site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कल्याणकारी कोषले सामाजिक काममा थप योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सैनिक कल्याणकारी कोषले कल्याणकारी कार्यक्रममार्फत सामाजिक कार्य र विकासको साझा गन्तव्यमा थप योगदान दिने विश्वास व्यक्त गरेका छन् । 

सैनिक कल्याणकारी कोष स्थापनाको स्वर्ण जयन्तीको अवसरमा शुक्रबार जंगीअड्डामा आयोजित विशेष कार्यक्रममा कोषका संरक्षक प्रधानमन्त्री ओलीले नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकलदर्जा र आश्रित परिवारको हितका लागि सैनिक कल्याणकारी निर्देशनालयले कल्याणकारी कोष मार्फत सञ्चालन गरेका विविध कल्याणकारी कार्यको प्रशंसा गरे ।

संयुक्त राष्ट्रसंघको मिसनबाट आर्जित रकमबाट आफ्नै कोष खडा गरी स्थापना भएको सैनिक कल्याणकारी कोषले शिक्षा, स्वास्थ्य, परिवार आवासलगायत सामाजिक सुरक्षासँग सम्बन्धित विविध क्षेत्रमा योगदान दिई राज्यको दायित्व समेत कम गर्न महत्त्वपूर्ण भूमिका खेलेको प्रधानमन्त्री ओलीले बताए ।

“नेपाली सेनाका अवकाश प्राप्त सकलदर्जालाई क्षमता अभिवृद्धि तथा स्वावलम्बनका कार्यक्रम मार्फत सेवा निवृत्त भएपश्चात् समेत ससम्मान जीवन व्यतित गर्न यस कोषले विशेष योगदान दिँदै आएको छ,’’ प्रधानमन्त्री ओलीले भने, “नेपाल अहिले विकास र समृद्धिको यात्रामा अघि बढिरहेको छ । हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्यमा सक्रिय छौँ । सरकारको विकास र उत्पादनमूलक काम यसले लगानी गर्न सक्नेछ । यस अवस्थामा कोषको दिगोपनाका लागि मेरो तर्फबाट थप पहल हुनेछ ,’’

उनले कोषद्वारा सञ्चालित शिक्षण संस्थाहरूको नतिजालाई अध्ययन गर्दा समेत गुणस्तरीय शिक्षा प्रदान गर्नमा अब्बल रहेकोमा खुसी व्यक्त गरे । नेपाली सेनाले कल्याणकारी कार्यक्रमहरूको समयानुकूल पुनरवलोकन, पहुँच विस्तार र गुणस्तर अभिवृद्धिलाई प्राथमिकतामा राखी अझ सहज रूपमा सेवा तथा सुविधा उपलब्ध गराउँदै लैजाने विश्वास पनि व्यक्त गरे ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  २१:०१
प्रतिक्रिया दिनुहोस्