
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू छिट्टै सम्पन्न गर्ने सरकारले लक्ष्य रहेको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले शान्ति सम्झौताका क्रममा भएका समझदारी, सहमति र सम्झौताको एकीकृत अभिलेख तयार गर्ने काम भइरहेको उल्लेख गरे । जनआन्दोलन र जनयुद्ध, मधेस आन्दोलन लगायतका विभिन्न राजनीतिक परिवर्तन, आन्दोलनमा घाइते एवं अपांगताको सूची अद्यावधिक गर्न, समस्याको दिगो समाधान गर्न उच्चस्तरीय समिति गठन गर्ने बताए ।
सशस्त्र द्वन्द्व र जनआन्दोलनका घाइते र अपांगता भएकालाई जीवन निर्वाहका लागि भत्ता वितरण तथा द्वन्द्व पीडितलाई क्षतिपूर्ति, उपचारमा आवश्यक उपकरण, शिक्षा, रोजगारी, स्वरोजगारको अवसर र आर्थिक सहायता उपलब्ध गराइ पुनःस्थापना र परिपूरण लगायतको कार्य गर्न शान्ति कोषको व्यवस्था गरिएको उनको भनाइ छ ।
"शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका बाँकी काम शीघ्र सम्पन्न गरिनेछ । यसको विधेयक पनि सर्वसम्मतिले पारित भइसकेको छ । शान्ति सम्झौताका क्रममा भएका सहमति, समझदारी सम्झौता एकीकृत अभिलेख तयार गरिने गर्ने काम भइरहेको छ," उनले भने । न्युज एजेन्सी नेपाल