site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
१७ हजारका नामले माओवादीलाई अझै बदनाम गर्दै छन् : प्रचण्ड (भिडियो)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १७ हजारका नामले आफूहरूको अझै पनि बदनाम गर्ने प्रयास भइरहेको बताएका छन् । आइतबार (साउन १८) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
    
माओवादीको बदनाम गर्न अझै पनि ‘१७ हजार’ भन्ने गरिएको उनले उल्लेख गरे । आफूहरूले सहिदका सपना पूरा गर्न जुन रूपमा काम गर्नुपर्ने थियो, त्यो हुन नसकेको महसुस गरेको उनले बताए । त्यसैले हाल सहिद, बेपत्ता परिवार र आफ्नै वर्गमा फर्किएर काम थालेको उनको भनाइ थियो ।

सहिदको सम्मान गर्न आफूहरूबाट कमजोरी भएको महसुस गरिएको पनि उनले बताए । उनले प्रतिक्रियावादी षड्यन्त्रविरुद्ध सहिदका सपना सम्झँदै अघि बढ्ने जमर्को गरेको उल्लेख गरे । नेपालमा फेरि एकपटक नयाँ आन्दोलन र विद्रोहले जन्म लिने उनले बताए ।

कार्यक्रममा प्रचण्डको भनाइ पढ्नोस्–
हामीलाई अहिले पनि बदनाम गर्ने कसरत गरिरहेका छन् । १७ हजार तपाईं हामीले सुन्ने गर्दछौँ । हामीले हालै महान् सहिदलाई जुनस्तरबाट सम्मान गर्नुपर्दथ्यो, त्यसमा केही त्रुटि गर्‍यौँ । हाम्रा सहिद परिवारका दुःख, पीरमर्का जति नजिकबाट हुर्नपर्ने थियो, त्यसमा र हाम्रा वर्ग, समुदाय जसको बलमा क्रान्तिमा अघि बढेर यहाँसम्म आइपुगेका हौँ, हाम्रा विचार र राजनीतिक मुद्दामा कहीँ न कहीँ कमजोरी गर्‍यौँ भन्ने समीक्षा गरिएको छ । त्यही निष्कर्षको आधारमा अहिले हामी फेरि एकपटक हाम्रो वर्गतिर नै जोडिने, सहिाद, बेपत्ता परिवारहरूसँग नै जोडिने र विचार र मुद्दातिर नै जोडिने संकल्पसहित अघि बढिरहेका छौँ । पार्टी बैठकहरूमा फेरि पनि प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध महान् सहिदहरूका सपना सम्झिँदै अघि बढ्ने जमर्को गरेका छौँ । फेरि एकपटक नयाँ आन्दोलन र विद्रोहले जन्म लिनेछ भन्ने विश्वाससहित हामी अघि बढ्दै छौँ । न्युज एजेन्सी नेपाल

भिडियो हेर्नोस्–

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  १२:४०
प्रतिक्रिया दिनुहोस्