबाट स्वीकृत गरेर असार १० गतेभित्र नगरसभामा पेस गर्नुपर्छ । असार मसान्तभित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । 

यसअघि उपमेयरको संयोजकत्वको राजस्व परामर्श समितिले एक अर्ब ६० करोड १५ लाख ४८ हजार रुपैयाँबराबरको बजेट ल्याउनुपर्ने प्रस्ताव पेस गरेको थियो । 

बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्ने हुन्छ । साथै, बजेट पारित नगरी रकम खर्च गर्न पाइँदैन । 

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १६:३१
प्रतिक्रिया दिनुहोस्