
काठमाडौं । महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’मा आफ्नो अत्याधुनिक विद्युतीय ओरिजिन ई–एसयूभीहरू बीई–सिक्स र एक्सईभी–नाइन–ई सार्वजनिक गरेको छ ।
सुरुआती मूल्य ५७ लाख रुपैयाँ तोकिएका यी गाडीहरू इङ्लो इलेक्ट्रिक प्लेटफर्ममा आधारित छन् । यसमा विश्वमै तीव्र गतिका निम्ति चर्चित माया नामक अटोमोटिभ कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि प्रयोग गरिएको छ ।
दुवै गाडी नेपाली बजारमा तीन/तीन भेरियन्टमा उपलब्ध हुनेछन् । बीई–सिक्स ‘प्याक वान अबभ’, ‘प्याक टु’ र ‘प्याक थ्री सेलेक्ट’ भेरियन्टमा उपलब्ध हुनेछ । एक्सईभी–नाइन–ई ‘प्याक टु’, ‘प्याक थ्री सेलेक्ट’ र ‘प्याक थ्री’मा उपलब्ध हुनेछ । नेपालमा यी गाडीहरूको बिक्री तथा सेवा सुविधा महिन्द्राको आधिकारिक वितरक अग्नि ग्रुपमार्फत हुनेछ । कम्पनीले यी सबै भेरियन्टको बुकिङ खुला गरिसकेको छ ।
महिन्द्राका अन्तर्राष्ट्रिय सञ्चालन प्रमुख सचिन अरोलकरले बीई–सिक्स र एक्सईभी–नाइन–ई सार्वजनिक गर्दै नेपाली बजारका निम्ति स्वच्छ ऊर्जामा आधारित नयाँ मोबिलिटी अनुभव सुरु भएको बताए । उनले यी गाडीहरू आधुनिक डिजाइन, बुद्धिमत्ता र उच्च प्रदर्शनको मिश्रण भएको बताए ।
अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले यी गाडीहरूको भविष्यमुखी डिजाइन र हार्टकोर डिजाइन फिलोसफीले नेपाली विद्युतीय सवारीसाधन बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरे ।
बीई–सिक्स र एक्सईभी–नाइन–ईमा खेलकुद र विलासी डिजाइन समावेश गरिएको छ । बीई–सिक्सको बनावट साहसिक यात्रामा केन्द्रित छ । एक्सईभी–नाइन–ईमा कुप शैलीको परिष्कृत लक्जरी अनुभव पाइन्छ । बीई–सिक्स साहसी र अन्वेषक ग्राहकलक्षित गरिएको छ । एक्सईभी–नाइन–ईले सन्तुलित लक्जरी र आराम दिनेछ ।
गाडीमा शक्तिशाली प्रदर्शनका निम्ति अधिकांश भेरियन्टले ९९ किलोवाट पावर प्रदान गर्छन् । यसले दैनिक यात्रादेखि लामो दूरीसम्म उपयुक्त हुन्छ । एक्सईभी–नाइन–ईको ‘प्याक थ्री’ भेरियन्टमा भने १९९ किलोवाट पावर दिइन्छ ।
बीई–सिक्स मा ‘रेस–रेडि डिजिटल ककपिट’ र एक्सईभी–नाइन–ईमा ड्यासबोर्डभर फैलिएको ट्रिपल स्क्रिन सिनेमाटिक डिस्प्ले छ । दुवै गाडीमा एआर आधारित ‘भिजन एक्स’ हेड्स अप डिस्प्ले, हार्मन कार्डनको १६ स्पिकर साउन्ड सिस्टम, ‘लिभ योर मुड’ मोडहरू, अटोमेटिक क्लाइमेट कन्ट्रोलजस्ता स्मार्ट सुविधा रहेको कम्पनीले जनाएको छ ।
सुरक्षाको दृष्टिले एक्सईभी–नाइन–ई मा एडास लेभल २ प्लस र बीई–सिक्समा एडास लेभल २ सुविधा दिइएको छ । साथै, ड्राइभरको थकान ट्रयाक गर्ने ‘आइडेन्टिटी’ ड्राइभर मोनिटरिङ सिस्टम र ३६० डिग्री ‘सेक्युर ३६०’ सुरक्षा प्रणाली समेत रहेको छ । यसले गाडी वरिपरिका दृश्य र क्याबिनभित्रको फुटेज मोबाइल एपमार्फत हेर्न सकिने बनाएको छ ।
यी गाडीहरूमा ७९ किलोवाट–आवर क्षमताको एलएफपी ब्याट्री प्याक राखिएको छ । जसले बीई–सिक्स मा ५५७ किलोमिटर र एक्सईभी–नाइन–ई मा ६५६ किलोमिटर प्रमाणित दूरी तय गर्न सक्ने कम्पनीको दाबी छ । ब्याट्री प्याकमा आठ वर्ष वा दुई लाख किलोमिटर वारेन्टी प्रदान गरिनेछ ।
माया (एआई) प्रणालीअन्तर्गत दुई लाख २० हजार डीएमआईपीएस, ५१ टप्स, ८० अर्ब ट्रान्जिस्टर र १३० मिलियन कोड लाइन प्रयोग गरिएको छ । साथै, क्वाल्कम स्न्यापड्रागन ८२९५ चिपसेट, २४ जीबी र्याम, १२८ जीबी स्टोरेज, वाइफाई ६.०, ब्लुटुथ ५.२ र क्युटेल ५जीजस्ता अत्याधुनिक प्रविधिहरूले यी गाडीहरूलाई विश्वस्तरीय बनाएको छ ।
महिन्द्राले नेपालमा बीई–सिक्स र एक्सईभी–नाइन–ई सार्वजनिक गर्दै विद्युतीय सवारी क्षेत्रमा गुणात्मक परिवर्तन ल्याएको छ । यी अत्याधुनिक, शक्तिशाली र बुद्धिमान् गाडीहरूले नेपाली बजारमा विद्युतीय सवारीको भविष्यलाई नयाँ दिशा दिने विश्वास गरिएको छ ।