site stats
बाह्रखरी :: Baahrakhari
देश
अनशनरत दिक्तेलका मेयरलाई प्रहरीले पुर्‍यायो अस्पताल
मेयर तीर्थराज भट्टराई । सत्याग्रहमा रहेका बेलाको तस्बिर ।

काठमाडौं । अनशनरत खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलाई प्रहरीले बुधबार (साउन १४) राति करिब १० बजे वीर अस्पताल पुर्‍याएको छ । 

स्वास्थ्य जाँचका निम्ति उनलाई वीरको इमर्जेन्सीमा राखिएको वार्ता समितिका सदस्य एवं दिक्तेल रूपाकोट मझुवागढी–१२ का वडाध्यक्ष दानबहादुर राईले बताए ।

“(बेलुका) ५ बजेपछि प्रहरीले उठाउन खोजेको थियो । तर, मेयरले मान्नु भएन । त्यसपछि राति १० बजे प्रहरीले एम्बुलेन्समा वीर अस्पताल पुर्‍यायो,” उनले बाह्रखरीसित भने, “मेयरको प्रेसर कम छ । उहाँ स्वास्थ्य अवस्था बिग्रिए पनि माइतीघरमै बस्ने भनी हस्ताक्षर गरिसक्नुभयो ।”

तीनदिने सत्याग्रहपश्चात् पनि माग सम्बोधन नभएपछि मेयर भट्टराईले बुधबारदेखि आमरण अनशन थालेका थिए । सातबुँदे माग राखेर गएको आइतबारदेखि उनले काठमाडौंको माइतीघरमा सत्याग्रह थालेका थिए । 

मेयर भट्टराईले हिमाल र प्रकृति जोगाउनुपर्ने, बाँसका सामग्री प्रयोग गर्न नीति बनाउनुपर्ने, बाँदर व्यवस्थापन गर्नुपर्ने, स्थानीय उत्पादन प्रवद्र्धन गर्नुपर्नेलगायत माग गरेका छन् ।

उनीसँग सरकारले एक चरणको वार्ता पनि गरेको थियो । वार्ता सकारात्मक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  ०९:२६
प्रतिक्रिया दिनुहोस्