site stats
बाह्रखरी :: Baahrakhari
देश
कालीगण्डकीको बहाव वर्षकै उच्च, शालिग्राम शिला डुबानमा

पर्वत । लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो ।

आइतबार (साउन १८) बिहान कालीगण्डकीको जलसतह यो वर्षकै उच्च विन्दुमा पुगेको गेजरिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिए । नदीको सतहदेखि ६ मिटर ४० सेन्टिमिटरको उचाइमा बहाव भइरहेको उनले बताए । यो यस वर्षकै सबैभन्दा बढी मापन हो ।

आइतबारै बिहान कालीगण्डकीको बहाव ७.४० मिटरको विन्दुसम्म पुगेको थियो । वर्षा रोकिएकाले बहाव घट्दै जाने सम्भावना रहेको उनले बताए ।

कालीगण्डकी नदीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन् । पर्वतको जलजला गाउँपालिकाका बगरफाँट, वारिबेनी, मिलनचोक, लस्ती, खनियाँघाट, कुश्मा नगरपालिकाका मालढुंगा, नयाँपुल, मोदीवेणी, फलेवास नगरपालिकाको जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीवेणीबजार उच्च जोखिममा छ ।

पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित विश्वकै ठूलो शालिग्राम शिला समेत डुबानमा परेको छ । शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डित चिन्तित बनेका छन् ।

प्रवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायत सबै संरचना डुबाएको तिलक पराजुलीले जानकारी दिए । शिला संरक्षणका निम्ति बनाइएको तटबन्ध र ग्याबियन पानीले पुरिएपछि दर्शन गर्न जाने पूर्वाधारमा पनि पूर्ण रूपमा क्षति पुगेको उनले बताए ।

कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीवेणीबजार डुबानको खतरामा पर्ने गरेको हो । बाँधका सबै ढोका भने खोलिएका छन् । कालीगण्डकी र सेतीखोलाको बहाव बढेसँगै पर्वतमा बजार र स्याङ्जातर्फको बजार क्षेत्रका झन्डै २०० व्यापारी तथा सर्वसाधारण जोखिममा परेका छन् ।

१६ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा यहाँ तीन दर्जन घरपरिवार विस्थापित बनेका थिए । ०६६ असोज २१ गते बजार क्षेत्र डुबानमा परेको घटनाले सधैँभरि त्रास थप्ने गरेको स्थानीय व्यवसायी विष्णु न्यौपानेले बताए । हाल विश्वकै ठूलो शालिग्राम शिला डुबेको तर बजारसम्म बाढी आइनसकेको उनले जानकारी दिए । रासस
 

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  ०९:१५
प्रतिक्रिया दिनुहोस्