काठमाडौं । ग्लोबल आइएमई बैंकको नाफा बढेको छ । गत आर्थिक वर्षमा बैंकले ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष बैंकले ६ अर्ब १३ करोड ७४ लाख रुपैयाँ नाफा गरेको थियो । एक वर्षको अवधिमा बैंकको नाफा सात करोड रुपैयाँ मात्र बढेको छ ।
गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १४.११ प्रतिशत लाभांश दिनसक्ने क्षमता रहेको ग्लोबलले बुधबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । अघिल्लो वर्ष बैंकको लाभांश वितरण क्षमता १.४ प्रतिशत मात्र थियो ।
गत वर्ष बैंकको लाभांश वितरण क्षमता बढेको सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा पाँच अर्ब ३७ करोड ९३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ५० करोड ६७ लाख रुपैयाँ मात्र थियो ।
समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात ४.८७ प्रतिशत छ । यसअवधिमा बैंकले १०२ प्रतिशत व्यवस्थापन (प्रोभिजन) गरेको छ । बैंकको निक्षेप लागत घटेर ४.३० प्रतिशतमा सीमित भएको छ । गत वर्ष ६.२१ प्रतिशत थियो ।
बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७६, आधारदर ५.७६, ब्याजदर अन्तर (स्प्रेड) ३.६३ र स्वपुँजीमा प्रतिफल ९.६१ प्रतिशत रहेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
बैंकको प्रतिसेयर आम्दानी १६.२८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७७.६३ रुपैयाँ रहेको बैंकले जनाएको छ ।
समीक्षा अवधिमा बैंकले १६ अर्ब ७१ करोड रुपैयाँ खुदब्याज आम्दानी गरेको छ । यसअवधिमा बैंकको सञ्चित कोष (रिजर्भ) २४ अर्ब २१ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा बैंकको निक्षेप परिचालन बढेर पाँच खर्ब ५० अर्ब ६२ लाख रुपैयाँ पुगेको छ । कर्जा प्रवाह चार खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ छ ।