
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूलाई पछिल्लो समय जबरजस्त देखाइएको हावाको झोक्काको पछि नलागी पार्टी निर्माणमा एकताबद्ध हुन निर्देशन दिएका छन् । शनिबार (साउन १०) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा तीन घण्टा लामो छलफलमा उनले कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्यलाई यस्तो निर्देशन दिएका हुन् ।
हालै सम्पन्न एमालेको नवौँ केन्द्रीय किमिटी बैठकमा कर्णालीले एकताबद्ध भएको सन्देश प्रवाह गरेको भन्दै उनले धन्यवाद दिए । संघर्षपूर्ण इतिहासमा ठूलठूला तुफानको सामना गरेर आएको एमालेका निम्ति पछिल्लोपटक देखाउन खोजिएको सानो हावाको झोक्काले केही असर नगर्ने उनले बताए ।
“सिंगो एमाले पार्टी र हामी पार्टीका नेताहरू संघर्षपूर्ण इतिहासमा ठूलाठूला आँधीबेहरी र तुफानको सामना गरेर अहिलेको अवस्थासम्म आइपुगेका हौँ,” बैठकमा ओलीले भने, “अहिले बाहिर देखिएको यो त सानो हावाको झोक्का हो । सामान्य रूपमा समाधान हुन्छ । तपाईंहरू यसमा अलमलिनुभन्दा आ–आफ्नो जिम्मेवारीमा रहेको भूगोल र क्षेत्रको पार्टी निर्माणमा एकताबद्ध भएर लाग्नुहोस् ।”
राष्ट्रिय राजनीतिमा एमालेले पछिल्लो समय लिएको नीति र सरकारले गरेका लोकप्रिय काम देखेर अत्तालिएका शक्तिका कारण पार्टीभित्र अस्थिरताको हावा चलाएको उनले टिप्पणी गरे । त्यसको लहडमा सम्मानित व्यक्तित्व लाग्नु सिंगो एमालेका निम्ति दुःखद भएको उनले बताएका बैठकमा सहभागी एमाले स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले जानकारी दिए ।
“पार्टीको महत्त्वपूर्ण जिम्मेवारीदेखि सिंगो देशकै अविभावकका रूपमा एमालेले स्थापित गरेकी महामहिम पूर्वराष्ट्रपतिज्यूले पछिल्लो समय जुन निर्णय लिनुभएको छ, त्यो हामीले कल्पना पनि गरेका थिएनौँ,” उनले थपे, “लामो समय जारी राजनीतिक संघर्षको उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिमाका रूपमा रहनुपर्ने व्यक्तिले एउटा सदस्यताका विषयमा गरेको बखेडाले स्वयम् उहाँकै कद घटाउने काम गरेको छ ।”
देशकै अभिभावक बन्नुपर्ने व्यक्तिले पार्टी सदस्यता नवीकरणसँग एमाले अध्यक्ष पदमा आँखा गाडेका कारण केन्द्रीय कमिटीमार्फत पछिल्लो निर्णयमा पुग्नुपरेको अध्यक्ष ओलीले बताए । कर्णालीका दशै जिल्ला र सबै स्थानीय तहमा पार्टीलाई पहिलो शक्तिका रूपमा स्थापित गर्न एकसूत्रीय अर्जुनदृष्टिका साथ लाग्न उनले निर्देशन दिए ।
उनले पछिल्लो समय एमाले र पार्टी नेतृत्व चौतर्फी घेराबन्दीमा परेको उल्लेख गरे । एमालेको अबको ध्यान ०८४ मा जनादेश प्राप्त पहिलो शक्ति कसरी बन्ने भन्नेमै हुनुपर्नेमा उनले जोड दिए ।
बैठकमा एमाले कर्णालीका नेताहरूले ओलीसमक्ष प्रदेशको संगठन र समृद्ध कर्णाली निर्माणमा सरकारले तय गर्नुपर्ने प्राथमिकताका विविध विषयवस्तु राखेका इन्चार्ज बोगटीले जानकारी दिए ।