
सुर्खेत । कर्णाली प्रदेशमा नेकपा (एमाले)ले सत्तासाझेदार दल नेपाली कांग्रेसले सरकार सञ्चालनमा सहयोग नगरेको निष्कर्ष निकालेको छ । बिहीबार (साउन २२) बसेको एमाले कर्णाली प्रदेशसभा संसदीय दलको बैठकबाट यस्तो निष्कर्ष निकालिएको प्रमुख सचेतक टेकराज पछाईले जानकारी दिए ।
“दलका सबै सदस्यहरूले नेपाली कांग्रेसले सत्ता सञ्चालनमा सहयोग नगरेको निष्कर्ष निकाल्नुभएको छ,” एमाले प्रमुख सचेतक पछाईले भने, “सत्ता सहकार्यमा हुनुपर्ने संस्कृति र स्पिड नेपाली कांग्रेसमा भएन ।”
आफैँ सरकारमा सहभागी भएर असहयोग गर्नु राम्रो नभएको उनले बताए ।
सत्तासाझेदार दल भए पनि कर्णालीमा कांग्रेस र एमालेबीच विभिन्न समयमा असहमति प्रकट भएको छ । पछिल्लो समय सरकारले गरेका कामप्रति कांग्रेस असन्तुष्ट छ । कांग्रेसले सरकारको विरोधमा प्रतिक्रिया पनि दिँदै आएको छ ।
यता, प्रदेशका सामाजिक विकासमन्त्री एवं कांग्रेस नेता घनश्याम भण्डारीले मुख्यमन्त्री यामलाल कँडेलले चाहेरभन्दा पनि केन्द्रीय गठबन्धनानुसार यहाँ सरकार बनेको बताए ।
“हामीले सरकार मिलेर बनाउनुपर्छ भनेर सरकार बनेको होइन,” मन्त्री भण्डारीले भने, “केन्द्रको समीकरणअनुसार यहाँ पनि सरकार बनेको हो ।”