
काठमाडौं । नेपाली कांग्रेसका वाग्मती प्रदेशका १४ सांसदले सामूहिकरूपमा पार्टी सभापति शेरबहादुर देउवालाई भेट्ने भएका छन् ।
पार्टीको संसदीय दलको नेतालाई पार्टी सभापतिकै रोहवरमा हस्ताक्षर गराउँदा प्रदेशमा अस्थिरता निम्तिएको भन्दै उनीहरूले सभापति देउवालाई केही विषयमा ध्यानाकर्षण गराउन लागेको एक सांसदले बाह्रखरीलाई जानकारी दिए । त्यसबाहेक पार्टीले दिइरहेको ‘असंवैधानिक दबाब’का कारण आउने परिणामका विषयमा पनि ध्यानाकर्षण गराउने उनीहरूको तयारी छ ।
“इन्द्र बानियाँजीले गत चैतदेखि नै मुख्य सचिव र सचिवहरूलाई कुनै निर्णय नगर, मुख्यमन्त्री बनेर म आउँदै छु त्यसपछि गर्ने हो भनेर दबाब दिनुभयो । बजेट ल्याउन रोक्न खोज्नुभयो । बजेटमा आफ्नो पार्टीले नेतृत्व गरेको सरकारलारई बदनाम गर्नुभयो,” ती सांसदले बाह्रखरीसँग भने, “केही मापदण्ड विपरीतका र बंगलादेशमा मादण्ड नपुगेर फिर्ता भएका ईभीको मापदण्ड अस्वीकृत भएका विषयहरू उठेका छन् । उहाँ त्यसलाई स्वीकृत गर्ने सर्तसहित आउनुभएको भन्ने छ ।”
ती सांसदका अनुसार पार्टीलाई भ्रष्टाचारमा जोड्ने निर्णय रोक्न पनि सभापतिको ध्यानाकर्षण गराउन लागेको ती सांसदको भनाइ छ । त्यसबाहेक बहादुरसिंह लामा नेतृत्वको सरकारले सुरु गरेका कामको निरन्तरतासहितका सर्तहरू पनि उनीहरूले राख्न लागेका छन् । सर्त मानेको अवस्थामा लामाले राजीनामा दिने ती सांसदले बताए ।
पार्टी संसदीय दलको नेतालाई दबाबमा राखेर सभापति देउवाले एक/एक वर्षको सहमति गराएको भन्दै केन्द्रमा त्यस्तै अभ्यास गर्ने कि नगर्ने भन्दै उनीहरूले प्रश्न उठाउन तयारी गरेका छन् । देउवाले मौखिक सहमति गराउन खोज्दा आरजु राणा देउवाले अघि सरेर लिखित सहमति गराएको ती सांसदको भनाइ छ ।
“गत वर्ष साउन ८ मा वाग्मती प्रदेशमा नेपाली कांग्रेसले नेतृत्व गर्ने तय भएपछि इन्द्र बानियाँले अवरोध गर्नुभयो । गठबन्धनमा भएको सहमतिविरुद्ध उहाँ उभिनुभयो । तर, उहाँलाई सचेत गराउनुको साटो केन्द्रीय सभापतिले नै एक/एक वर्ष कार्यकाल बाँड भन्नुभयो,” एक सांसदले भने, “त्यो आफैँमा अनैतिक सर्त थियो । संसदीय दलको नेतालाई मुख्यमन्त्री बन्न नदिएर अर्को दलले नेतृत्व पाउने अवस्था बनेपछि बहादुरसिंहले हुन्छ भन्नुभयो । तर, आरजु राणा अघि सरेर लिखित सहमतिमा हस्ताक्षर गराइदिनुभयो ।”
अहिले बानियाँले त्यही सहमति देखाएर सरकारलाई असहयोग गरेको र संसदीय दलमा ‘अराजकता मच्चाएर’ नेतृत्व हत्याएको ती सांसदको दाबी छ ।