site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्री र प्रधानन्यायाधीशमाथि लामिछाने पत्नी पौडेलले लगाइन् यस्तो आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेकी श्रीमती निकिता पौडेलले गृहमन्त्री रमेश लेखकमाथि गम्भीर प्रश्न उठाएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले गृहमन्त्री लेखकलाई प्रश्न गरेकी छन् । उनले लेखेकी छन्, “आम थुनुवाले पाउने अड्डासारको सुविधा, मेरै श्रीमान‍्का हकमा अदालत पुग्छ, अदालतले आदेश नै गर्दा पनि तपाईंको निर्देशनमा रोकिन्छ, किन ?”
 
उनले फेरि प्रश्न गरेकी छन्, “अदालतमा मुद्दाको पेसी चढेपछि तपाईंकै निर्देशनमा तपाईंकै मान्छेबाट न्यायिक परिषद्‌मा उजुरी पर्छ, तपाईंकै कार्यकक्षमा बन्छ उजुरीको ड्राफ्ट, कसरी ?”

गृहमन्त्री लेखक उजुरीको ड्राफ्ट आफ्नै कोठामा तयार गरेर त्यस्तो समाचारको लिंक सचिवालयलाई सम्बन्धित सबैका मोबाइल–मोबाइलमा पठाउन आदेश दिँदै न्यायाधीश तर्साउन लागेको समेत उनले आरोप लगाएकी छन् ।
 
“मुद्दाको पेसी चढेकै दिन न्यायपरिषद्मा उजुरी पुगेपछि तपाईंहरूजस्ताको मुठ्ठीमा रहेको वर्तमान संरचनामा रहेका कुन न्यायमूर्तिले आफ्नो करिअरलाई दाउमा राखेर सही फैसला गर्ने आँट गर्ला ?” उनले लेखेकी छन्, “न्यायालयलाई खुलमखुला धम्क्याउने यो आँट तपाईंलाई कहाँबाट आउँछ ? रुपनदेही कारागारमा श्रीमान् भेट्न घरबाट निस्किएपछि मेरो पछिपछि किन र केका डरले लगाउनुहुन्छ तपाईका संगठन र संरचना ?”

न्यायाधीशहरूलाई प्रधानमन्त्री, कानुनमन्त्री, गृहमन्त्रीको सिधै फोन जान्छ भन्ने गरेको आफूले सांसदहरूबाटै सुनेको उनले बताएकी छन् । 

“सम्माननीय प्रधानन्यायाधीशज्यू, अब म जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा अपिल गर्न जाउँ कि नजाउँ ? हाम्रो मुद्दाको हरेक बहसमा सरकारी पक्ष नाजवाफ हुन्छ । तर, फैसला कहिल्यै हाम्रो पक्षमा आउँदैन,” निकिताले प्रधानन्यायधीसलाई सम्बोधन गर्दै लेखेकी छन्, “इजलासले सोधेको प्रश्नको जवाफ सरकारी पक्षले कहिले दिन सक्दैन, इजलासमा उपस्थित सबले प्रस्ट देख्छन्, सुन्छन् । तर, प्रत्येक अदालतमा आदेश आउने बेलामा अनेक अस्वाभाविक गतिविधि देखिन्छन् ।” 

दिउँसै बहस सकिँदा पनि आदेश आउन रात पर्ने, घण्टौँ लाग्ने, कपिपेस्ट र मिडिया ट्रायल समेत हुने गरेको उनको भनाइ छ । 

दुई तिहाइको सरकारले विपक्षी दलको नेतामाथि भइरहेको खुलमखुला अन्यायविरुद्ध म कहाँ जाउँ भन्दै उनले प्रश्न गरेकी छन् । 

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १६:१३
प्रतिक्रिया दिनुहोस्