site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकामा गोली प्रहार, प्रहरीसहित पाँचजनाको मृत्यु

काठमाडौं । अमेरिकाको न्युयोर्कमा सोमबार मिडटाउन म्यानहट्टनको एउटा कार्यालय भवनमा गोली प्रहारबाट एक प्रहरी अधिकारीसहित कम्तीमा पाँचजनाको मृत्यु भएको छ । ती प्रहरी डिउटी समयमा थिएनन् ।

आक्रमणकारी शेन तामुरा नेभाडा राज्यका बासिन्दा थिए । उनले घटनापछि आफूलाई पनि गोली हानेर आत्महत्या गरेका जनाइएको छ ।

उनको साथबाट लस भेगासको बन्दुक लाइसेन्स फेला परेको छ । घटना साँझ ६ः३० बजेको आसपास पार्क एभिन्युस्थित एक ‘हाई–प्रोफाइल’ कार्यालय भवनमा भएको थियो । त्यहाँ धेरै प्रमुख वित्तीय कम्पनी र नेसनल फुटबल लिग (एनएफएल)का कार्यालय छन् ।

प्रत्यक्षदर्शीले पहिलो तलामा एकपछि अर्को धेरै गोलीको आवाज सुनेको बताएका छन् । त्यहाँ उपस्थित मानिस ‘कन्फरेन्स रुम’मा गएर लुकेका र ढोका फर्निचरले बन्द गरेका थिए ।

न्युयोर्कका मेयर एरिक एडम्सले घटनामा केही व्यक्ति घाइते भएका बताए । उनले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै भवनभित्र रहेका मानिसलाई त्यहीँ बस्न आग्रह गरेका छन् । प्रहरीले हरेक तलातलामा खोजी अभियान चलाएको छ ।

स्थानीय टीभी फुटेजमा मानिस हात उठाएर भवनबाट बाहिर निस्कँदै गरेका देखाइएको छ । उक्त भवनमा ब्ल्याकस्टोन कम्पनी र आयरल्यान्डको दूतावास पनि रहेको जनाइएको छ ।

नजिकैको अर्को भवनका कर्मचारी खाना खान बाहिर निस्कँदा गोलीको आवाज सुनेका थिए । र, फेरि कार्यालयभित्र फर्किएका थिए । त्यसपछि उनीहरू करिब दुई घण्टासम्म त्यहीँ बन्द रहेका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  ११:१४
प्रतिक्रिया दिनुहोस्