
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध आफ्नै पार्टीकै सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएको भन्दै नेकपा (एमाले)ले चाँडो निष्कर्षमा पुग्न आग्रह गरेको छ ।
मुख्यमन्त्री लामा वाग्मती प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता हुन् । उनीविरुद्ध कांग्रेसकै सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । प्रस्तावमा २१ प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् ।
अविश्वास प्रस्तावको नेतृत्वकर्ता कांग्रेस सांसद इन्द्र बानियाँ हुन् । मुख्यमन्त्री लामाले अविश्वास प्रस्तावको सामना गर्ने बताइसकेका छन् ।
यता, वागमती प्रदेशसभामा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले कांग्रेसका सांसदहरूबाट आफ्नै पार्टीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको र यसबारे छिटो निष्कर्षमा पुग्नुपर्ने बताए । उनले यो कांग्रेसभित्रको नितान्त आन्तरिक मामिला भएकाले एमालेले कुनै सल्लाह नदिने र हस्तक्षेप नगर्ने स्पष्ट पारे ।
“अन्य पार्टीको आन्तरिक मामिलामा चासो राखिराख्न हामीलाई आवश्यक छैन । नितान्त उहाँहरूको विषय हो,” उनले भने, “जे गर्ने हो छिटो टुंग्याउनुस् भन्ने हो । त्यो नहुनुपर्दथ्यो ।”
प्रदेश सरकारलाई अस्थिर बनाउन नहुने एमालेको सुझाव रहेको उनले बताए । “सरकारलाई अस्थिरतामा राख्नु हुँदैन, विकासका काममा यसले अवरोध गर्दछ । प्रदेश सरकार अस्थिर भयो, विकासका कामहरू नहुने भए भन्ने प्रश्न छ,” उनले भने, “यस्तो कुरा आउनु ठिक होइन । चाँडोभन्दा चाँडो समस्या समाधान हुनुपर्छ ।”
मुख्यमन्त्री लामा नेतृत्वको सरकारले आव २०८२/८३ का निम्ति ल्याएको बजेटमा कांग्रेसभित्र चर्को विवाद भएको थियो । बजेट विवाद उत्कर्षमा पुग्दा कांग्रेस सांसदहरू सरकारको नेतृत्व परिवर्तन गर्ने पक्षमा पुगेका हुन् । न्युज एजेन्सी नेपाल