
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र नेपाली कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँबीच संवाद नहुँदा मुख्यमन्त्रीको राजीनामा अन्योल भएको छ । लामाले पार्टी सभापति शेरबहादुर देउवाको रोहबरमा समझदारी गरेका थिए ।
बानिँयासँग संवाद नहुँदा लामा पक्षले आइतबार दिउँसो ३ बजेका लागि राखेको पत्रकार सम्मेलन साँझ ६ बजेका लागि सारेको छ । तर, अझै पनि बानियाँ सम्पर्कमा नआउँदा पत्रकार सम्मेलनबाट के घोषणा गर्ने भन्ने अन्योल कायम रहेको लामा पक्षका एक सांसदले बाह्रखरीलाई जानकारी दिए ।
३ बजेका लागि पत्रकार सम्मेलन राखेर सारेको लामा पक्षले त्यसपछि आन्तरिक छलफल गरेको थियो । छलफलमा बानियाँले केही प्रतिबद्धता जनाउनुपर्ने माग लामा पक्षका सांसदहरूको थियो ।
उता, बानियाँ भने बैठकमा व्यस्त रहेको स्वकीय सचिव एनपी जोशीले जानकारी दिए । उनले लामासँग भेटघाट हुन नसकेको र बैठक सकेपछि हुनसक्ने बताएका छन् ।