काठमाडौं । चीन सरकारले आफ्ना नागरिकहरूलाई हरेक वर्ष तीन वर्षमुनिका बालबालिकाका अभिभावकलाई ५०० डलरको अनुदान प्रदान गर्ने भएको छ । जनसंख्या वृद्धिदर घट्दै गएपछि चीन सरकारले सो कार्यक्रम घोषणा गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ ।
जनसंख्या वृद्धिदर घटेर नकारात्मक हुँदै गएपछि विश्वको दोस्रो सर्वाधिक जनसंख्या भएको देश चीनले यो कार्यक्रम ल्याएको बताइएको छ ।
चीनको जनसंख्या लगातार तीन वर्षदेखि घटिरहेको भन्दै संयुक्त राष्ट्रसंघको जनसांख्यिक मोडलले हालको एक अर्ब ४० करोडबाट सन् २१०० सम्ममा ८० करोडमा झर्न सक्ने अनुमान गरेको छ ।
योसम्बन्धी राष्ट्रव्यापी अनुदानहरू जनवरी १ देखि लागु हुने चीनको सरकारी प्रसारक सीसीटीभीले सत्तारूढ कम्युनिस्ट पार्टी र राज्य परिषद्, चीनको मन्त्रिपरिषद्को निर्णयलाई उद्धृत गर्दै जनाएको छ ।
“यो जनकल्याण सुधार गर्न लक्षित एक प्रमुख राष्ट्रव्यापी नीति हो,” सीसीटीभीले भन्यो, “यसले देशभरका परिवारहरूलाई प्रत्यक्ष नगद अनुदान प्रदान गर्छ, जसले बालबच्चा हुर्काउने बोझ कम गर्न मद्दत गर्छ ।”
गत वर्ष चीनमा जम्मा ९५ लाख मानिसको जन्म भएको थियो । जुन सन् २०१६ मा एक सन्तान नीति समाप्त भएको वर्षको तुलनामा आधा थियो ।
यो नीति तीन दशकभन्दा बढी समयसम्म लागु भएको थियो । गत वर्ष जनसंख्या १३ लाख ९० लाख घट्यो । सन् २०२३ मा चीन विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशबाट दोस्रोमा झरेको थियो । अहिले भारत विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश बनेको छ ।
चीनमा विवाहदरको रेकर्ड पनि न्यूनस्तरमा छ । धेरै युवा जोडीहरू उच्च खर्चिलो बाल हेरचाह, लागत र पेसा लगायतका चिन्ताका कारण सन्तान जन्माउन हिचकिचाउने गरेको बताइन्छ ।
चीनका अभिभावकहरूले नयाँ अनुदानको स्वागत गरेका छन् । तर, थप बच्चा जन्माउने विचार गर्न थप नीतिगत अनुदानहरू आवश्यक रहेको बताएका छन् ।
“भर्खर विवाह गरेका र पहिले नै एक सन्तान भएका युवा जोडीहरूका लागि यो अनुदानको कार्यक्रमले दोस्रो बच्चा जन्माउने विचारलाई प्रोत्साहन गर्न सक्छ,” नौ वर्षीय छोराकी आमा वाङ शुएले एएफपीलाई बताइन् ।
“अन्ततः अनुदानले उनीहरूको बोझ कम गर्न मद्दत गर्छ र केही मनोवैज्ञानिक सान्त्वना पनि प्रदान गर्छ,” वाङले भनिन् । तर, उनले नयाँ कार्यक्रमहरूले उनलाई दोस्रो बच्चा जन्माउन मनाउन पर्याप्त नहुने बताइन् ।
“एउटा बच्चा सम्हाल्न सकिन्छ, तर दुई बच्चा भए, मलाई (आर्थिक) दबाब महसुस हुन सक्छ,” ३६ वर्षीया उनले एएफपीलाई बताइन् ।
३४ वर्षीय एक छोरी र छोराका बाबु झाङ वेईले बच्चा हुर्काउन खर्च बढ्दै गएका बेला नयाँ अनुदान राम्रो सुरुआत भएको बताए ।